वर्ल्ड कप क्वालिफायर खेल्न महिला क्रिकेट टोली हङकङ प्रस्थान, टोलीमा सरस्वती चौधरी पनि

आईसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर क्रिकेट– २०१६ मा सहभागि हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य सैलेश कर्माचार्य लगायतले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु वर्मा र रश्मी शर्मा रहेका छन् ।

हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म हुने क्वालिफायरमा नेपालसहित हङकङ, चीन र थाइल्यान्ड गरी ४ राष्ट्रले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसमा शीर्ष स्थानमा रहने टोलीले ‘ग्लोबल क्वालिफायर’ मा खेल्ने अवसरमा पाउने छ । नेपालले आफ्नो पहिलो खेल हङकङ विरुद्ध अक्टोबर ९ मा खेल्नेछ । टोली बिहीबार हङकङ प्रस्थान गर्दैछ । नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात तथा व्यवस्थापकमा राखेपकी सदस्य अस्मिता गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published.