च्याउसँगै फक्रँदै बजारी चौधरीको परिवार

अविनाश चौधरी/कैलाली।
हँसिलो मुहारकी बजारी चौधरीलाई देखेर लाग्छ संसारै जितेको खुशी उनीसंग छ । सुख, सयलको माला गाँसेर जीवन चलेको होला । तर, जब विगतको कुरा जोडिन्छ । उनको धपक्क बलेको अनुहारमा एकाएक दुःखको तुवाँलो लाग्छ । भावुकताले नयन छचल्किन्छन् । किनभने कमैया, कमलरी दुवै अवस्थाको पीडा बजारीको मनमा ताजै छन् ।

आफ्नो, घरजग्गाा नहुँदा विगतमा कमैया, कमलरी, बुक्रही सबै अनुभव सङ्गालेकी बजारी चौधरीको जीवन अहिले सफलताको शिखरतिर लम्केको छ । सङ्घर्षकैबीच अर्को सङ्घर्षको रुपमा व्यायसायिक च्याउखेतीमा अग्रसर भएपछि बजारीको जीवनमा खुशी फर्किन थालेको हो । कमैया मुक्ति घोषणा भएको एक वर्ष ढिला मालिकको घरबाट मुक्त भएपछि केहि वर्ष मजदुरी गरेर गुजारा गरेकी उनी विगत पाँच वर्षयता च्याउखेतीमा सक्रिय छिन् । रातो कार्ड प्राप्त उनको परिवारले धनगढी उपमहानगरपालिका–८ राधाकृष्ण मुक्त कमैया बस्तीमा एक कट्ठा जग्गा पाएपछि यस्तो अवसर मिलेको हो ।

विगतमा सानो इकाईमा च्याउखेती गरे पनि यो वर्ष तीन वटा घर बनाएर ३७१ वटा पोका च्याउखेती गरेको बजारीले बताइन् । उनले यो वर्ष हालसम्म साढे तीन क्वीन्टल च्याउ बिक्री गरिसकेकी छन् । ‘अहिलेसम्म ८० हजार रुपैयाको हाराहारीमा च्याउ बेचिसकेको छु’, चौधरी भनिन्– ‘माग धेरै छ । तर, पूर्ति गर्न सकेको छैन ।’

बजारीले यो वर्ष एकैदिन ७० किलोसम्म च्याउ बेचेकी छन् । ४८ हजार रुपैया लगानी गरेर च्याउखेती गरेकोमा लगानी कटाएर अब नाफातिर गइरहेको उनले बताइन् । गतवर्ष १० हजार लगानी गरेर उनले गरेको च्याउखेतीबाट सबै खर्च कटाएर एक लाख २५ हजार रुपैया आम्दानी भएको थियो ।

विद्यालयको ढोकासम्म पनि पुग्न नपाएको बजारीको २०४० सालबाट धनगढी स्थित थारु परिवारकै घरबाट कमैया जीवन सुरु भएको थियो । त्यस अगाडि उनले कमलरीको रुपमा काम गरेकी थिइन् । २०४० मा श्रीमान कुइरे चौधरीसंग विवाह गरिसकेपछि बुक्रहीको रुपमा श्रम बेचिन । पिठ्युमा बच्चा बोकेर गोबर सोहरेको, कालो भाँडा माँझेको विगत सम्झँदा अझै उनको नयन छचल्किने गरेका छन् । वर्षभरी कमैयाको रुपमा काम गरेर पाइने सीमित धान, गहुँ र कपडाले जीवन जिउनै गाह«ो थियो । उनकै शब्दमा भन्नुपर्दा अत्यन्त कहाली लाग्दो अवस्थामा सङ्घर्षमय दिनरात बिते । वर्षभरी काम गर्दा खान पुगेको थिएन । बालबालिकाले राम्रो लत्ताकपडा लाउन पाएका थिएनन् ।

‘साह्रै दुःख गरेर यहाँसम्म आइपुगेका हौं’, मेक्सीको एक कुनाले गहभरीको आँशु पुछ्दै बजारी भनिन्–‘अब त त्यो दिन सम्झिन पनि मन लाग्दैन । सम्झ्यो की भक्कानो फुट्छ ।’

त्यसबेलाको सङ्घर्षले निखारिएकी बजारी हिम्मत जुटाएर च्याउखेतीमा लागेकी हुन । यो व्यावसायबाट अहिले चार जनाको परिवारमा रोजीरोटी मज्जाले चलिरहेको छ । च्याउ फुलेजस्तै यी पूर्व कमैया बजारीको परिवार फक्रिन थालेको छ । अब आफै आत्मनिर्भर भएर काम थालेपछि इच्छाएको खाना, लाउन पाएको उनले बनाइन् । ‘एक सिजनको च्याउखेतीबाट ५०÷६० हजार मज्जाले बचत हुन्छ’, उनले थपिन्–‘श्रीमान पनि मिस्ट्री काम गर्दै आएको कारण घर व्यवहार चलाउन सजिलो भएको छ । श्रीमानले आफ्नो काम सकेर च्याउखेतीमा मलाई सघाउने गर्नुहुन्छ ।’

स्वरोजगार भएपछि मुक्तिको वास्तविक अनुभव गर्न पाएको उनी बताउँछिन् । अचेल पिंजडाबाट स्वतन्त्र बनेको पंक्षीझै आभास भएको बजारीको भनाइ छ । उनले आफूले उत्पादन गरेको च्याउ धनगढीमा लाग्ने हाट बजारमा बिक्री गर्दै आएको सुनाइन् । त्यसका अतिरिक्त कञ्चनपुरस्थित आइबीआरडीका केहि ग्राहक च्याउ किन्न बजारीको घरमै पुग्ने गरेका छन् । उत्पादित च्याउ बजारीकरण गर्नमा कुनै समस्या नरहेको बरु माग अनुसार दिन नसकेको उनले बताइन् ।

च्याउ कृषकले खुद्रामा यसवर्ष प्रतिकिलो दुई सय रुपैयामा च्याउ बिक्री गरिरहेका छन् । आफू कहाँ थोकमा किन्ने ग्राहक समेत पुग्ने गरेको भन्दै बजारीले प्रति किलो डेढ सय रुपैयामा थोकमा च्याउ बिक्री बताइन् । आगामी दिनमा च्याउखेती बढाउँदै लैजाने उनको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत पहिलो वर्ष ४० हजार रुपैया अनुदान दिएपछि बजारीको च्याउखेतीमा खाता खुलेको हो । अहिले अन्य खेती वा काम भन्दा च्याउखेतीनै सजिलो र राम्रो लाग्ने गरेको उनी बताउँछिन् । कमैया मुक्तिपछि अझै पनि कतिपय पूर्व कमैया परिवारको जीवन सङ्घर्षमय छ । खाना लाउन समस्या छ । अरुको मुख ताकेर बाँच्नु भन्दा आफै बाख्रा, कुखुरा पालन वा तरकारी खेती गरेमा कमैया परिवारको सुखको दिनपनि टाढा नरहने बजारीको बुझाइ छ ।

च्याउ बजार फराकिलो हुदै गएपछि कैलालीमा च्याउखेती गर्ने पनि बढ्दै गएका छन् । यसवर्ष ३० वटा समूहले सामूहिक रुपमा र ४० जना किसानले व्यक्तिगत रुपमा च्याउखेती गरेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जानकारी दिएको छ । सो कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले च्याउखेतीमा किसानको आकर्षण बढेको बताए ।

Leave a Reply

Your email address will not be published.