चुनावको विरोधमा थरुहट थारुवानको मसाल जुलुस, झापा र कञ्चनपुरमा आज एकसाथ विरोधसभा

स्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले मसाल जुलुस प्रदर्शन गरेको छ। बिहीबार साँझ राजधानीको सिनामंगलदेखि पुरानो बानेश्वरसम्म समितिले मसाल जुलुस प्रदर्शन गरेको हो। प्रदर्शनमा थारु कल्याणकारिणी सभा र त्यससँग सम्बद्ध भातृसंस्थाहरुमा आबद्ध पदाधिकारीको सहभागिता थियो। सहभागीहरुले निर्वाचन तुरुन्त स्थगित गर्नुपर्ने, टीकापुर घटनाका जेलबन्दीलाई रिहा गर्नपर्नेलगायत नारा लगाएका थिए।

समितिको पूर्वघोषणाअनुसार आज झापा र कञ्चनपुरमा एकसाथ विरोध सभा आयोजना गरिएको छ। जिल्लाले आफ्नो अनुकुलताअनुसारको स्थानमा विरोध सभा आयोजना गर्न यसअघि नै समितिले विज्ञप्तीमार्फत् जानकारी गराएको थियो।
फागुन ११ बसेको आन्दोलन परिचालन समितिको बैठकले स्थानीय तहको निर्वाचनको विरोध गर्दै विरोध सभा आयोजना गर्ने निर्णय गरेको थियो।

‘हामी निर्वाचनको पक्षधर हौं तर नेपाल सरकारले रुपान्तरित व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकलाई थाती राखी, प्रादेशिक सीमांकन संशोधन, स्थानीय तहको पुनःसंरचनाको प्रतिवेदन परिमार्जन नगरी, संविधानको धारा ५६ (५)को मर्म र भावना विपरीत स्थानीय तह, स्वायत्त, संरक्षित र विषेश क्षेत्रको संख्या, सीमाना स्पष्ट निर्धारण नगरी प्रदेशको अधिकारलाई समेत हनन गर्दै स्थानीय, प्रदेश एवं संघ गरी तीनै तहको निर्वाचन गर्ने षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसले द्वन्द्व र भीडन्त निम्त्याउने निश्चित छ,’ संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

चुनावको विरोधमा थरुहट थारुवानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

Leave a Reply

Your email address will not be published.