बहस: थारु विद्यार्थी सभा गठन कति उचित कति अनुचित ?

सीएन थारु। 
थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करार गर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाको बखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरु बीच प्रतिस्पर्धा तिब्र हुने हुन की भन्ने चिन्ता पक्कै थियो । अहिले पनि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा थारु विद्यार्थी परिवार रहेको बुझिन्छ जबकी २०६२ साल जेष्ठ १६ गते थारु विद्यार्थी समाजको तेश्रो महाधिवेशन धनगढी, कैलालीमा सम्पन्न भइरहँदा थारु विद्यार्थी समाज र थारु विद्यार्थी परिवार बिच एकताको सम्झौतामा हस्ताक्षर भई थारु विद्यार्थी समाजकै व्यानरमा एकताबद्ध हुने भनिएको थियो । त्यस महाधिवेशनले थारु विद्यार्थी परिवारको सदस्य नरेशलाल कुशुम्यालाई केन्द्रिय सदस्यमा निर्वाचित गरेको र नेपालगञ्ज मै केन्द्रिय बैठक सम्पन्न गरी संगठनलाई जोड्ने पहल गरियो । साँचिकै भन्ने हो भने यो पश्चात थारु विद्यार्थी समाजले देश भरी नै लोकतन्त्रको विपरित लहर विरुद्ध गणतन्त्रको लागि संघर्ष घनीभूत बनाउने तयारी गरे । थारु कल्याणकारिणी सभाले माघ १९ को राजा ज्ञानेन्द्रको कदमलाई स्वागत गरे तर थारु विद्यार्थी समाज गणतन्त्रको पक्षमा उभिएकोले निरन्तर संघर्षको बाटो रोजे । थारु समाज दुई ध्रुवमा विभक्त भएको सो समय थारु विद्यार्थी समाजले अग्रपन्थी धार पक्रे । त्यसले थारु विद्यार्थी समाजको आधारलाई बलियो बनाउने काम गर्यो ।

थारु विद्यार्थी समाज दवाव र जागरणको भूमिकालाई आफ्नो कार्यभार तय गरे । यसले थारुको अधिकार संघर्षको बाटोबाट मात्र सुनिश्चित गर्न सकिने मान्यता विकास गर्यो । थारु विद्यार्थी समाजको चौथो महाधिवेशन घोराही, दाङमा सम्पन्न गरिसके पश्चात त्रिभुवन नगर नगरपालिकाको नयाँ नामाङ्करण इन्कार गर्ने र घोराही नगरपालिका पुनःनामाङ्करण गर्ने भन्ने राष्ट्रिय प्रस्ताव पारित गरेर संघर्ष चलाउँदै आयो । अन्ततः घोराही नगरपालिका नै कायम गर्न सरकार राजी भए । शायद थारु विद्यार्थी समाजको पहल कदमी नहुँदो हो त थारुको पहिचान परक आन्दोलनले गति लिने स्थिति बन्ने थिएन । तर सहज परिस्थितिमा नेतृत्व लिनेको ताँती नै लाग्यो । राजनीतिक पार्टीमा लागेका व्यक्तिहरु समेत सहज परिस्थितिको मौका छोपी नेतृत्व हत्याउन तयार देखिए जुन थारु विद्यार्थी समाजमा सहज थिएन । थारु विद्यार्थी समाजको र्याङ्क तथा फायलमा एक तह सम्मको नेतृत्व तयार थियो र यसको समयावधि पनि छोटो भएकोले नेतृत्वको स्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ ।

थारु विद्यार्थी सभाको गठन र प्रतिस्पर्धाको मार्ग

थारु कल्याणकारिणी सभाको निक्कै अगाडिको तयारी हो थारु विद्यार्थी सभा स्थापना गर्ने । यो थारु विद्यार्थी समाजको विकल्पमा भनिए पनि यथार्थमा त्यो देखिँदैन । थारु कल्याणकारिणी सभासँग थारु विद्यार्थी समाजको प्रतिस्पर्धा रहेको छ र दबा तथा जागरणको भूमिकाले सो प्रतिस्पर्धामा थारु विद्यार्थी समाजको वैचारिक धार प्रभावी रहेको बुझाउँदछ । यहाँ भन्न खोजीएको कुरो के भने थारु कल्याणकारिणी सभा संस्थागत रुपले कुनै पनि सबालमा पहलकदमी लिने छैन किनकि त्यहाँ न कुनै चिन्तन हुन्छ न ठोस दृष्टिकोण नै । यो केवल अरुको निर्देशन पालन गर्ने आत्माविहीन कठपुतली नै हो । यो एक हिसाबले ठीम्हा संस्था हो जसलाई सरकारले नै केही आर्थिक स्रोत जुटाइदिएर थारुको परम्परागत संस्थालाई निरन्तर कमजोर बनाउँदैछ । अहिले यसको मातहतमा थारु विद्यार्थी सभा नामको अर्को ठीम्हा संस्थाको गठन गरेको छ एउटा भातृ संस्थाको रुपमा तर कुनै अमुक दलको पिछलग्गु यो संस्थाको नेतृत्वकर्ता उभियाउँदा न त यसको भविष्य नै छ । त्यसो त केही लोभी पापीको चित फेरि त्यस्तै पदले बुझ्ने हो । बरु त्यस्ता दलले त आफ्नो भातृसंगठन तिर संलग्न गराउँदा नै लाभ लिन सकिने देखिन्थ्यो । बरु त्यस्ता व्यक्तिहरु सोही दलको विभागीय जिम्मेवारी लिएको खण्डमा प्रतिस्पर्धा स्वस्थ बनाउन सकिन्थ्यो ।

अहिले राजनीति दलीय प्रतिस्पर्धाको आधारमा चलेको सत्य हो । थारु विद्यार्थी समाजको संलग्नता कुनै दल अथवा कुनै राजनैतिक विचारसँग छैन । यो थारु जातिको दवाव समुह पक्कै हो जसको अगुवाईमा वास्तविक विपक्षीको भूमिका प्रतिविम्बित हुन्छ । थारु जाति उपर जहिले सम्म यो राज्यको औपनिवेशिक चरित्र कायम रहन्छ, तहिले सम्म दवाव र जागरणको भूमिकालाई सशक्त बनाउने कामको नेतृत्व लिने हो । यो थारु विद्यार्थी समाजको प्रतिबद्धता नै हो । अहिले काठमाण्डौमा माघी आफ्नै नेतृत्वमा सम्पन्न गरेर जनताको पक्षमा उभिन तयारी गर्दैछ भने अर्को तिर थारु विद्यार्थी सभा जस्तो ठीम्हा संस्थाले सिर्जना गरेको भ्रम चिर्न दृढ संकल्पित छ । यो लडाई धेरै दिन चल्ने स्थिति छैन किनकी थारु विद्यार्थी समाज शहिद कमल चौधरी र विपीन खडकाको रगतले सिंचिएको धरातल अझ सशक्त बनाउन जोडबल गर्दैछ । र, यसले टीकापुर कथालाई थप प्रतिबद्धताका साथ आफ्नो जीवनमा उतार्न खोज्दैछ । विगतको पहिलो केन्द्रिय समितिको बैठकले यो तथ्यलाई आत्मसात गरेर नै संगठन तथा संघर्षको लाईनलाई पारित गरेको छ । २०७३ को माघीलाई समेत संघर्षकै रुपमा मनाउने निर्णय हुनुले यस अवसरमा केही भ्रम सिर्जना गर्न सकिन्छ कि भन्ने गलत मनसाय बोकी स्थापना गरिएको थारु विद्यार्थी सभा अन्ततः थारु विद्यार्थीहरुलाई उपयोग गर्ने नीतिको औजार बन्छ । थारु महिला सभा, थारु युवा सभा लगायत अन्य जस्तै यो गोलचक्करमा फँस्ने छ ।

विकल्प कि विभ्रम

थारु विद्यार्थी सभा आफ्नै कारणले थारु विद्यार्थी समाजको विकल्प होइनन् । यसको स्थापना नै कुनै अमुक पार्टीको कार्यकर्ताको संलग्नतामा भएको छ र ती जो आफ्नै जीवनमा संकट व्यहोर्दै मौका परे विदेश पलायन हुन सक्ने देखिन्छन्, उनीहरुको यसले रहर चाहिं पुरा हुने पक्का छ । यसको अर्थ थारु विद्यार्थी समाज यसखाले विभ्रमको अन्त गर्न सक्षम छ र आवश्यक परे थारुको आफ्नै सत्ता जन्माउनका लागि भूमिका निर्वाह गर्न योगदान दिनेछ । लैबरी पाराले थारु कल्याणकारिणी सभाको छत्रछाँयामा बाँच्नु पर्ने दिन भविष्यमा पनि देख्न नपरोस् ।

अहिले थारु विद्यार्थी समाज महाधिवेशनको दर्वियान सिर्जना भएको संकटलाई निपटारा गर्दै तङ्ग्रीने वातावरण तयार गरेको छ र विगतका विविध कमजोरीलाई क्रमशः हटाउने चेष्टा गर्दैछ । विगतको उपत्यका अधिवेशनमा देखिएका मनोमालिन्य न्युन गर्न सहमतिमा नै उपत्यका समितिको विघटन गरियो भने नेतृत्व वर्गलाई आत्मगत तयारी चाहिन्छ भनेर अग्रजहरुसँग र सल्लाहकारहरुसँग निरन्तर छलफलमा रहने कामसँगै संगठनको जिम्मेवारी बाँडफाँड गर्ने योजना अगाडि बढाउनु भन्दा अगाडि नै असक्षम सावित हुने डरले बाहिरिएकाहरुको पहलमा गठन भएको संस्थासँग कुनै प्रतिस्पर्धा रहने छैन । यो यकिनका साथ भन्न सकिन्छ कि आफ्नो कमजोरी लुकाउन दोष जति अरुमा थोपरिने ती विगतका अभ्यासहरु रोक्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु अनिवार्य रुपले कार्यान्वयनमा लग्नु पर्ने बेला अर्कोतिर विभ्रम सिर्जना गर्न पटी लाग्नु नै दुराशय हो ।

अन्त्यमा, थारु विद्यार्थी समाजको अस्तित्व कानुनी रजिष्ट्रेशनले मात्र रक्षा गर्ने होइन र विद्यार्थीहरुको भरोसा र आस्थाको केन्द्र बन्दा नै जोगिने तर्कसँग सहमत बन्दै थारु विद्यार्थीसँगको सम्बन्ध निरन्तर जीवित राख्न संयन्त्रको विकास गरिनेछ । अहिले विद्यार्थीको सिफारिश गरेर थारु कल्याणकारिणी सभाले उनीहरुको शोषण गर्दैछ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट उपलब्ध गराउने सुविधा लिन एउटा सिफारिशको सैयौं रुपैयाँ नगद निचोरेर मातिएका दलालहरुसँग नयाँ ढंगले संघर्ष चलाउने हो भने अब कुनै बुख्याँचा उभ्याएर होइन, सिधैं ती शोषणकारी संयन्त्र सित जुध्नु परेको छ । तसर्थ यसमा अवरोधक देखिने जुन कुनै तत्वहरुसँग थारु विद्यार्थी समाज मुकाविला गर्न तयार रहनु पर्दछ । थारु विद्यार्थी समाज विद्यार्थीको हक स्थापित गर्न र समुदायमा उनीहरुको अस्तित्व सम्मानजनक तुल्याउन आफ्नै पहल कदमीमा चुनौती पार गर्ने दिसा लिने हो भने बाँकी अरु तपसिलका चिजहरु ठहर हुनेछन् । यति बेला सम्पूर्ण अग्रजहरुको ध्यान थारु विद्यार्थी समाज कसरी चुनौती पार लगाउँछ भन्ने तिर मोडिएको छ र उनीहरुको संलग्नतामा थारु विद्यार्थी समाजको स्थायी परिषद क्रियाशिल भएकोले स्वभाविक रुपमा थारु विद्यार्थी समाज आफ्नो रक्षा आफैं गर्न सकिने देखिन्छ । एक दिन सच्चाई जरुर सतहमा आउने छ र थारु विद्यार्थी समाजको आवश्यकतालाई सबैले आत्मसात गर्नेछ।

(लेखक थारु विद्यार्थी समाज का पूर्व केन्द्रीय  अध्यक्ष हुन् ।)

थाविस कानुनी बाटोमा नहिंडे उसको पछि किन लाग्ने ?
कारी महतो थारु

धेरै लामो समयपछि सिएनजीको लेख आयो । निकै खुसी लाग्यो । नेपालभरका लाखौं लाख थारु विद्यार्थीको गौरव र गरिमामय छाता संगठन थारु विद्यार्थी समाजको बारेमा निकै यथार्थपरक लेखा पढ्न पाइयोे । यी र यस्ता विषयमा सिएनजीले निरन्तर कलम चलाएको भए थाविस अहिलेको अवस्थामा आउने थिएन होला । तथापि वहाँको त्यस लेख पढेर केही लेख्न मन लाग्यो ।

सिएनजीको लेखमा भएको सबै कुरामा सहमत हुन सकिन्छ तर एउटा कुरामा आँखा चिम्लेर सहमत हुन सकिन्नँ । “थारु विद्यार्थी समाजको अस्तित्व कानुनी रजिष्ट्रेशनले मात्र रक्षा गर्ने होइन र विद्यार्थीहरुको भरोसा र आस्थाको केन्द्र बन्दा नै जोगिने तर्कसँग सहमत बन्दै थारु विद्यार्थीसँगको सम्बन्ध निरन्तर जीवित राख्न संयन्त्रको विकास गरिनेछ ।” सिएनजीको यो वाक्यांश सायद कतिलाई निकै मार्मिक लाग्यो होला तर कसैलाई भने मन पर्दैन होला । यो वाक्यांशमा धेरै कुराहरु छ । विद्यार्थी साथीहरुले बुझेर मात्र सहमति जनाउन अनुरोध गर्दछु ।

थाविसलाई अस्तित्व जोगाउनकै लागि मात्र दर्ता गरिएको त पक्कै होइन होला । विद्यार्थीहरुको भरोसा र आस्थाको केन्द्र थारु विद्यार्थी समाज यसै पनि थियो । अनि किन दर्ता गर्न आवश्यक पर्यो ? कुनै पनि संस्था ऐन बमोजिम दर्ता गरिएपछि त्यसको नीति नियम वा ऐन अनुसार चल्नु पर्छ । थाविसलाई जिवित मात्र होइन वैधानिक पनि बनाइराख्नुपर्छ । नविकरणलाई अद्यावधिक नगरी कसरी वैधानिकताको बाटोमा हिँडाउने हो । सिएनजीले कुन संयन्त्रको विकास गर्ने कुरा गर्नु भएको हो । त्यो प्रष्ट नभए पनि केही कुराको संकेत अवश्य गरेको छ । विराटनगरको महाधिवेशनमै एउटा विकल्प पारित गरिएको थियो । स्थायी परिषद गठन गर्ने भनेर । तर केन्द्रीय महाधिवेशनले पारित गरेको निर्णय हालसम्म किन कार्यान्वयन भएन ? किनकी वैधानिक कार्यन्वयनका लागि महाधिवेशनले पारित गरेको निर्णयहरु स्थानीय अधिकारीको स्वीकृति पछि मात्र लागू हुन्छ । जब थाविस नै वैधानिक बाटोमा हिडेको छैन, अनि कसरी त्यो स्थायी परिषद लागू हुन्छ । यदि लागू गरिएपनि त्यो व्यक्तिवादी तवरले हुन्न भन्ने आधार के छ ?

स्थायी परिषद गठनको कुरा निर्णयमै सिमित भए पनि छैटौ महाधिवेशनले पारित गरेको निर्णयहरु भने अवैधानिक तरिकाले कार्यान्वयन गरिएको छ । तीनवटा उपाध्यक्षबाट पाँचवटा उपाध्यक्ष बनाउने प्रावधान ल्याइयो । त्यो प्रावधानलाई अवैधानिक तरिकाले लागू गरियो । पाँचौ महाधिवेशनमा तीन उपाध्यक्षको कार्यभार किटान गर्ने निर्णय नै भएको थियो । महिला उपाध्यक्षले महिला विभाग हेर्ने र परिचालित गर्ने त्यस्तै एउटा उपाध्यक्षले संगठन विभाग हेर्ने र अर्को उपाध्यक्षले आदिवासी जनजाति महासंघमा प्रतिनिधित्व गर्ने भनेर कार्यक्षेत्र किटान गरिएको थियो । तर छैटौं महाधिवेशनले पाँच वटा उपाध्यक्ष बनाउने कुरा ल्यायो र तुरुन्त लागू ग¥यो । कुन नियतले ल्याइयो र कार्यक्षेत्र के हुने भनेर यकिन गरिएन । मात्र पदको भागबण्डा मिलाउनका लागि मात्र ल्याइयो । अझ बैधानिकता दिएर मात्र कार्यान्वयन गरिनु पथ्र्यो तर तुरुन्त लागू गरियो । किनकी लामो समयसम्म नविकरण नगरिएको कारणले थाविस संस्था दर्ता ऐन अनुसार अवैधानिक भैसक्यो । तथापि थाविसलाई वैधानिकता दिइनु पर्छ र बैधानिक तवरले नै यसलाई सञ्चालन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । तर सिएनजीको उक्त वाक्यांशबाट प्रष्ट के बुझिन्छ भने थाविसलाई केन्द्रीय समितिले वैधानिक बाटोमा लैजान असमर्थ छ र जिल्ला जिल्लामा रहनुभएका लाखौं थारु विद्यार्थीहरुको सहानुभूति प्राप्त गर्नका लागि मात्र यो वाक्यांश लेखिएको हो कि भन्ने लाग्छ ।

भर्खरै निर्विरोध निर्वाचित हुनु भएका मेरा आत्मीय मित्र चन्द्र प्रसाद चौधरीको कार्यकाल भर्खरै सुरु भएको छ । उहाँको कार्यप्रति मेरो कुनै गुनासो छैन । कालान्तरमा उहाँको नेतृत्वको केन्द्रीय समितिले के कस्तो काम गरेर के कस्तो प्रतिवेदन प्रस्तुत गर्छ । त्यसपछि टिप्पणी गर्दा राम्रो हुन्छ । तर अहिले नै कुनै टिप्पणी गर्नु अनावश्यक ठहरिने छ । तर त्यस अघिका विगत दुई कार्यकालका अध्यक्षहरुको नेतृत्वमा बनेको केन्द्रीय समितिले थाविसलाई अवैधानिक बाटोमा लैजादाँ पनि सिएनजीको प्रखर लेख आउनु पथ्र्यो ? ताकि ती दुई नेतृत्वहरुले थाविसलाई सही मार्गमा लैजान सक्थ्यो । अहिले आएर यो वाक्यांश आउनुको मतलब अब थाविसको दर्ता खारेज भैसक्यो । यो कुरा सबैले थाहा पाइसके । यसलाई नेपालको कानुन बमोजिम वैधानिक बाटोमा लैजानु सम्भव छैन । अहिले जसरी चलेको छ त्यसरी नै चलाए पनि हुन्छ भन्न खोज्नु भएको हो कि । यदि त्यस्तो हो भने यो समस्त थारु विद्यार्थीहरुका लागि विडम्बनापूर्ण नै हुनेछ ।

थाविस वैधानिक नरहँदा यसलाई जुनसुकै व्यक्तिले मनलाग्दी तरिकाले चलाउन पाउँछ । विगत दुई कार्यकाल त यस्तै भयो । विगत दुई कार्यकालसम्म थाविस अवैधानिक रुपमा हिडिरहँदा नेपालभर रहेका लाखौलाख थारु विद्यार्थीहरुलाई किन अन्धकारमै राखियो ? महाधिवेशनहरुमा किन खुलासा गरिएन ? यहाँसम्म कि विराटनगर महाधिवेशनमा अडिट रिपोर्ट पेश गरिएन । र स्पष्टीकरण दिइयो अडिट रिपोर्ट काठमाडौंमै छुटेछ । ल्याउनै बिर्सेछ । सरासर झुट अभिव्यक्ति थियो त्यो । तर महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधि पर्यवेक्षकहरुलाई यथार्थ बताउन आवश्यक ठानिएन । त्यसको अध्यक्षमण्डलका अध्यक्ष स्वयम् सिएनजी नै हुनुहुन्थ्यो । वहाँलाई पक्कै थाहा थियो । थारु विद्यार्थी समाजको नविकरण फेल भएको छ भनेर । तर किन लुकाइयो । यदि त्यस समयमै खुलासा गरिएको भए जरिवाना तिरेर भए पनि नविकरण गर्न सकिन्थ्यो । हातैले लेखेको हरहिसाबका कागजहरु फोटोकपी पेश गरियो ।

आर्थिक प्रतिवेदन पारित हुन नसकी एक कमिटि बनाइयो । उक्त कमिटिले सबै कुरा बाहिर ल्याउने भनिएको थियो तर किन बाहिर आएन । त्यस महाधिवेशनमा पनि चितवनदेखि पश्चिमका विद्यार्थीहरुले महाधिवेशन नै वहिष्कार गरेको बिर्सिन सकिन्न । सौराहा महाधिवेशनमा पनि उक्त कुरा बाहिर आउन सकेन । यसरी गुपचुपमा राखेर के गर्न खोजिएको हो ?

पाँचौ महाधिवेशन विराटनगर र छैंटौ महाधिवेशन सौराहा सफल हुन नसकी केहि प्रतिनिधी, पर्यवेक्षकहरुले बहिष्कार गरे । दुवै महाधिवेशन बहिष्कार हुनुको मुख्य कारण प्रतिनिधि विवाद थियो । तर थाविसको नविकरण फेल भएको बहस कत्ति पनि चलेन । किनकी दर्ता खारेज भएको विषय लुकाइएको थियो । छैटौ महाधिवेशन असफल भएपछि मात्र दर्ता खारेज भएको विषय स्वतः खुलेको हो । सिएनजीको अन्तिम वाक्यांश “एक दिन सच्चाई जरुर सतहमा आउने छ” त्यो आईसकेको छ । तर यो सच्चाईलाई थाविस केन्द्रीय समितिले थेग्न नसकेकोले हो कि अघिल्लो वाक्यांश यसरी आएको “थारु विद्यार्थी समाजको अस्तित्व कानुनी रजिष्ट्रेशनले मात्र रक्षा गर्ने होइन” । हो रजिष्ट्रेशन नगर्दा पनि चलेको थियो र चलिरहन्छ । तर हरेक तहका नेतृत्वलाई अंकुश कसरी लगाउने बाटो त अनिवार्य चाहिन्छ ।

एउटा कुरा प्रष्टसँग बुझ्नु पर्ने के हो भने काठमाडौंमा थारु विद्यार्थी समाज गठन हुनु अगावै २०४९ सालमै चितवनमा थारु विद्यार्थी समिति गठन भएको थियो । थारु विद्यार्थी समाज काठमाडौंमा दर्ता भएकोले मात्र चितवनका थारु विद्यार्थी समितिलाई थारु विद्यार्थी समाजमा रुपान्तर गरी केन्द्रीय समितिमा समाहित गरिएको थियो । यदि केन्द्रीय समितिले सिएनकै कुरामा अडिग रहने हो भने चितवनको थारु विद्यार्थी समाज केन्द्रमा समाहित रहिरहनुको औचित्य के हो त ? त्यो प्रष्ट आउनु पर्छ । केन्द्रीय समिति यदि नेपालको कानुन बमोजिम चल्न चाहदैन र संस्था दर्ता ऐन बमोजिम नेपालको कानूनी बाटोलाई त्यागेर लिगबाट बाहिरिन्छ भने चितवनमा थारु विद्यार्थी समितिको नाममा चितवन जिल्ला प्रशासन कार्यालयमा दर्ता किन नहुने ? विगतमा चितवनका विद्यार्थीहरुले आफ्ना रगतले सिंचित गरेका थारु विद्यार्थी समाज अबका दिनमा अवैधानिक बाटोमा हिड्ने हो भने त्यसको पिछलग्गु बनेर चितवनका थारु विद्यार्थीहरु किन हिड्ने ?

अन्त्यमा, सिएनजी जस्तो एक होनहार विद्यार्थी नेताको लेखमा मैले टिप्पणी गरें । मैले यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो । उहाँले कुन प्रसंगमा त्यो वाक्यांश लेख्नु भएको थियो ? सायद मैले गलत अर्थ लगाएँ कि जस्तो पनि भैरहेको छ । तर मेरो सोझो बुझाई के हो भने थारु विद्यार्थी समाजको हरेक क्रियाकलाप सबै जिल्लाका थारु विद्यार्थीहरुलाई स्पष्ट होस् । कानुनी बाटोमै हिडेर गन्तव्यमा पुग्न सकिन्छ भने गैरकानूनी बाटोमा विद्यार्थीहरुलाई किन हिडाउने ? ठीक छ, थारु विद्यार्थीसँगको सम्बन्ध निरन्तर जीवित राख्न संयन्त्रको विकास होस् तर त्यसका साथै कानूनी मार्गलाई पनि नभुलीकन अघि बढेमा कसैलाई केही बिगार गर्दैन । अनि विद्यार्थीका नाममा जुनसुकै संस्था वा संगठनले भातृसंगठन निर्माण गरेपनि थारु विद्यार्थी समाजले अन्यत्र नहेरी आफ्नो बाटोमा हिंड्न सकेमा मात्र गन्तव्यमा पुग्न सकिने कुरालाई कसैले नकार्न सकिन्न । तर थाकसले विद्यार्थीहरुको लागि भातृसंगठन निर्माण गरेको कुरामा बिलौना गरेर त्यसमै अल्झेर बसेमा अवश्य पछाडि पर्नेछ ।

(लेखक थारु विद्यार्थी समाज चितवनका पूर्व जिल्ला अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published.