थारु नेताहरुले भने- ‘कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेश लिएरै छाड्छौं’

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेश लिएरै छाड्ने बताएका छन्। कञ्चनपुरको पिपलाडीमा भएको थरुहट थारुवानको आमसभामा बोल्दै उनले जातीय जनजसंख्याको आधारामा समानुपातिक समावेशिता लागू हुनुपर्ने बताए।

उनले कांग्रेस, एमाले र माओवादीले मान्छे मारेर आन्दोलन गर्दा सरकारले केही नगर्ने तर बिना गल्ती थारुलाई जेल हाल्ने भन्दै आक्रोशित बनेका थिए। ‘कांग्रेस, एमाले र माओवादी सबैले आन्दोलन गर्दा मान्छे मारेका छन्। उनीहरुका आन्दोलन राजनीतिक हुने?,’ उनको प्रश्न थियो, ‘अब पनि झुठा मुद्दामा जेल हालेका थारुहरुलाई बिना सर्त रिहाई नगरे ठीक हुँदैन।’

त्यस्तै कञ्चनपुरका संयोजक पुष्कल चौधरीले सीमाकंन टुंगो नलागेसम्म कुनै पनि चुनावमा सहभागी नहुने बताएका छन्। आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘थारुहरुको सीमाकंन नमिलाएसम्म ठूला पार्टीहरुले चुनावको सपना नदेखे हुन्छ। कुनै हालतमा हामी चुनाव हुन दिन्नौं।’

कार्यक्रममा देवीलाल चौधरी, कीर्ति थापा मगरसहित कैलाली कञ्चनपुरका थारु नेताहरु उपस्थित थिए।
कार्यक्रममा सहभागी नेताहरुले कैलाली कञ्चनपुर कुनै हालतमा सुदूरपश्चिममा नमान्ने बताउँदै थारु बाहुल क्षेत्रको थरुहट प्रदेश बनाउन माग गरेका थिए।

Leave a Reply

Your email address will not be published.