तीन पार्टीको एकीकरणपछि गच्छदार पार्टीको नाम फेरियो, अब पाँचौं ठूलो दल

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । बुधबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गरेका हुन्।

घोषणापछि पार्टीको नयाँ नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले जानकारी गराए।

कार्यक्रममा लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले पार्टीको उचाइ बढेको भन्दै आगामी दिनमा आदिवासी, दलित, पिछडिएका पक्षको हितमा पार्टी लाग्ने बताए ।

जनमुक्तिका अध्यक्ष थापा र जनजातिका अध्यक्ष लामाले हिमाल, पहाड, तराई र मधेसलाई एक बनाउनका लागि आफू एक भएको बताए । उनीहरुले पार्टी फुटेर देशमा सङ्क्रमणकाल बढेको भन्दै आफूहरुबीच मुद्दा एक भएकाले फुटेर होइन जुटेर काम गर्नका लागि एकता गरेको जानकारी गराए ।

पार्टी एकीकरणपछि व्यवस्थापिका–संसद्मा १७ सदस्य भइ फोरम पाँचौं ठूलो दल बनेको छ । नयाँ नाम दिइएको फोरममा शिवलाल थापा, सीमाकुमारी विक र यशोदाकुमारी लामासमेत सांसद थपिएकाले एकतापछि पार्टीको अध्यक्षमा गच्छदार र सहअध्यक्षमा क्रमशः थापा र लामा रहेको उपाध्यक्ष चौधरीले जानकारी गराए।

उनीहरुका अनुसार तीनै पार्टीमा अहिले रहेको नेताहरुको जिम्मेवारी नयाँ महाधिवेशन नभएसम्मका लागि यथावत् राखिएको छ।

Leave a Reply

Your email address will not be published.