मोदी भ्रमणका बेला बढीमा १५ मिनेटमात्र सडक खाली गरिने

Modi Visit nepal-6

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सर्वसाधारणको आवागमनलाई सकेसम्म सहज गराउन लामो समयसम्म सडक अवरुद्ध नगरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। भ्रमणका बेला डेढ घण्टासम्म सडक बन्द गरिने भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा छाएकोप्रति ध्यानाकर्षण जनाउँदै ट्राफिक प्रहरीले बढीमा १० देखि १५ मिनेटसम्म मात्र सडक खाली गरिने स्पष्ट गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक केशवप्रसाद अधिकारीले सडक प्रयोगकर्तालाई दुःख नदिने किसिमले ट्राफिक व्यवस्था मिलाइएको राससलाई जानकारी दिए। उहाँनले मोदीको भ्रमणलाई मध्यनजर गर्दै उहाँ आवतजावत गर्ने मुख्य सडकको ट्राफिक व्यवस्थापनका लागि आवश्यकताअनुरुप ट्राफिक प्रहरी खटाइएको बताए।
‘बजारमा हल्ला चलाइएजस्तो एक/डेढ घण्टा सडक खुल्ला गरिने भन्ने हैन, यसमा सत्यता छैन, सडक प्रयोगकर्तालाई दुःख नदिने हिसाबले नेपालका अन्य भिआइपीहरुको आवतजावतका क्रममा जति समय सडक खाली गरिन्थ्यो त्यसको तीन/चार मिनेट बढीमात्र सडक खुल्ला गरिनेछ,’ प्रहरी नायब निरीक्षक अधिकारीले भने।
सडक र सवारी गतिविधिबारे आवश्यक जानकारी लिन आइतबार र सोमबार ट्राफिक एफएम ९६.५ मेगाहर्ज सुन्न पनि सर्वसाधारणलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.