झेल्ली राजनीति [विचार]

रेशम चौधरी।

पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको हो ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड छ्वास्स मिसाइदिन्छन र संघीयताको भोजनलार्इ अस्वादिलो बनाइदिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलार्इ अध्ययन नगरिकनै पन्डित्याइ गर्ने धुर्त बाजेहरुको समुह हो भन्दा फरक नपर्ला । बिचार स्थापनाका लागि मार्क्स, लेनिन, माओका कुरा गर्ने, बि पिका बिचार अनुसरण गर्ने हाम्रा अग्रज भनाउँदा नेताहरुले बिश्वको पहिचानको दुइचार अक्षर नपढेका होलान् भनेर कसरी पत्याउने ? पढेर बुझ पचाउनेहरुलार्इ नै भनिन्छ, पुरातन सोचका ढोङ्गी।

जनता समक्ष बिश्वको समृद्धशाली देश स्विट्जरल्यान्ड्को सपना बाँड्ने नेताहरु आफ्नै मुलुकका जनतालार्इ पहिचान दिँदा त दाँतबाट पसिना झार्छन भने, समाबेशी मुलुकको कल्पना त झन एकादेशको दन्त्यकथा जस्तै हो । समुन्नत समाजको स्थापनाका लागि जबसम्म समाबेशी मुलुक बन्दैन तबसम्म दबिएका, थिचिएका, शोषितबर्ग दासताको जंजिरमा जकडीनै रहनेछन्। मुण्टो उठाउने बित्तिकै डन्डा बर्साउने खेलले केहिदिन बाजी मार्न त सकिएला तर बिजय असम्भव छ ।

अहिले पहिचानका परिभाषा लागुगर्न खोज्नेहरु साँवा अक्षर नपढेका गवाँर पक्कै होइनौं । संसारका सबै मुलुकको राजनैतिक र आर्थिक बिश्लेषण गर्ने क्षमता पनि हामिसँग छ। हामीले हाम्रै देशको हिजोका सबै ब्यबस्था नीति नियमलाइ स्विकार्दै आएका होइनौं र ? खसान पहिचानको दौरा सुरुवाललार्इ राष्ट्रिय पोशाक स्विकार्‍यौँ, गाईलाई राष्ट्रिय जनावर स्विकार्‍यौँ । जे जे लागुभए त्यही त्यही स्विकर्‍यौँ। सबै स्विकार्दा स्विकार्दै कुनै कुनै कुरामा हाम्रो मतभेद भयो भन्दैमा आज हामिलाइ देशद्रोही भन्न मिल्छ ?

आधुनिकता को कुरा गर्ने, मुलुक विकासको कुरा गर्ने, बिकासको साझेदारीमा यो गर्दा कसोहोला ? भन्ने बित्तिकै मुलुक बिखण्डनको आरोप लगाउने, यो कुन प्रजातान्त्रिक, लोकतान्त्रिक मुलुकको न्याय हो? अलग धर्मका प्रचारक एकनाथको बिदेश सयरमा सबै दलका नेता लाइन लागेर जाने, अनि धर्म बिरोधिको बिल्ला हामिलाई भिराउने ? आधुनिक मुलुकको निर्माणमा धर्म निरपेक्षताको जरो कसले गाड्यो ? आफैले निर्णय गर्ने, अनि निर्णय लागु गर भन्नेहरु दोषी हुने ? शासन पद्धतिको पनि सिमा हुन्छ । दमनले केहिदिन, बर्ष त शासनको रथ दौडिएला तर लंगडो घोडाले बाजी भने पक्कै जितिन्न। आफैले आफ्नो बिगत कोट्टयाएर हेर्नुस् , यो मुलुकलाई अनिर्णयको बन्दी कसले बनाउँदैछ ? तपाईंको स्वार्थका लागि खोलिएका संगठनहरु भातृसंगठन हुने, अनि हाम्रा समुदायको मान्छेले खोलेको संगठन चाँही जातीय हुने ? कि तपाईंको रगतमा केवल नश्लबादको धारो मात्रै बग्छ । अहिले हामीहरुसंग गरिएको व्यबहार र तपाईंको क्रियाकलापले यहि पुष्टि गर्दैछ। तपाईंको नजर एकात्मक छ । व्यबहार पनि एकात्मक छ। स्कुल समेत नगएका, केवल संस्कृतका दुईचार श्लोक जानेका गुरुले पढाएको बिद्या पढ्न नसकेर शैक्षिक प्रमाणबाटै बन्चित भएका ठुलो झुन्डले प्रश्न सोध्न त बाँकी नै छ। आचार्य, शास्त्री पढेर यो देशको उच्च ओहोदाको जागीर खानहुने, अनि हाम्रा मुन्धुम, बरकिमार पढ्नेहरू चाँही हलो जोत्न बाध्य हुने ? खोइ न्याय ? हामीले त्यसै भनेका छैनौँ, एकात्मकबादी बाट शासित भयौं भनेर।

पहिचानको कुरा आउने बित्तिकै यो हामिलाइ देशबाट लखेट्ने षड्यन्त्र हो भन्छन् ठुला राजनैतिक दलका शिर्षस्ठ नेताहरूले । लखेट्ने, लखेटाउने खेल कसले खेलिरहेको छ महासय ? आवाज बिहिनको आवाज बन्ने बित्तिकै हामी लखेटिएका छौँ । यसको सबैभन्दा दरिलो प्रमाण म आफै हो। आजसम्म हाम्रो बर्गको कसैले पनि उच्च ओहोदाको रथ हाँकेको छैन । अरुले हाँकेको रथको घोडा मात्रै बनेका छौँ हामी। हामी मुलबासी हौँ भन्ने समेत प्रमाण दिनुपर्छ हामीले। झण्डै कुन विद्वानले डि.एन.ए. परीक्षणको अविस्कार गरिदिएका थिए र हामी प्रमाण पेश गर्न पाएका छौँ । नत्र थुतुनोको कानुनले हामिलाइ उहिल्यै दमन गरिसक्थ्यो।

हो, गल्ती हाम्रा अगुवाबाट पनि भएको छ । यो नै हाम्रालागी सबैभन्दा ठूलो अभिसाप हो। केही पहिचानका पुत्रहरु मन्त्रीको लालचमा डुबेका छन । त्यो उनीहरुको निजि लालसा हो । हाम्रो सम्पुर्ण पहिचानबादिको दोष होईन। इतिहासले भोलि तिनीहरुलार्इ पहिचानबादिको कठ्घरामा पक्कै उभ्याउनेछ। पहिचान कि आमाको दुधको अभिभारा समेत नतिर्ने कपुतको मुल्यांकन के इतिहासले नगर्ला ? लोभ र लालचले गुलियो खान बाध्य बनाउँछ । धेरै गुलियो खाइयो भने सुगर रोग लाग्छ । सुगरले आफैँलाई सिध्याउँछ ।

हामीले अलग देशको लालपुर्जा मागेका छैनौं । पहिचानसहितको अलग प्रदेश मागेका मात्रै छौँ। हामिलार्इ हाम्रो पहिचानको स्थान दिइयोस । पहिचानका नाममा जातीय उपमा नभिडाइयोस। उपल्लो जातबाट तल्लो जातमा कसरी झारिन्छ ? हामीले तपाईहरुबाटै सिकेका हौँ। बाहुनको जातिको पनि बर्ग हुने, बाहुनले क्षत्री बिहे गरे हमाल ठकुरी हुने । त्यस्तै खड्का हुँदै तल्लो जातसम्मको पगरी गुथाउने संस्कार तपाईंहरुकै हो। हामी मुलबासिहरुको जातिमा न त उपल्लो हुन्छ न त तल्लो हुन्छ। हाम्रो आफ्नै संस्कृति र परम्परा छ । हो, त्यही पहिचान हामिलाइ चाहिएको छ। आफ्नै बर्गलाइ बिभाजित गरेर दलित भनि जुन अवहेलना तपाईंले गर्नुभएको छ, त्यसमा समेत हाम्रो गम्भीर आपत्ति छ। यिनै अपमानित, अवहेलित बर्गलाइ नै समाबेशी संविधान चाहिएको हो।

समयमै भुल स्विकार्नु बुद्धिमानी हो । हामी यहि अपेक्षाको पर्खाइमा छौँ । तेरो र मेरो भावना हामिमा छैन । जुन तपाईले आरोप लगाउनुहुन्छ। असन्तुष्टि भुसको आगो झैँ सल्किरहेको छ । सानो आगो पानीले निभ्छ तर ठूलो आगोको लप्कालार्इ पानी पेट्रोल बन्छ, यो पनि थाहा होला। बाल्मिकि र द्रोणाचार्य भन्दा विद्वान नेतालार्इ हामीले सचेत गराउने हो । अर्ती दिन सकिदैन। दुधको दुध, पानीको पानी तपाईंको मन्त्र हो। आफै जान्नुस, आफै बुझ्नुस्। खेलकुदमा झेल्ली गरियो भने त जितिन्छ पनि, तर राजनीतिमा झेल्लीले बिद्रोह पैदा गर्छ। यस्तो झेल्ली राजनैतिक खेलले भोली जनताको झ्यालखानामा पुर्‍याउला । चेतना भया ।

Leave a Reply

Your email address will not be published.