एमालेले निहुँ खोजे सामना गर्न सांसदहरुलाई शेरबहादुरको निर्देशन

 नेपाली कांग्रेस संसदीय दलको आज बिहान संसद भवन नयाँ वानेश्वरमा वसेको वैठकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई सफल पार्ने निर्णय गरेको छ। संसदीय अभ्यास र प्रचलन अनुसारनै संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावले प्राथमिकता पाउने निष्कर्षसमेत सो वैठकले निकालेको छ। 

बजेटआश्रित विधेयकहरु पहिले पारित गर्नुपर्छ भन्ने सरकारको भनाईप्रति कांग्रेसले असहमति जनाउँदै अविश्वासको प्रस्ताव पारित भएपछि मात्र उक्त विधेयकहरुलाई अघि बढाउनुपर्ने निष्कर्ष निकालेको नेता डा प्रकाशशरण महतले जानकारी दिए। प्रधानमन्त्रीले अल्पमतमा हुँदा पनि राजीनामा नगरेर रातारात मन्त्रीपरिषद वैठक डाकेर महत्वपूर्ण विषयमा निर्णय गर्नु गैरजिम्मेवारपूर्ण काम भएको उनले बताए।

संसदका आर्थिक विधेयकहरु पहिले अघि नबढाइए अवरोध गर्छु भन्ने सत्तापक्षको भनाईप्रति आपत्ति जनाउँदै कांग्रेसले संसदीय अभ्यास र परम्पराअनुरुप सरकारविरुद्धको अविश्वास प्रस्ताव पहिले अघि बढाउनुपर्ने बताएको छ।

त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीको राजनीतिक प्रकृतिका बाहेकका मागहरुलाई संवोधन गर्न सरकारले अनसन तोडाउनुपर्ने ध्यानाकर्षण समेत सो वैठकले गराएको छ। रासस

Leave a Reply

Your email address will not be published.