एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन्। नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि यहाँ आज निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भए। 

एन्फाका कावा अध्यक्ष श्रेष् अर्का प्रत्याशी कर्माछिरिङ शेर्पालाई पाँच मतको साँघुरो अन्तरले हराउँदै निर्वाचित भए। जम्मा ६७ मत रहेकामा श्रेष्ठले ३६ तथा शेर्पाले ३१ मत पाए । त्यस्तै उपाध्यक्ष विजेता कुँवरले शेर्पा समूहका दीपक खाती र एकल उम्मेदवारी दिएका उपेन्द्रमान सिंहलाई पछि पारेका हुन्, जसमा कुँवरले ३४, खातीले २५ तथा सिंहले आठ मत प्राप्त गरे।

यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापा भ्रष्टाचारका मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो। नयाँ नेतृत्वले थापाको बचेको डेढ वर्षको कार्यकाल सम्हाल्नेछ । विधानानुसार त्यसपछि चार वर्षको पूरा कार्यकालका लागि नयाँ निर्वाचन हुने बताइएको छ। थापालाई गत वर्ष विश्व फुटबल महासङ्घ (फिफा) ले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो।

नवनिर्वाचित श्रेष्ठले फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)को सहयोग नेपाली फुटबलमा भित्र्याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताए।

Leave a Reply

Your email address will not be published.