लुम्बिनीका तीन जिल्लाको बन्द खुल्यो

बुटवल- नेकपा-माओवादी अवद्यराज्य समितिले आह्‍वान गरेको लुम्बिनीका तीन जिल्ला बन्द साझ ४ बजेपछि खुलेपछि जनजीवन सामान्य भएको छ। प्रहरी नियन्त्रणमा आफ्ना नेताको मृत्यु भएको घटनाको विरोधमा विभिन्न माग राख्दै नेकपा माओवादीले गरेको बन्दले तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको बन्द आह्वान गरेको थियो। 
बन्द खुलेपछि बिहानैदेखि रोकिएका सवारी साधन चलेका छन्। भने बजार पनि खुलेका छन्। माओवादीका कार्यकर्ताहरु बन्द सफल बनाउन दिनभर सडकमा उत्रिएका थिए। बन्दका क्रममा प्रहरीले विहान बुटवलबाट चार जना र भैरहवाबाट चारजना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ।

बुटवलबाट जनस्वयंसेवक रुपन्देहीका अध्यक्ष नवीन रोकाय र सदस्य दीपक थापा तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र पन्थी र जिल्ला उपाध्यक्ष मनकुमार कनौजे मगरलाई नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय बुटवलमा राखेको माओवादी रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठले जानकारी दिए। यस्तै भैरहवाबाट इलाका नं ४ का इन्चार्ज नवीना थारु,हाटीवनगाई इन्चार्ज शंकर ज्ञवाली,मैनहिया इन्चार्ज श्यामविहारी थारु र भैरहवाका नजाम साफी धोबी लाई पक्राउ गरेको छ। यसैगरी नवलपरासीको गैडाकोटबाट अखिल नेपाल क्रान्तिकारी औधोगिक मजदुर संघ नवलपरासीको जिल्ला अध्यक्ष चन्द्रप्रकाश सुनार पक्राउ परेका छन्।

यसैबीच मृतक नेकपा माओवादी राज्य समिति सदस्य रुपन्देही फरेना २ का ३७ वर्षीय शैलेन्द्रनाथ तिवारीको शबको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पोष्टमार्टमपछि नेकपा माओवादीको बुटवलस्थित कार्यालय रातो घरमा श्रद्धान्जलीपछि शवयात्रा गरेर बुटवलको मगरघाटमा अन्त्येष्टी गरिएको छ। अन्त्येष्टिमा माओवादी केन्द्रीय सदस्य चन्द्रहरि सुवेदी, अवध सेक्रेटरी उमा भुजेल, जिल्ला इन्चार्ज बसन्त श्रेष्ठलगायतका नेताहरु सहभागी भएको नेता शरद वलीले जानकारी दिए।

महाधिवेशनको प्रचारप्रसारका क्रममा खटिएका नेताको गिरफ्तारी आपत्तिजनक रहेको, गिरफ्तारीपछि प्रहरी नियन्त्रणमा मृत्यु भएकाले मृत्युको जिम्मेवार प्रहरी प्रशासनले लिनुपर्ने,दोषीलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र मृतकलाई शहदि घोषणा गर्नुपर्ने लगायतका माग माओवादीले राखेको छ। घटनाको छानवीन गर्न प्रशासनले छानवीन समिति भने हिजै गठन गरेको छ।

Leave a Reply

Your email address will not be published.