सुनवलमा बम विष्फोट हुँदा मीना चौधरी र हेमनारायण चौधरी घाइते

नवलपरासीको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्‍यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा चालकसहित ७ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेलाई लुम्बिनी अञ्चल अस्पताल लगिएको प्रहरीले बताएको छ ।

बसका चालक बर्दघाट चिसापानीका नरबहादुर बिकको पिठ्युँमा छर्ररा लागेको छ । यस्तै १४ वर्षका श्रीकान्त केबटको दायाँ छातीमा छर्ररा लागेको छ । घाइते हुनेमा सुनवल-१२ का मीना चौधरी, हेमनारायण चौधरी, फूलकुमार कडरिया र बेलाकुमारी कडरिया छन्।

चुनाव प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडीमा चुनावी र्‍याली गरेको थियो । महेन्द्रराजमार्गको भुमहिबाट सुनवल तर्फ कार्यकर्ता र मतदाता बोकेर हिँडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा अज्ञात समूहले पुल छेउको ढुंगामा लुकाएर राखेको बम बिस्फोट भएको हो ।

पुलको छेउमा राखिएको बम बिस्फोट भएर लु १ ख ६७७३ नम्बरको बसमा लाग्दा यात्रु घाइते भएको प्रहरीले जनायो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.