जैविक प्रांगारिक मल उत्पादन गर्दै पूर्वमन्त्री चौधरी

सन्तोष दहित/दाङ।

पुर्वमन्त्री महेश चौधरी जैविक प्रांगारिक मल उत्पादनमा व्यस्त छन्। लामो समयसम्म राजनीतिमा होमिएका चौधरी घोराही नगरपालिका–४, बेलभारमा मल उत्पादन उद्योग खोलेर प्रांगारिक मल उत्पादनमा लागेका हुन्। दाङको महेन्द्र बहुमुखी क्याम्पसमा प्रध्यापक जागिर छाडेर राजनीतिमा लागेका चौधरी नेकपा एमालेको तर्फबाट लोकेन्द्र चन्दको नेतृत्वमा रहेको सरकारमा स्थानीय विकास मन्त्रालयको राज्य मन्त्री थिए। त्यसपछि उनी राष्ट्रिय सभाको सांसद भएका थिए। एमालेकै तर्फबाट पहिलो संविधान सभाका समानुपाति सभासद पनि भए।

नेकपा एमालेको केन्द्रीय कार्यसमितिको सल्लाहकारसमेत रहेका चौधरी एक करोड लगानी गरेर उद्योग खोलेका हुन्। २०७० मा सूर्य शक्ति सुपर जैविक प्रांगारिक मल उत्पादन केन्द्र प्रालिको उद्योग दर्तागरेपछि रातदिन प्रांगारिक मल उत्पादनमा व्यस्त छन्। ‘किसानलाई मध्यनजर गरेर आफूले प्रांगारिक मल उत्पादन गर्न लागेको छु,’ चौधरीले भने, ‘रासायनिक मलले जमिन मरुभूमि बन्न थाल्यो, उब्जनी हुन छाड्यो, जग्गा बिग्रन थाल्यो। जसलाई जोगाउन जैविक प्रांगारिक मल उत्पादनमा लागेको हुँ।’

‘सांसद, मन्त्री हुँदा किसानलाई केही दिन नसकेपनि अहिले उनीहरुलाई राहत दिइरहेको उनले बताए। ‘रासायनिक मल प्रयोग गरेर किसानहरु चिन्तित छन्, जग्गा बिग्रेर आम्दानी हुन छाडेपछि कस्तो मल प्रयोग गर्ने भन्नेमा किसानहरु दोधारमा थिए, आफूले उत्पादन गरेको मल प्रयोग गरेपछि किसानहरुलाई त्यो नैरासयता हराएको छ,’ उनले भने।

सुरुमा प्रांगारिक मल प्रयोग गर्दा खासै नलागेको देखेपनि पछि राम्रो हुन थालेको चौधरीले बताए। ‘रासायनिक मलले गर्दा पहिलो वर्षमा प्रांगारिक मललाई असर गरेको हुनुपर्छ,’ चौधरीले भने, ‘रासायिनक मललाई कम गरी पहिलो वर्षमा प्रांगारिक मललाई दबाएर हाल्दा अहिलेसम्म धान, गहुँलगायत अन्य व्यवसायिक खेति राम्रो भएको छ।’ फलफुल, जडिबुटीको लागि त झन अति उत्तम भएको उनको बुझाई छ। पहाडी जिल्लाबाट फलफूल, जडिबुटीमा प्रयोग गर्नको लागि आफैँ ट्रक लिएर मल लिन आउने गरेको उनले बताए।

व्यवसायिक खेती गर्नेहरुको लागि त झन प्रांगारिक मल अति उत्तम हुने गरेको चौधरीले बताए। ‘रासायनिक मल हरेक वर्ष बढाउदै जानुपर्छ, प्रांगारिक मल हरेक वर्ष घटाउँदै जानुपर्ने भएले किसानहरुलाई फाइदा हुने गरेको छ। त्यही भएर अहिले किसानहरुको रोजाईमा प्रांगारिक मल पर्छ,’ उनले भने।

डेढ विघा जग्गा लिजमा लिएर चौधरीले गाउँघरमा रहेको घासपात, गाई भैँसीको गोबर, ब्रोइलरको मल, तोरीको पीनालगायत अन्य विभिन्न झारपातलाई कुहाएर मल उत्पादन गर्दै आइरहेका छन्। ‘आफूले उत्पादन गर्दै आएको प्रांगारिक मलमा नाइट्रोजन २ दशमलव ५ प्रशित, फोस्फोरस २ प्रतिशत, पोटास २ प्रतिशत र क्यालसियम ०.६५ प्रतिशत प्रयोग गर्दै आएका छौं। दैनिक ५० क्विन्टल मल उत्पादन गर्ने क्षमता मेसिन हामीसँग उपलब्ध छ,’ उनल भने।

दाङ, बाँके, बर्दिया, कैलाली, सल्यान, रुकुम र दैलेख जिल्लामा यो मलको प्रयोग भइरहको चौधरीले जानकारी दिए।  ‘जाजरकोट, मकवानपुर र जुम्लामा पनि यो प्रांगरिक मलको माग भइरहेको छ,’ उनले भने, ‘माग भएको जिल्लाम पनि जतिसक्दो छिटो पठाउने तयारीमा छौं।’

प्रति क्विन्टल रु १ हजार ५ सयमा बिक्री वितरण भइरहेको मल अधिकांश नेपाल सरकार र कृषि विकास कार्याल तथा कृषि सेवा केन्द्रको सिफारिसमा अनुदानमा पनि दिँदै आइरहेको उनले बताए। ‘राजनीति गर्नलाई केही सजह होस् भनि आफू व्यवसायिक मल उत्पादनमा लागेको हुँ,’ उनले भने, ‘राजनीति गर्नलाई पनि पैसा चाहिन्छ, घर खर्च चलाउन पनि पैसा चाहिन्छ।’ उद्योग खोलेपछि अहिले धेरै सहज भएको उनले बताए।

Leave a Reply

Your email address will not be published.