गाँजा तस्कर र प्रहरीबीच पर्सामा गोली हानाहान

पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा-८, मा पर्ने भलुवही खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो।

पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी मकवानपुरबाट पर्सा भित्र्याउन लागिएको प्रतिबन्धित आगुऔषध गाँजा र चरेस नियन्त्रणमा लिन लुकेर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी तस्करहरुले गोली प्रहार गरेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए। गोली हानाहानमा दुवैतर्फ कुनै मानवीय क्षति नभएको बताइएको छ।

प्रहरीले प्रतिकार गरेपछि अँध्यारोको फाइदा उठाउँदै तस्कर फरार हुन सफल भएको प्रहरीले जनाएको छ। भिडन्तपछि घटनास्थलका निरीक्षण गर्दा प्रहरीले १० वटा पोकामा एकसय किलो गाँजा फेला पारेका थियो। घटनामा संलग्न रहेको गाँजा तस्करको पहिचान भएको र उनीहरुको खोजी भइरहेको प्रवक्ता बोगटीले बताए।

मकवानपुर, धादिङ, चितवनलागायतका जिल्लामा उत्पादन भएका लागुऔषधलाई भरियाको मद्दतले पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी कारोबारीले पर्सामा भित्र्याउने गरेका छन्। रातिको समयमा पर्सा भित्र्याइएका यस्ता लागुऔषधलाई कारोबारीले अर्को दिन रातकै समय पारेर भारततर्फ पठाउने प्रहरीको दावी छ। रासस

Leave a Reply

Your email address will not be published.