प्रधानमन्त्री ओलीसँग ​कांग्रेस र मधेसी मोर्चाका नेता दिल्ली नजाने

delli gateप्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा प्रतिपक्षी नेपाली कांग्रेस र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कोही पनि नेता सहभागी नहुने भएका छन्। भ्रमण टोलीका सदस्यबारे भारतमा रहेको नेपाली दूतावासले दिएको प्रारम्भिक नामावलीमा कांग्रेस नेतृ सुजाता कोइराला र पूर्णबहादुर खड्का, मोर्चाको घटक संघीय समाजवादी फोरमका शिवजी यादव र संघीय सद्भावना पार्टीकी डिम्पलकुमारी झाले दिल्ली नजाने बताएका छन्।

कांग्रेस नेतृ सुजाता कोइरालाले दिल्ली जाने विमानको टिकट क्यान्सिल गर्न लगाएकी उनको सचिवालयले जनाएको छ। कांग्रेसका अर्का सभासद पूर्णबहादुर खड्काले पनि बिहीबार साँझ दिल्ली भ्रमण क्यान्सिल गरेका छन्। फागुन ११ गते पर्ने पार्टीको केन्द्रीय समितिको बैठकका कारण दिल्ली भ्रमण क्यान्सिल गर्नुपरेको उनले बताए।

संघीय समाजवादी फोरमका सभासद शिवजी यादवले मधेसी मोर्चाको निर्णय अनुसार आफु दिल्ली भ्रमणमा नजाने बताए। ‘भ्रमण टोलीमा मेरो नाम त छ तर मोर्चाको तर्फबाट भ्रमणमा सहभागी नहुने कुरा भएकाले हामी जाँदैनौं’ उनले भने।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नरहेको अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीकी सभासद डिम्पलकुमारी झाले पनि आफु प्रधानमन्त्री ओलीको टोलीमा दिल्ली नजाने बताएकी छन्। केन्द्रीय कमिटी बैठकका लागि जनकपुरमा रहेकी उनले भनिन् ‘मलाई भ्रमण टोलीमा राखेकोबारे केही थाहा छैन, तर म दिल्ली जाँदै छैन।’

प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा मन्त्रीहरु बाहेक १६ जना सभासदको नाम राखिएको छ। जसमा एमालेका लालबाबु यादव, राजन भट्टराई, एकीकृत नेकपा माओवादीका हितराज पाण्डे, शिवकुमार मण्डल केवट, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देव, नेकपा मालेका अइन्द्र सुन्दर नेम्वाङ लगायत रहेका छन्।

पहिलोपोष्टबाट

Leave a Reply

Your email address will not be published.