सात दिन चल्ने चौथो खिचरा महोत्सव खैरहनी रङ्गशालामा हुने

कारी महतो थारु/खैरहनी

विगत तीन वर्षदेखि हुँदै आएको खिचरा महोत्सव यसवर्ष खैरहनी नगरपालिका वार्ड नं. ५, जबकौली स्थित प्रस्तावित खैरहनी रङ्गशाला, गौचरनमा हुने भएको छ। यसअघि दुई वर्ष सुल्ताना निमाविको चौर र एक वर्ष खैरहनी उच्च मा.वि.को चौरमा सम्पन्न भएको महोत्सव विभिन्न कारणले स्थान परिवर्तन हुँदै यस वर्ष गौचरनमा हुने कुरा महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतोले जानकारी दिनु भएको हो। विगतमा स्कुलका चौर प्रयोग गरी महोत्सव हुने गरिएकोमा बिस्तारै महोत्सव हुने समय लम्बिदैं जाँदा विद्यार्थीहरुको प्रतिकूल असर पर्न गएकोले यसवर्षदेखि स्कुलहरुलाई असर नपर्ने स्थान खोजी गर्ने क्रममा गौचरन सर्बोत्तम हुने देखिएको साथै यो चौरमा निकट भविष्यमै रङ्गशाला निर्माण हुन गइरहेकोले यसको प्रचारप्रसारको लागि पनि यो स्थान महोत्सवको लागि अतिउत्तम देखिएको संयोजक महतोले बताउनु भयो। गतवर्ष ५ दिन चलेको महोत्सव यसवर्ष ७ दिन हुने जनाइएको छ।

आठ विघा क्षेत्रफलमा फैलिएको चौरको तीन दिशातर्फ बुढीराप्ती खोलाले घेरेको हुँदा महोत्सव घुम्न आउने दर्शकहरुका लागि बोटिङ्गको व्यवस्था गरी थप मनोरञ्जन दिन सकिने देखिन्छ। गौचरन पुरानो पर्सा हुँदै पश्चिमतर्फ करीब १ कि.मी.मा रहेको छ। ज्यामिरे चोकबाट पनि करिब १ किमि दक्षिणतर्फ हिँडेर यो स्थानमा पुग्न सकिन्छ। त्यस्तै बेल्सी चोकदेखि दक्षिण पूर्वतर्फ करीब दुई किमिको बाटो हुँदै महोत्सव स्थल पुग्न सकिन्छ।

गत वर्षमा ६५ वटा मात्र स्टल रहेकोमा यसवर्ष २०० जति स्टलको रहने र स्टल बुकिङ्ग खुला गरिएको जनाइएको छ। यस वर्ष थारु खानाका परिकारका स्टलका साथै अन्य स्टलहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ। महोत्सवमा कृषकहरुका बाली प्रतियोगिता गरी उत्कृष्ठ ठहरिएका कृषकहरुलाई नगद पुरस्कार दिनुका साथै प्रदर्शनका लागि कृषि परिसर र बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ। महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि ३०१ मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ। उपसमितिहरुले आफ्ना जिम्मेवारीका कामहरु अगाडि बढाएका छन्।
महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु. ५० टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि रु. ३० टिकट लाग्ने जनाइएको छ। यसवर्ष महोत्सवबाट बचत भएको रकम थारु संग्रहालय भवन निर्माणका लागि खर्च गरिने जनाइएको छ। महोत्सवमा हुने आम्दानी तथा खर्चको हरहिसाबलाई अझ पारदर्शी बनाउनका लागि आर्थिक समिति र लेखा समिति छुट्टाछट्टै गठन गरिएको छ।
महोत्सव परिसरमा बिजुली र खानेपानीको अभाव भएकोले त्यसको व्यवस्थापन गर्नका लागि महोत्सव मूल आयोजक समिति तदारुकताका साथ जुटेको जनाइएको छ। स्वच्छ खानेपानीको व्यवस्था मिलाउनका लागि पर्सा खानेपानीका सदस्य प्रणाम चौधरीको संयोजकत्वमा एक उपसमिति बनाई काम अगाडि बढाइएको छ। महोत्सव स्थलमा निःशुल्क वाइफाइको समेत व्यवस्था गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published.