खिचरा महोत्सवमा दर्शकको भीड

कारी महतो/खैरहनी।

चौथो खिचरा महोत्सवको दोश्रो दिनमा दर्शकहरुको ओइरो लागेको छ । अनुमान गरेको भन्दा बढी दर्शकहरु महोत्सवमा आएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जनाएका छन् । आज ५ हजार ५ सय टिकट बिक्री भएको टिकट व्यवस्थापन समितिका संयोजक भिखु चौधरीले बताए । आज सबैभन्दा कम भिड हुने दिनमा पनि यति धेरै दर्शक आएपछि भोलि माघ १ गते विशेष दिन भएकोले भिड थाम्न हम्मे हम्मे पर्न सक्ने आयोजकहरुले अनुमान गरेका छन् ।
महोत्सवमा आज भएको नृत्य प्रतियोगिताको दोश्रो राउण्डमा आठ जना प्रतियोगीहरु फाइनलमा छनौट भएको कुरा नृत्य प्रतियोगिता व्यवस्थापन समितिका संयोजक हरिशरण चौधरीले बताए । त्यसको फाइनल माघ ४ गते हुने जनाइएको छ । स्मृति भण्डारी, ज्योति चौधरी, बबिता प्रजा, दिव्या नेपाल, रिता प्रजा, आशिष चौधरी, प्रिया पुनम सहित वाइल्ड कार्ड इन्ट्रिमा सोनम चौधरी छनौट भएका छन् । आजको निर्णायकमा फिल्म निर्देशक किशोर चौधरी, नृत्य निर्देशक सुरेश चौधरी र नृत्य निर्देशक हिरा चौधरी रहेका थिए । नृत्य प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य न्यु रिवाज सप्लायर्स, पाण्डे सप्लायर्स र विन्दवासिनी रोडा ढुंगा उद्योगका सञ्चालक भिम बहादुर पाण्डेले गरेका छन् भने दोश्रो पुरस्कार हर्देहरा ट्रेक्टर सेवा एण्ड सप्लायर्सका सञ्चालक सन्देश चौधरी र तेश्रो पुरस्कार सेवा मेडिकल हलका सञ्चालक मानसिंह चौधरीले सौजन्य गरेका छन् ।

आज राष्ट्रिय गायक काली प्रसाद बासकोटा र श्रीनिवास चौधरीले आफ्ना साँगीतिक प्रस्तुति पस्किनु भयो । काली प्रसाद बासकोटाले “निरा जहिले रिसाउने, सेल्फी हानौंला” लगायतका आधा दर्जन भन्दा बढी गीत गाए । श्रीनिवास चौधरीले “आइल रे आइल माघी, जिन्दगीके मोडमे, मेरा मनका व्यथा” लगायत आधा दर्जन गीत गाए । साथै थारु साँस्कृतिक झर्रा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

भोलि माघ १ गते गायक अलमोडा राना उप्रेती, शशी रावलको साँगीतिक प्रस्तुति रहनुका साथै कलामन्दिरका डान्सरहरुबाट आकर्षक नृत्य, थारु साँस्कृतिक नृत्य र स्थानीय गायक दया सिवाकोटीको साँगीतिक प्रस्तुति रहने साँस्कृृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published.