विश्व सिकलसेल दिवस : कैलालीबाट २ सय ८७ जनाले लिए सिकलसेलको सिफारिस

उन्नति चौधरी/धनगढी।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले २ सय ८७ जना बिरामीलाई सिकलसेल प्रभावितको सिफारिस दिएको बताइएको छ। विश्व सिकलसेल दिवसको अवसरमा सोमबार धनगढीमा सिकलसेल नेपालले आयोजना गरेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरक्षक कैलाश चौधरीले सो तथ्यांक सार्वजनिक गरेका हुन्।
उनले कैलाली जिल्लामा सिकलसेल प्रभावित बिरामीहरु दिनप्रति दिन बढ्दै आएको जानकारी दिँदै २०७१/०७२ मा ७५ जनाले मात्र सिफारिस लिएको बताए। उनका अनुसार ०७२/०७३ मा १ सय २० जना र ०७३/०७४ मा ९२ जना गरी हालसम्म २ सय ८७ जनाले सिफारिस लिई अनुदान पाएको बताए।

सिकलसेल प्रभावित बिरामीहरुको रोग पहिचानमा ढिलाई भएको कारण थुप्रै विरामी आकालकमै मृत्यूवरण गरेको बताउँदै सरकारले दिने अनुदानको प्रक्रिया एकदमै झन्झटिलो रहेको निरक्षक चौधरीले बताए।

उनले प्रक्रिया झन्झटिलो भएको कारण धेरै बिरामी अलपत्र पर्ने बताए। बिरामीहरुलाई सरल र सहजरुपमै उपचारको लागि सरकारले सहज प्रक्रिया बनाउनु पर्ने माग राखे।

त्यसैगरी सेति अञ्चल अस्पतालका सिकलसेल स्रोत व्यक्ति यशोदा ढकालले सेति अञ्चल अस्पतालमा नेपाल सरकारबाट अनुदान पाएका ४ सय प्रभावितको उपचार भइरहेको बताइन्। अस्पतालमा सिकलसेल बाहक देखिएका ७ जनाको काउन्सिलिङ भइरहेको ढकालले तथ्यांक प्रस्तुत गरिन्।

उनले सेति अञ्चल अस्पतालमा कैलाली र कञ्चनपुरको प्रभावित बिरामीहरुको उपचार भइरहेको जानकारी दिइन्।
कार्यक्रममा संस्थाका उपाध्क्ष प्रिंकन बहादुर चन्दले सिकलसेल रोगलाई निराकरण गर्न जन्मको २४ घण्टाभित्र बच्चालाई दिने खोपभित्र सिकलसेलको खोप पनि दिनुपर्ने बताए।

उनले सिकलसेल रोगलाई अहिलेसम्म थारु जातिलाई मात्र लाग्ने रोग भनेर जातीय रोगको दृष्टिले हेर्ने गरेको बताउँदै यसलाई निराकरण गर्न सबैले पहल गर्नुपर्ने बताए।

उनले सिकलसेल रोग जातिय रोग नभए जोसुकैलाई पनि लाग्नसक्ने बताउँदै हालःसम्मको अनुसन्धानमा ९.६ प्रतिशत थारु जाति र ३ प्रतिशत अन्य जाति (न्यौपाने, बराल, लामा)लाई सिकलसेल देखिएको बताए।

कार्यक्रममा कैलाली, कञ्चनपुर, बाँके बर्दिया र दाङबाट सिकलसेल प्रभावितहरुको सहभागिता रहेको थियो। कार्यक्रममा थारुसँग आबद्ध विभिन्न संघसंस्था, पत्रकार, नागरिक समाजलगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published.