दशगज्जामा मधेसीहरु घन्टौं लड्दा…

नेपाल तर्फका आधा दर्जन बढि गाउँलाई डुवानमा पार्ने गरी भारतीयहरुले दशगज्जा क्षेत्रमा बनाउन लागेको बाँधका सप्तरीको तिलाठी तथा भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायत विच रहेको दशगज्जा क्षेत्रमा दुवै तिरका स्थानियहरु विच झडप भएको छ।

 घण्टौ सम्म चलेको झडपका क्रममा नेपाल तर्फका आधा दर्जन स्थानियहरु घाईते भएका छन्। अबैध रुपमा भारतीयहरुले जबरदस्ती गर्न लागेको बाँध निर्माण कार्य रोक्न खोजेपछि सयौ भारतीयहरु दशजग्गा हुँदै नेपाली सिमामा प्रवेश गरी नेपालीहरुलाई कुटपिट गरेका थिए।

 प्रतिउत्तरमा नेपाली स्थानियहरुले समेत बाँसको भाटा तथा ढुंगामुढा गर्दै भारतीयहरुको प्रतिवाद गरेका थिए। झडपका वेला दुवै तिरका स्थानिय प्रशासनको घटना स्थलमै उपस्थिती रहेकेा थियो। नेपाल तर्फ सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको नेतृत्वमा प्रहरी प्रमुख एसपी भिम ढकाल, नेपाली सेनाका कर्णेल भुवनेश्वर आचार्य सहितको टोली घटना स्थलमा रहेको थियो भने भारत तर्फ पनि विहार पुसिलका पदाधिकारी तथा जलसंसाधन विभागका अधिकारीहरुको समेत उपस्थिती रहेको थियो।

 झडपका क्रममा भारतीयहरुको कुटाईवाट घाईते भएका तिलाठी–४ का देवनारायण यादवको अवस्था गम्भीर रहेको छ। उनको टाउँको तथा शरिरका अन्यभागमा गम्भीर चोटपटक रहेको सगरमाथा अञ्चल अस्पताल स्रोतले जनाएको छ। प्रकोप प्रभावित सञ्जालका जिल्ला अध्यक्ष समेत रहेका उनी भारतीय बाँधको विरोध गर्ने अगुवा मध्यै एक हुन्। यसका अतिरीक्त तिलाठी–६ का रौशन झा र तिलाठी–१ का हर्षबर्द्धन कर्ण समेत घाईते भई अस्पतालमा भर्ना भएका छन्। दुवै जनाको टाउँकोमा चोट रहेको चिकित्सकले जनाएको छ।

 झडप भईरहँदा विहार पुलिस समेतको उपस्थितीमा सयौ भारतीयहरु बाँध निर्माण कार्यमा भने जुटिनै रहेका थिए। यता नेपाल तर्फका प्रशासनले नेपाली युवा तथा स्थानियहरुले झडप नगर्न आग्रह गर्दै पछाडी धकेले पनि भारतीय प्रशासनको रवैया भने निकै खेदपुर्ण रहेको नेपाली गाउँलेहरुको गुनासो छ।

 घटना स्थलमा रहेका बोर्डर आउट पोष्ट तिलाठीका प्रहरीका सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले सयौ भारतीयरु एकै साथ बाँसको भाटा तथा ढुंगामुढा गर्दै नेपाल प्रवेश गरी बाँध निर्माण कार्यलाई निरन्तरता दिईरहेको जानकारी गराए। यता नेपालको तर्फवाट समेत स्थानियहरुले ढुंगामुढा जारी राखेको उनको भनाई छ।

 विहानै देखि भारतीयहरुले बाँध निर्माण कार्य गरिराखेको भएपनि साँझ ४ बजे तिर मात्रै सप्तरीका प्रमुख जिल्ला अधिकारी घटना स्थलमा पुगेको तथा उनी पुग्ने वित्तिके नेपाली स्थानियहरु बाँध निर्माण कार्य रोक्न दशगज्जा छिरेको स्थानिय निरज झाले जानकारी गराए। ‘हामि काम रोक्न खोज्दा उता वाट प्रतिकार भयो’, उनले भने, ‘जवाफमा हामि पनि बाँसको भाटा सहित प्रतिकारमा उत्रियौ।’ उनीहरु हजार भन्दा बढी संख्यामा रहेको तथा हामिहरु मात्र ४–५ सयको हराहरीमा रहेकोले आफुहरु तर्फ घाईते बढी भएको झाको भनाई छ।

 आक्रोशित नेपालीहरु अझै पनि उक्त क्षेत्रमा भारतीयहरुसँग भिडन तयार रहेको झाको भनाई छ। ‘हाम्रो प्रशासनले छाडि दिए हामि उनीहरुसँग भिडन तयार छौ, तर हाम्रो प्रशासनले उत्तेजीत नबन्न आग्रह गरेपछि हामि चुप लागेका हौ।’, उनले भने।

किन भयो झडप?

 सप्तरीको तिलाठी हुँदै दशगज्जा भई भारत तर्फ वग्ने गरेको खाँडो खोलाको प्राकृतिक बहाबलाई परिवर्तीत गर्ने गरी भारतीयहरुले अन्तरराष्ट्रिय नियम कानुन र मान्यता मिच्दै एकतर्फि रुपमा बाँध निर्माण गर्न थालेका कारण उक्त क्षेत्रमा बर्षौदेखि विवाद रहि आएको छ।

 तिलाठीका बयोबृद्ध एवम् नेपाली काँग्रेसका बुथ कमिटी सभापति रत्नेश्वर झाका अनुसार बर्षौ देखि भारतीयहरुले उक्त क्षेत्रमा दशगज्जा मिचेर बाँध बनाई नदीको प्राकृतिक बहाब थुन्ने काम गरेका छन्। सोहि बाँधको झण्डै २ सय मिटर भाग गत शनिवार आएको बाढीले कटान गरेपछि भारतीयहरुले पुनः बनाउन खोज्दै विवाद भएको झाको भनाई छ।

 ‘भारतीयहरुको बाँधका कारण खाँडो नदीको बहाव परिवर्तित भई झण्डै ५ किलोमिटर जति मुहाननै पुरिएको छ’, उनले भने, ‘उक्त मुहान खोल्दै नदीको निकास दक्षिण तर्फ नभए सम्म आफुहरु भत्केको ठाँमा बाँध बनाउन दिन्नौ भनि स्थानिय प्रशासन लगायत भारतीय पक्षलाई आग्रह गरेका थियौ।’ पछिल्लो सोमवार मात्रै सप्तरीका स्थानिय प्रशासन र सुपौलका स्थानिय प्रशासन विच खाँडो नदीको बहाव नखोले सम्म उक्त विवादित बाँध नबाउन सहमति समेत भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए।

 ‘उनीहरुले हामिसँग गरेको सहमति अनुरुप काम गरेको भए यस्तो अवस्था आउने थिएन’, प्रजिअ गौतमेले भने, ‘अलिकति समन्वयको अभाव र उतावाट हतारमा भएको कामका कारण यस्तो दुखद घटना हुन पुगेको हो।’

 भारतीयहरु शनिवार देखिनै उक्त बाँध बनाउन क्रियाशिल भएका थिए। यद्यपी सप्तरी प्रशासनको प्रतिवादका कारण उक्त काम रोकिए थिए। यता बुधवार साँझ देखि एक्कासी उनीहरु बाँध निर्माणमा सक्रिय भएपछि दशगज्जा क्षेत्रमा विस्तारै तनाव बढदै गएको तिलाठीका निवर्तमान गाविस अध्यक्ष दिनेश्वर मिश्रले जानकारी गराए।

 नदीलाई निकासनै नदिई भारतीयहरुले बनाउन लागेको उक्त बाँधका कारण जिल्लाको दक्षिणी भेगको तिलाठी, रम्पुरा मल्हनियाँ, सकरपुरा, कोइलाडी, लौनियाँ, को बर्साईन लगायतका गाउँहरु डुवानमा पर्ने प्रायः निश्चित रहेको प्रकोप प्रभावित जिल्ला सञ्जालका अध्यक्ष समेत रहेको तिलाठी–४ का देवनारायण यादवको भनाई छ।

Leave a Reply

Your email address will not be published.