सीएन थारु।
थारु विद्यार्थी समाजको विकल्प भनिएको थारु विद्यार्थी सभा साँचिक्कै विकल्प हो कि विभ्रम? भन्ने आसयका साथ मैंले एउटा लेख थरुवान डट कम अनलाईन खबरमा पठाएँ। शायद यो लेख मेरो पहिलो नै हुनुपर्दछ थारु विद्यार्थी समाजको सन्दर्भ जोडेेर किनकी यो भन्दा अगाडि त्यसमा पनि विराटनगरको पाँचौं महाधिवेशन पश्चात मैंले गोरखा पत्रमा थारु भाषा पृष्ठमा अर्को लेख प्रेसित गरेको थिएँ र थारु विद्यार्थी समाजको संकट निवारण गर्ने केही उपाय सुझाएँ। जेहोस् कारी सरले कानुनी बाटोमा थारु विद्यार्थी समाज हिडनुपर्दछ भन्ने आशय सहित मेरो उपरोक्त लेखमा गरेको टिप्पणी र सो टिप्पणीको निष्कर्षमा उल्लेखित सरोकारका विषयहरु प्रति मेरो कुनै विमति छैन। ती सरोकारका विषयहरु मननयोग्य छन् र थारु विद्यार्थी समाजले त्यसको जिम्मेवारीपूर्वक सम्बोधन गर्नुपर्ने देखिन्छ। यसमा मेरो व्यक्तिगत रुपमा साथ सहयोग रहने भए। तर मेरो लेख मार्फत अर्को कुरो वहसमा जे ल्याइयो त्यस प्रति मलाई केही लेख्नै पर्ने भएर फेरि त्यसलाई थप विस्तारपूर्वक यहाँ प्रस्तुत गरिएको छ। सचेत युवा विद्यार्थीहरुले कारी सर जस्तै यथार्थपरक टिप्पणी गरिदिनुहोला।
कानुनी बाटो र वैधताको सबाल
थारु विद्यार्थी समाज २०५२ सालमा स्थापना भई २०५७ साल बैशाखमा जि.प्र.का.काठमाण्डौमा दर्ता गरियो। त्यस बखत कानुनी बाटो किन लिइयो भन्ने सवाल एउटा कोणबाट उठ्नु स्वभाविक नै ठानिनु पर्दछ। अहिले पनि संस्था नविकरण गरेर लग्नु पर्दछ भन्ने विद्यार्थी साथीहरुको मनसाय देखिन्छ र मलाई त्यसमा कुनै संदेह छैन कि थारु विद्यार्थी समाज दर्ता नविकरण गरेर कानुनी बाटो लेओस्। यो विषय वहसको लागि होइन तर मेरो विचारमा कानुनी बाटो अथवा वैधानिक बाटो लिनु र वैधताको सवाल फरक विषय हुन। थारु विद्यार्थी समाजको महाधिवेशन सर्वोच्च निकाय भए पछि जब महाधिवेशनले कुनै निर्णय सर्वसम्मतिले लिन्छ र त्यसको कार्यान्वयन गरिन्छ भन्ने त्यो वैधतासँग जोडिन्छ किनकी वैधताको लागि स्वीकारोक्ति महत्वपूर्ण ठहर्छ। वैधानिक बाटोले यसलाई थप प्रष्ट पार्ने पक्का हो। तसर्थ थारु विद्यार्थी समाज बैधानिक बाटो लिइ रहेको अवस्थामा समेत वैधताको सवाल उठी रहने देखिन्छ किनकी वैधताको सवाल मनोविज्ञानसँग जोडिएर आएको हुन्छ।
थारु समाजको मनोविज्ञान
थारु विद्यार्थी समाजको स्थापनासँगै नेपालमा अन्य जातीय विद्यार्थी संगठनको स्थापना शुरु भयो। साथै दश वर्षे माओवादी जनयुद्ध घोषणाको शुरुको वर्ष पनि २०५२ साल नै भए। थारु समाजको मनोविज्ञान त्यस पछि यति तिब्र रुपमा परिवर्तन हुनपुग्यो कि सोझा र जंगली ठानिएका थारु जाति राज्यात्मकताको दावी गर्दै बन्दुक समाए। त्यस बखत थारु विद्यार्थी समाज स्थापना हुनुको पछाडि संघर्षमा जोडिने कुनै अर्को संयन्त्रको अभाव देखिन्थे। २०५६ साल जेठ १८ गते सर्वोच्चले भाषा सम्बन्धि गरेको फैसलाको विरुद्ध थारु विद्यार्थी समाज लगायत अरु विद्यार्थी संगठनहरु सडकमा आएको र त्यही संघर्षको विचबाट माघ १६ गते नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको स्थापना गरिएको थियो। थारु विद्यार्थीहरु विच भइचारा र एकता विकास गर्ने उद्देश्य राखी स्थापना गरिएको थारु विद्यार्थी समाज भाषिक आन्दोलनमा उत्रनु त्यस बखतको क्रान्तिकारिता नै मानियो तर दाश्रो महाधिवेशन लहान, सिरहामा सम्पन्न भइराख्दा नै मैंले महासचिवको हैसियतले साँगठनिक प्रस्ताव पेश गर्दा धर्म निरपेक्षता र गणतन्त्र एक सिक्काको दुई पाटो भएकोले थारु विद्यार्थी समाज अब गणतन्त्रको बाटो लिनु अनिवार्य ठहर भएको छ भनि महाधिवेशनमा प्रस्ताव प्रस्तुत गरें। सो प्रस्ताव उपरको छलफलमा धेरै प्रतिनिधि मित्रहरुको शंका र वेमैसमको प्रस्ताव भएको तर्क आयो। यसले थारु विद्यार्थी समाजको साँगठनिक चेतना मुल्याङ्कन गर्न सघायो। सोही प्रस्ताव धनगढी, कैलालीमा थारु विद्यार्थी समाजको अध्यक्षको हैसियतले प्रस्तुत गरें जुन उपस्थित प्रतिनिधीहरुको अन्तर मनले नस्वीकारे पनि महाधिवेशनको बन्द सत्रले पास गर्यो र गणतन्त्रको लागि भइरहेको संघर्षमा थारु विद्यार्थी समाजको भूमिकालाई प्रष्ट गरे। यहाँ भन्न खोजिएको विषय के हो भने थारु विद्यार्थीहरुको मनोविज्ञान अहिले दर्ता नविकरणसँग त छ नै साथ साथै उनीहरु पहिचान परक आन्दोलनमा आफ्नो भूमिकालाई सबल बनाउन थारु विद्यार्थी समाजलाई नयाँ संयन्त्रमा रुपान्तरण भएको हेर्न चाहेका छन्। त्यहाँ उनीहरु उच्च बलिदानी दिन र परिणाम निकाल्न खोजिरहेको पाइन्छ। सामाजिक सञ्जालमा उक्त आसय प्रष्ट रुपले युवा विद्यार्थीहरु व्यक्त गर्दै छन् जसलाई लहडवाजी मात्र भनेर पुग्दैन। साँचिक्कै थारु विद्यार्थी समाज एउटा दवाव समुहको रुपमा कसरी संगठीत हुने विषय वहसको केन्द्र बन्न सक्छ। थारु विद्यार्थी समाजको केही ऐतिहासिक पक्षहरुले पनि सो वहसलाई घनिभूत बनाउन बल प्रदान गरेको छ।
केही ऐतिहासिक पक्ष
थारु विद्यार्थी समाज २०६२/६३ को जनआन्दोलन पश्चात थरुहट संयुक्त संघर्ष समितिमा आबद्ध हुन पुग्यो। त्यहाँ थारु विद्यार्थी समाजले खेलेको भूमिका बारे कारी सरलाई सर्वविदितै छ। २०६५ साल फाल्गुन १९ गते देखि शुरु गरिएको आमहडताल टाँडी, चितवनको विद्यार्थी सहभागिताले थप सशक्त बनाउन पुगे भने फाल्गुन २२ गते राती सशस्त्र प्रहरी बलको गोली प्रहारबाट सो क्षेत्रमा भएको जनधनको क्षति अविश्मरणीय छ। उक्त १३ दिने आम हडतालको समीक्षा गर्न र चैत्र १ गते गरिएको ६ बुँदे सम्झौताको विषयमा छलफल गर्न सौरहा, चितवनमा भएको भेलामा मैंले दिएको अभिव्यक्ति पनि धेरैलाई पचेको थिएन किनकी मेरो आसय त्यस बखत पनि शंकाको दृष्टीले हेर्ने काम भयो। मैंले उक्त ६ बुँदे सम्झौता थरुहट आन्दोलनको भ्रुण हत्या भएको र यसले भविष्यमा अस्वस्थता ल्याउने दलिल पेश गरें। मलाई ६ बुँदे उक्त सम्झौताले विद्यार्थीहरु जो आन्दोलनमा सबैभन्दा अधिक मात्रामा सहभागी भइरहेका थिए, वहाँहरुको योगदानको कदर गर्न नसक्ने अनुभूति भइरहेको थियो। तर एउटा घटक संगठन थरुहट स्वायत्त राज्य परिषदमा आबद्ध भइरहँदा थारु विद्यार्थी समाज सहितका केही संगठनहरुको सहभागितामा अलग्गै गठन गरेको थरुहट संयुक्त संघर्ष समिति प्रति म त्यति मोहित हुन सकिन। फेरि पनि मैंले १३ दिने थरुहट आन्दोलनको सैद्धान्तिकारण हुनु पर्ने विषयमा अडिग थिएँ। यसको पहल कहि कतै बाट हुन सकेनन्। थारु विद्यार्थी समाजमा आबद्ध सचेत युवा विद्यार्थीहरुले पहल लिनु पर्ने मेरो हाल सम्मको दृढता हो किनकी वहाँहरु विश्वविद्यालयका डिग्र्री होल्डरहरु मात्रै होइनन् थारु जातिलाई अनुभव गरिसकेका जमात हुन। आधुनिक समाज विज्ञानले समेत प्र्रस्ताव गरेका टुल्स बारे साथीहरु जानकार नै हुनुहोला। तर यस विषयमा एक आध लेख र रिपोर्ट बाहेक धेरै काम गर्न बाँकी रहेको महसुस भइरहेको छ। त्यसैले मैंले कमल चौधरी र विपिन खडकाको रगतले तयार पारेको आधार टेक्दा थारु विद्यार्थी समाजको ठोस संयन्त्र बारे परिकल्पना गरेको सत्य हो जुन कानुनी बाटोले मात्र टेबा दिने विषय अपुग हुन सक्छ। अर्थात् एनजीओ चेतनाको ठाउँमा जवरजस्त राष्ट्रिय चेतनाको विकास गर्न अनिवार्य ठहर्छ। यो थारु विद्यार्थी समाजको लागि त्यतिकै जोखिमपूर्ण देखिन्छ तर जोखिमयुक्त बाटो हिडेर आएको यो संगठन लक्ष प्राप्त गर्न तयार हुनु वाहेक अर्को विकल्प छैन। अहिलेको चेतनाले थारु विद्यार्थी समाज अगाडि बढेमा टाँडि, चितवनमा नेतृत्व प्रदान गर्ने प्रीय सरजीवन चौधरी र साथीहरु जो आफ्नो श्रम बेच्न विदेसिनु परेको कथा बनेको छ, फेरि पनि निरन्तर दोहोरिने पक्का छ। के थारु विद्यार्थी समाज यस बारे सोच्नु पर्दैन र?
अन्त्यमा, मेरो सरोकारको विषयसँग यहाँ कारी सरको विमति हुन सक्छ। थारु विद्यार्थी समाज अहिले सम्मको थरुहट आन्दोलनमा निरन्तर योग्दान दिंदै आएकोले यसको सैद्धान्तिकरणमा योग्दान पुर्याउन सकेनन भने आफ्नो विशिष्ट पहिचान र अस्तित्व कायम गर्न सक्ने स्थिति बन्दैन। यो नै अबको दिनमा थारु विद्यार्थीहरुको आस्था र भरोसाको केन्द्र बन्न सहयोगी बन्न सक्ला। थारु विद्यार्थी समाजले संस्था दर्ताको नविकरण बारे पहिलो बैठकबाटै निर्णय लिएको मलाई सुन्नमा आएको छ र यस विषयमा मेरो धारणा स्पष्ट छ कि दर्ता नविकरण गराउनु एउटा जिम्मेवारी थारु विद्यार्थी समाजको होला तर थरुहट आन्दोलनको सैद्धान्तिकरणको आभावमा अहिले देखा परेका विसंगतिहरु बारे नजरअन्दाज गरेर थामथुम पार्ने प्रयास गरे फेरि पनि थारु विद्यार्थी समाज गोलचक्करमा फँस्न जाने पक्का छ। के थारु विद्यार्थी समाजले राना थारु, मोरंगका खबास, सुनसरीका राजधामी लगायत बर्दियाका सोन्हा तथा बारा, रौतहट, सर्लाही तथा कमलाखोंजका कछरियाले अलग पहिचानको दावी सहित उठाएको तर्कको समाधान दिने गरि पहलकदमी लिन अब पनि पछि पर्ने हो? सवाल उठेको छ। त्यसकारणले पनि कारी सरको उक्त टिप्पणी प्रति मेरो ध्यान आकर्षण भएको छ।
यो पनि पढुनुस्: