‘सरकारमा जानु आत्महत्या गर्नु हो’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुले उठाउँदै आएका शोषित, उत्पीडित र विभेदका मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने बताए ।

वर्तमान राजनीतिक निकास र भावी रणनीतिबारे गठबन्धनले आज बुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा अध्यक्ष यादवले भने, “हामीले उठाएका मुद्दा र राष्ट्रिय सवाल सम्बोधन नगराइकन सरकारमा जाने भनेको आत्महत्या गर्नु हो ।”

उनले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने र अहिलेको अन्तक्रिया त्यसैको तयारी भएको बताए। “आन्दोलन कमजोर भयो भन्ने भ्रम नराखौँ, यो अन्तक्र्रिया आन्दोलनकै तयारी हो, हामीले आन्दोलनको मैदान छाडेर तल झरेका छैनौँ,” अध्यक्ष यादवले भने।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले गठबन्धनको अहिंसात्मक आन्दोलनले सफलता प्राप्त गरेको र यस किसिमको आन्दोलन स्वभावैले लामो तर परिणाम दुरगामी हुने भएकाले आन्दोलन शिथिल भयो भनेर निरास नहुन नेता कार्यकर्तालाई आग्रह गरे।

अन्तक्रियामा सहभागी बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिले गठबन्धनको आन्दोलनले उचाइ लिएका सन्दर्भमा सत्ताको प्रलोभनमा परी मुद्दा छाडेर सरकारमा नजान र गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजान सुझाए ।

राजनीतिक विश्लेषकद्वय कृष्ण हाछेथु, तुलानारायण साह, पूर्वराजदूत विजयकान्त कर्ण, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, अधिवक्ता सुरेन्द्र महतो र साहित्यकार धीरेन्द्र प्रेमर्सिले मुद्दा सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका खण्डमा मात्र सरकारमा जान उपयुक्त हुने धारणा राखेका थिए ।

त्यसैगरी नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले गठबन्धनका नेताले लोभ र इगोमा नपरी आन्दोलनलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गरे। तराई मधेस–लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले गठबन्धन र मधेसी मोर्चाबीच कुनै मतभेद नरहेको बताउ। रासस

Leave a Reply

Your email address will not be published.