इन्दु थारु।
२०७२ भदौ ७ गते हुन गएको दुर्घटनालाई नियन्त्रण गर्नका लागि राज्यले टीकापुरमा कफ्र्यु आदेश जारी गरेको थियो । काफ््र्युकाबीच भदौ ८ गते टीकापुरका थारुहरुका घर, व्यवसाय छानीछानी आगजनी गरी नष्ट गरेका थिए विरोधीहरुले । उक्त घटनाले टीकापुरका थारुहरु त पीडित भए नै, त्यसको पीडा आम थारुले महसुस गरेका थिए । उनीहरुका लागि रोएका थिए । आज टीकापुरले फेरि थारुहरुलाई निरास बनाएको छ । थारुहरुकै निर्णायक भोट रहेको टीकापुरमा थारुहरुले आफ्नो मालिक छान्न जानेनन् भन्ने कुराले थारुहरुमा निरासासँगै आक्रोश पनि थपेको छ ।
थारु र दारु पर्यायवाची जस्तो बनेको यो शब्दलाई थारुहरुले फेरि पनि गलत साबित गर्न सकेनन् । उहिलेका चुनावमा नेपाली कांग्रेसले रुखमा भोट दिनु, रुख भएन भने छाया कहाँबाट पाउने भनि भोट माग्थे । नेकपा एमालेले सूर्यमा भोट दिनु, सूर्य नभएको भए उज्यालो कहाँबाट पाउने भन्थे । राप्रपाले हलोका लागि भोट माग्थे र हलो नभए केले खेत जोत्ने र के खाने भन्थे ।
अहिले समय फेरिएको छ । अहिले पार्टी तथा उम्मेदवारहरु आफ्ना एजेण्डासहित भोट माग्छन् । उबेलामा थारुहरुको भोट चाहिए थारु गाउँमा सुंगुर ढाल्नपथ्र्यो रे, जसले गाउलेलाई सुंगुर खुवाउथ्यो, भोट उसैलाई जान्थ्यो अरे । भर्खरै सम्पन्न स्थानीय चुनावमा थारु गाउँहरुमा सुंगुर नै ढालेको त सुन्नमा आएन तर थारुहरुले दारुसँग आफ्नो भोट बेचे भन्ने हल्लाचाहिँ गजबले नै सुनियो । भोट माग्ने र भोट दिने ट्रेन्डमा फराकिलो भिन्नता आए पनि के थारुहरु अझै पनि दारुसँगै आफ्नो भोट साटिरहेकै छन् त ?
थारुहरुको बाहुलयता रहेको टीकापुरमा थारुहरु ४० प्रतिशत छन् । सधैंभरि गैरथारुले चुनाव जित्दै आएको टीकापुरबाट पहिलो संविधान सभाको चुनावमा टीकापुर क्षेत्रबाट नेकपा माओवादीका तर्फबाट रुपा थारु जितेकी थिइन् । दोस्रो संविधान सभाको चुनावमा त्यहाँबाट तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट जनकराज चौधरीले जितेका थिए । थारुमाथि गैरथारुले राज गर्दै आएको क्षेत्रमा त्यहाँका थारुहरुले आफ्नै थारु प्रतिनिधिलाई दुई पटक चुने । तर दुई पटकसम्म थारुहरुले जितेको टीकापुरमा यसपटक किन जित्न सकेनन् ? यो निकै गम्भिर कुरा हो । अन्य कुनै क्षेत्रमा थारुहरु जित्नु वा हार्नुले भन्दा पनि टीकापुरमा जित्नु र हार्नुले बेग्लै महत्व राख्छ । किनभने टीकापुरले थारुहरुको छुट्टै इतिहास बोकेको छ । टीकापुरका थारुहरुको भोगाई बेग्लै छ । पीडा बेग्लै छ । टीकापुरका थारुहरुले जेजति पनि भोगे, अन्य क्षेत्रका थारुका लागि त्यो अकल्पनीय छ ।
गैरथारु भन्दा व्यापारमा निकै अगाडि बढेका एक ठूला व्यापारी निरु टे«डर्सको क्षेत्र हो टीकापुर, त्यसैगरी अर्का ठूला व्यापारी मिना फर्निचर्सको क्षेत्र हो टीकापुर, हरेक हिसाबले होनहार रेशम चौधरीको क्षेत्र हो टीकापुर । त्यो टीकापुर जहाँ थारुमाथि भएका विभेद र अत्याचारविरुद्ध आवाज उठाउँदा विष्फोट हुन पुगेको थियो । आफ्नो छुट्टै थरुहट स्वायत्त प्रदेशका लागि आवाज उठाउँदा टीकापुर विष्फोट हुन पुगेको थियो । आफ्नो खोसिएको भूमि फिर्ता लिएर आफ्नो मालिक आफैँ बन्न चाहेका थिए थारुहरु । आज त्यही टीकापुरमा थारुहरुका घर जलाउनेहरुको प्रतिनिधिलाई जिताएर के थारुहरुले दासत्व स्वीकार गरेकै हो ?
यसो भनिरहँदा यहा केवल थारु जनतामात्रै दोषी छैनन् । थारु जनताले मात्रै पनि दासत्व स्वीकारका छैनन् । सबैभन्दा ठूला दोषी कोही छन् भने ती हुन् थारु नेताहरु, जो आफूलाई थारुका राजा सम्झिन्छन् । ती थारुका राजाहरु जो सोझा थारुहरुलाई आन्दोलनमा होमिनका लागि हौस्याउँछन् । र, आफ्ना माग मुद्दा सबै बिर्सिएर सोझा थारुलाई सत्तामा जाने सिँढीमात्रै बनाउँछन् । ती थारुका राजालाई भने बलियो झापड हानेकै हुन् थारु जनताले यो चुनावमा । तैपनि आफ्नो मुख्य शत्रुलाई पहिचान गर्न नसक्नु थारुहरुको ठूलो भुल हो ।
थारुहरुको लामो संघर्ष चल्यो पहिचान र अधिकारका लागि, उक्त संघर्षमा थारुहरु खरो उत्रिएकै हो । तर त्यो संघर्षको भाव, भाषा, उद्देश्य थारुहरुले बुझ्न सकेनन् या भनौं थारु नेताहरुले बुझाउन सकेनन् । अचम्म त के छ भने, अहिलेसम्मको आन्दोलन र संघर्षले थारुहरुको आँखा खोल्न सकेन । आफ्नै आँखा अगाडि थारुका घर जलेको देख्दा पनि अन्धो भइदिए । बरु प्राकृतिक अन्धो व्यक्तिले महसुस गर्न सक्ला तर थारुहरुले देखेर पनि नदेखेझै गरे ।
थारुहरुले जितेका ठाउँहरु पनि हेर्न बाँकी छ भोलिका दिनमा । विजेता थारुहरुले साँच्चै आफ्नो जाति र समुदायका लागि पनि केही गर्नेछन् या फेरि पार्टीका नीति निर्देशनको पालना गर्दै थारुको आन्दोलनलाई वाहियात देख्नेछन् । आफ्नो क्षेत्रमा पुल, बाटो, खानेपानी, स्मार्ट भिलेज र स्मार्ट सिटी बनाउने लगायतका विकासका एजेण्डा त छँदै छन् । चुनाव नहुँदा पनि त विकास कहाँ रोकिएको थियो र । विकास निरन्तर चलिरहने प्रक्रिया हो चाँहे त्यो नेपाल सरकारका कर्मचारीको मातहतमा होस् या जनताद्धारा निर्वाचित प्रतिनिधीहरुको । थारुहरुले कुन ठाउँमा कति जिते भन्दै जुन गर्वका साथ आज भनिँदैछ, भोलि त्यो बेकार नजाओस् ।
नरुलाल, भागिराम, अञ्चला, शिवकुमारीहरुले विकासलाई मात्रै प्राथमिकता नदिई केपी ओलीलाई प्रश्न गर्न सकुन्, किन एमाले थारु विरोधी पार्टीका नामले चिनिन्छ, किन संविधान संशोधन गर्न र सीमांकन गर्न एमाले मान्दैन, थारु मधेसीी लगायतका उपेक्षितहरुलाई किन अधिकार सम्पन्न बनाउन मान्दैन ?
जनयुद्ध लडेर आएका लाजुराम, शेरबहादुर, लक्ष्मी, शिवप्रसादहरुले प्रचण्डलाई प्रश्न गर्न सकुन्, थारुवानका लागि रगत बगाएका थारुहरुको सपना कहाँ हरायो ? थारुहरुलाई दिने भनिएको थारुहरुकै भूमि आजसम्म किन पाउन सकेनन् ?
यी जननिर्वाचित थारुहरुले केवल आफ्नो पार्टीको मात्रै गुनगान गाउने हुन् या साँच्चै थारुका माग पनि स्थापित गराउन कुनै भुमिका खेल्ने हुन् । त्यस्तो हुन सकेन भने थारुहरु जितेर पनि सही मानेमा भने हार्नेछन् ।
नामका पछाडि थारु झुन्ड्याइएकाहरु चुनाव जित्दैमा थारुहरुको कहाँ जित हुन्छ र । अनि टीकापुर हार्दैमा थारु कहाँ हारेको छ र । केही थारु जित्दैमा थारुको मुद्दा जित्ने होइन न हार्दैमा थारुका मुद्दा हार्ने हो । न्याय, समानता र मुक्तिका लागि उठाइने मुद्दाहरु कहिल्यै पनि हार्न सक्दैनन् ।