एनआरएन यूएईका उपाध्यक्ष थनेतद्वारा स्कुललाई कम्प्युटर सहयोग

सदरमुकामसँगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुरस्थ्ति निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएन यूएई )का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गरेका हुन्।

संघका उपाध्यक्ष थनेत आफैँ युइएबाट कम्प्यूटर बोकेर विद्यालय पुगेका थिए। उनलाई अभिभावक, विद्यार्थी एवं स्थानीयहरुले भव्य स्वागत गरेका थिए। पदमपुरकै जेठो विद्यालय भएपनि आर्थिक अभावका कारण शैक्षिक व्यवस्थापनमा समस्या भएको फेसबुकमार्फत जानकारी पाएपछि प्राविधिक शिक्षामा सहयोग गर्ने उद्देश्यले उनी कम्प्यूटर बोकेर विद्यालय पुगेका हुन्।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका पत्रकार सन्तकुमार चौधरीले फेसबुकमा विद्यालय जोगाउँ अभियान सञ्चालनमा सहभागी हुन आग्रह गरेका थिए। कम्प्यूटर हस्तान्तरणका लागि बुधबार विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एनआरएन यूएइका उपाध्यक्ष थनेतले शैक्षिक क्षेत्रको विकासका लागि आफू र आफ्नो संगठन सधैं सकारात्मक भएर लाग्ने गरेको बताए। प्राविधिक शिक्षाको विकासका लागि आफूले प्रदान गरेको कम्प्यूटरले ठूलो अर्थ राख्ने उनको भनाई थियो। कम्प्यूटरसँगै भोलिका दिनमा अन्य थप सहयोग गर्नेसमेत प्रतिवद्धता जनाए।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका पत्रकार सन्तकुमार चौधरीले स–साना बालबालिकाको भविष्य निर्धारण गर्न यो सहयोगले महत्पूर्ण अर्थ राख्ने बताए। उनले सदरमुकामसँगै जोडिएको विद्यालय भए पनि सरकारी तथा गैरसरकारी निकायबाट सधैं ओझेलमा पर्ने गरेकाले विद्यालयको विकास सोचेजस्तो हुन नसकेकोमा गुनासो गरे।

आर्थिक अभावका कारण विद्यालय संरक्षणमा समस्या थपिँदै गएको भन्दै उनले विद्यालयको शैक्षिक विकासप्रति चिन्ता व्यक्त गरे। विद्यालयले डाक्टर, इन्जीनियरलगायत ठूला ठूला तहमा पुग्ने व्यक्तिलाई उत्पादन गरेपनि विद्यालयको अवस्था खस्किँदै गएकोमा दुख व्यक्त गरे। कार्यक्रममा पदमपुर गाविसका पूर्वअध्यक्ष जयचन्द्रप्रसाद चौधरीले एनआरएन यूएइका उपाध्यक्ष थनेतले दिएको कम्प्यूटरबाट निजी विद्यालयको पहुँचसम्म पुग्न नसकेको गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुका लागि वरदान सावित हुने बताए।

उनले कम्प्यूटरलाई पूर्णरुपमा शैक्षिक ज्ञान बाड्ने माध्यमको रुपमा प्रयोग गर्न सुझाव दिए। कार्यक्रममा नेकपा एमाले कालिका नगरपालिकाका नगर प्रमुख भीष्म खनाल, राप्रपा नगरप्रमुख घनश्याम गिरी, राप्रपाकै हेमवहादुर नेपाल लगायतले बोलेका थिए। कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शीला शिरिसको अध्क्षतामा आयोजना गरिएको थियो।

२ सय ७५ जना विद्यार्थी रहेको विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुने गरेको छ। यो विद्यालय पदमपुरकै सबैभन्दा जेठो विद्यालय हो। जेठो विद्यालय भए पनि आर्थिक अभावका कारण अहिलेसम्म आफ्नो क्षेत्रलाई कम्पाउण्डिङ गर्न सकेको छैन। खानेपानीको अवस्था पनि पीडादायी छ।

६ महिनासम्म विद्यार्थी तथा शिक्षकले पानी पिउन पाउँछन् बाँकी ६ महिनासम्म पिउने पानीका लागि निकै सास्ती भोग्नुपर्छ। खोलाको पानी सुक्दै जानथालेपछि भएको कलधारा पनि सुक्ने समस्या छ।

Leave a Reply

Your email address will not be published.