सामूहिक बलात्कारका मुख्य अभियुक्तद्वारा जेलमै आत्महत्या

tihar_jail_delhi_indiaनयाँ दिल्ली-भारतमा गत डिसेम्बर महिनामा भएको एक युवतीमाथिको सामुहिक बलात्कारको घटनाका एकजना मुख्य अभियुक्तले सोमबार जेलमै आत्महत्या गरेका छन्। गत वर्ष डिसेम्बर महिनाको १६ तारिख राति आफ्ना केटासाथीसँग घर फर्किरहेकी २३ वर्षीया युवतीलाई उनी रहेको बसका चालकसहितका छ जनाले सामुहिक बलात्कार गरेका थिए।  उनको उपचारकै क्रममा सिंगापुरमा मृत्यु भएको थियो। उनलाई बलात्कार गर्ने ती व्यक्तिलाई प्रहरीले थुनामा राखेको छ र उनीहरुमाथिको कारबाहीका लागि अदालतको सुनुवाई जारी नै राखेको छ।
भारतीय राजधानी नयाँ दिल्लीस्थित तिहार जेलमा राखिएका उनले सोही जेलमा आत्महत्या गरेको आज बिहान प्रहरी अधिकारीले जनाएका छन्। हिजो बेलुकासम्म ठिकै रहेको तर आज बिहान उनको कोठमा हेर्दा आत्महत्या गरेको अवस्थामा पाइएको सो जेलका एकजना वरिष्ठ सुरक्षा अधिकारीले आज जानकारी दिएका छन्।

राम सिंह नामका ती मुख्य अभियुक्त उक्त बसका चालक हुन। उनलाई प्रहरीले गरेको अनुसन्धानका क्रममा मुख्य अभियुक्तका रुपमा मुद्दा चलाईरहेको छ। अनुसन्धानका क्रममा राम सिंहले पनि आफ्नो गल्ती स्वीकार गरिसकेका छन्। उनीसहितका अभियुक्तहरुको अभियोगका बारेमा अदालतमा मुद्दा जारी नै रहेका बेला सोमबार विहान उनले आत्महत्या गरेको समाचार भारतका विभिन्न सञ्चारमाध्यमले दिएका छन्।

सो जेलका एकजना अधिकारी सुनिल गुप्ताले भने- उसले आफूसँगका कपडा सबै एकैठाउँमा पारेर डोरी बनाई त्यसैले पासो लगाएर झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको हो। उनको सो आत्महत्याको बारेमा अनुसन्धान सुरु भएको जानकारी पनि उनले दिए। उनका अनुसार सो आत्महत्या भएको स्थान वरिपरि तथा आत्महत्याका लागि बल पुग्ने खालका कुनै सुरक्षा कमजोरीहरु छन् कि भनेर सो अनुसन्धान थालिएको हो। उनी ३० वर्षका थिए र सो बसका नियमित चालक पनि हुन्। यो घटनालाई सुरक्षा कमजोरीका रुपमा भारतीय सञ्चारमाध्यमहरुले लिएका छन्।

बलात्कारमा परी मारिएकी ती २३ वर्षीया युवतीका बुबाले पनि यसलाई सुरक्षाको कमजोरी तथा त्यति संवेदनशील विषयमा प्रहरीले गरेको लापरबाहीका रुपमा टिप्पणी गरेका छन्।  उहाँले फ्रान्सेली समाचार समिति एएफपीसँग भने- ‘प्रहरीले यति गम्भीर अपराधका अपराधीहरुलाई पनि कति लापरवाहीपूर्ण रुपमा व्यवहार गर्दोरहेछ भन्ने यो ज्वलन्त उदाहरण हो र हामीलाई पूर्ण न्याय पाउने आस पनि छैन।’ सो बलात्कारका अरु आरोपी भने प्रहरी हिरासदमा नै रहेका छन्। बलात्कारीमध्येको एकजना भने १७ वर्षको मात्र रहेकोले भारतीय कानुनबमोजिम नाबालकको रुपमा बढीमा तीन वर्षको जेल सजाय हुनसक्ने बताइएको छ। तर अरु अरोपीहरुलाई पनि के कस्तो सजायको फैसाला हुदैछ भन्ने बारेमा भने केही आइसकेको छैन। तर ती यवतीको मृत्युपछि भारतमा उर्लिएको विरोधले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गरेको छ।

मृत्युदण्डका बारेमा फैसाला नभएपनि भारतको सो ‘फास्ट ट्रयाक’ अदालतले उनीहरुलाई कडा भन्दा कडा कारबाहीको फैसला सुनाउने अपेक्षा गरिएको छ। रासस/एएफपी

Leave a Reply

Your email address will not be published.