परासी पस्यो झराही खोला, सदरमुकाम जलमग्न

लगातार परेको बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी जलमग्न भएको छ ।लगातारको बर्षाले झराही खोला बढ्दा खोलाको धार परिवर्तन भई परासीमा बाढी पसेको हो । उत्तर–दक्षिण भएर बग्ने झराही खोलामा आएको बाढी रामग्राम–२ को मस्जिद नजिकैबाट नगर क्षेत्रमा पसेकाले परासी क्षेत्र पुरै डुवानमा परेको छ ।

मुख्य चोक बुद्धचोकमा तीन फिट भन्दा बढी पानी रहेको छ । खोलाले धार परिवर्तन गरि पूर्वबाट पश्चिम बग्दा पुरै क्षेत्रमा जलमग्न भएको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङगानाले जानकारी दिए।

परासीका घर र पसलहरुमा पानी पसेको छ । मान्छेहरु आवातजावत गर्न सकेका छैन । राति ३ बजे देखि खोला गाउँमा पसेपछि स्थानीयहरु सास्ती भएको नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका कोषाध्यक्ष राजकुमार रेश्मीले बताउनु भयो । पानीले गर्दा घरबाट करिब एक किलोमिटर पूर्वमा रहेको रेडियो परासी बिहान साँढे पाच बजेको समाचार पढ्न जान सकिन उहांले भन्नुभयो– बाढीबाट जोगिन घरको छतमा बस्नु परेको छ ।

बाढीले गर्दा एक तला मात्र भएकाहरुलाई सामान जोगाउन पनि मुस्किल परेको छ । बाढीकै कारण नवलपरासीका एक दर्जन भन्दा बढी खहरे खोलाहरुले नजिकका बस्ती र खेती योग्य जमिन कटान थालेको छ । भने नारायणी नदीमा आएको बाढीले गण्डकबाँधको स्परहरु काट्न थालेको छ ।

नारायणीमा आएको बाढीको कटानले जिल्लाका दक्षिणी भेगमा १३ गाविसलाई प्रत्यक्ष असर पुर्याउने गरेको स्थानीबासीले जनाएका छन् । बाढी आउदा कति बेला के हुने हो भन्ने चिन्तामा स्थानीय रहेका छन् । नारायणीको बाढी जोखिम अबस्थामा नभएपनि सतर्कताका लागि स्थानीय प्रशासनले सबैलाई चनासो हुन अनुरोध गरेको छ ।

सिटीसन्देशको सहयोगमा

Leave a Reply

Your email address will not be published.