देशभक्त मधेशी स्वाभिमानको उदाहरण [विचार]

सप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई अस्पतालमा पुरयाएको छ। तर पनि उनीहरुले आफ्नो बस्तीको सुरक्षा र देशको माटोमाथिको खतरा आफूहरु घाईते भएरै पनि टारेका छन्।

हो, बिहिवार पनि देशैभर केही दिन यताको निरन्तर भारी बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानको कहर जारी नै थियो। सप्तरीवासी पनि त्यसको मारमा परेकै थिए। सुरक्षाकर्मीको अगुवाईमा पीडितहरुको खोज , उद्धार र राहत तथा पुर्नस्थापनामा देशकै ध्यान केन्द्रित भैरहेका बेला सप्तरीको तिलाठीवासीलाई बिहिवार एकाएक थपिएको समस्या थियो देशकै तर झेले उनीहरुले गोर्खे शैलीमा एक्लै।

स्थानीय संवाददाताले जिल्ला प्रशासन कार्यालयलाई उदृत गर्दै जनाए अनुसार दशगजा क्षेत्रमा भारतीय पक्षले नेपालीको सहमति बिनै एकतर्फी बाँध निर्माण थालेपछि सप्तरीको तिलाठिवासी र भारतीय नागरिकबीच झडप भयो । झडपका क्रममा दुबै तर्फका गरी डेढ दर्जन घाइते भए । जिल्ला प्रशासन कार्यालयका अनुसार दशगजा क्षेत्र भएर बहने खाँडो नदीमा भारतले एकतर्फी रुपमा बाँध निर्माण थालेपछि दशजगा क्षेत्रका नेपाली र भारतीय नागरिकबीच बिहानैदेखि विवाद सुरु भयो । खाँडो नदीमा बाँध निर्माण गर्दा नेपाली भूभागमा बसोबास गर्ने सयौं घर डुबानमा पर्ने भन्दै नेपाली पक्षले विरोध सुरु गरे । तर, भारतीय नागरिकले भने जसरी पनि बाँध बन्नुपर्ने भन्दै जवरजस्ती गरे । तिलठावासीले बाँध बन्नै नदिने अडान लिईरहदा जसरी पनि बाँधको निर्माण हुनुपर्ने भारतीय पक्षको बलमिच्याईले उग्ररुप लिदाको परिणाममा सुरु भो झडप । झडपको क्रममा नेपाली र भारतीय पक्षबीच ढुंगा हानाहान चल्यो सांझ अबेरसम्म ।

surya_khadkaस्थानीय प्रशासनका अनुसार गत शनिबार आएको बाढीका कारण यसअघि लगाइएको बाँध भत्कियो । त्यही निहुंमा नेपाली भूमिमा खतरा हुँदाहुँदै भारतीय पक्षले जबरजस्ती पुनः बाँध निर्माण थालेपछि तनावको वीऊ भारतीय पक्षबाटै रोपियो । स्थानीयका अनुसार भारतीय पक्षले शनिवारदेखि नै पुनर्निर्माणको प्रयास थालेका थिए । तर, स्थानीयवासीकोे अवरोधका कारण रोकिएको पुनर्निर्माण विहिवारदेखि भारतीय प्रहरीको संरक्षणमा पुनः सुरु गरियो । आक्रोशित स्थानीयले दशगजा क्षेत्रमा बनाइएको बाँध भत्काइदिए । एक स्यानो गाऊका जनताको यो साहसिक प्रतिकार उदाहरणीय छ । बिना कुनै हतियार मुठी कसेर उनीहरु लडे दिनभर । घाइते भए दर्जनौं । तर पनि उनीहरु लडे र जिते ।

पछिल्लो जानकारी अनुसार स्थिति नियन्त्रणमा लिन सीमाक्षेत्रमा दुबैतर्फका सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । घाइते भारततर्फका आधा दर्जनको पनि भारतीय अस्पतालमा उपचार भइरहेको बताईएको छ । भारतले नेपाल भारत सीमा स्तम्भलाई आफ्नो भूमिभित्र पारेर बाँस तथा बोरामा भरिएका गिट्टी प्रयोग गरी बाँध बाँधेर बिवादको सुरुवात गरेको हो । सो बाँधका कारण तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्ने भएपछि आक्रोशित स्थानीय प्रतिकारमा उत्रेका हुन ।

स्थानीय प्रशासन मुकदर्शक बनेको पीडितको गुनासो छ । हुन पनि हो, स्थानीयवासिन्दाको दिनभरको लडाईका बेला देशको सार्वभौमिकताको रक्षक सरकार प्रमुख केपी ओली राजधानीमा खेलाडीलाई पुरस्कार बाँड्ने औपचारिकतामा व्यस्त थिए भने बांकी राजनीतिक दलहरु नयां सत्ता समीकरणको खेलमा मस्त थिए । यस घटना उपर सत्तारुढ वा विपक्षी कुनै दल र सरकारको कुनै प्रतिक्रिया नआउनुले सीमाको मिच्याई स्थानीयका लागि अचानोको चोट झैं बनेको प्रतित हुन्छ ।

भारतले नेपाली पक्षसँग समन्वय नगरी सीमा क्षेत्रमा आफूखुसी बाँध बनाउनाले नेपालीहरुले वर्षेनी डुबानको समस्या झेल्दै आएको पृष्ठभुमिमा यो प्रतिकार सानो तर प्रतिकात्मक सन्देश हो भारतको मिच्याई र काठमाण्डौंको मौन सरकारी रवैयाविरुद्ध । दशगजा क्षेत्रका यस्ता तनाव धेरै स्थानमा हुने गरेको क्रुर सत्यबाट सरकार वा राजनीतिक दल बेखबर रहको पक्कै होईन । तर दशगजा क्षेत्रका वासिन्दाको यस्तो कहरलाई सरकारले आफ्नो सरोकार नबनाउनु दुखद बिडम्वना हो । तराई मधेश मुलका नेपालीमाथि कथित राष्ट्रियताका नाममा एकल्याउने र आरोपित गर्नेहरुको जमात राजधानीमा बाक्लिएका बेला मधेशका धर्तीपुत्रहरुले ढुंगमुढाको प्रहार झेलेर पनि बांध बनाउन रोक्न देखाएको यो अदम्य साहस राष्ट्रियताको पहरेदारीको नयां नमूना हो । एकमुठठी माटोको रक्षामा पोखिएको देशभक्त मधेशी स्वाभिमान यसैकारण सलामयोग्य छ ।

माइसंसारबाट साभार

Leave a Reply

Your email address will not be published.