कांग्रेस र मधेसी मोर्चाबीच सहमति, संविधान संशोधन गरेरै चुनावमा जाने

प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाबीच सहमतिमै संविधान संशोधन प्रस्ताव छिटोभन्दा छिटो अघि बढाउने र त्यसलाई पारित गराउने सहमति भएको छ। देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा यस्तो सहमति भएको मोर्चाका नेता महेन्द्र राय यादवले जानकारी दिए। उनका अनुसार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सहमतिमै पारित गराउन पहल गर्ने निर्णय भएको छ।

उनले भने, ‘संसदमा टेबुल भएको संशोधन प्रस्तावलाई अब छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ, यो प्रस्ताव पारित गराउनको लागि मोर्चाले लागिपर्नेछ।’

मोर्चाका अर्का नेता मनिष सुमनले कांग्रेसका शीर्ष नेताहरु पहिला संशोधन प्रस्ताव पारित गराउने र त्यसपछिमात्रै चुनावमा जान सहमति भएको जनाए। बैठकमा कांग्रेसका सभापति देउवा, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु विमलेन्द्र निधि, कृष्ण सिटौला लगायतका नेताहरुको उपस्थिति थियो भने मोर्चाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव लगायतका नेताहरु थिए।

Leave a Reply

Your email address will not be published.