आकांक्षी मिलाउन देउवालाई सकस, पद्मनारायण चौधरी केन्द्रीय सदस्यमा अटलान्?

आकांक्षी धेरै भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन सकिएको लामो समय बित्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन्। पार्टीका अन्य निकाय गठनमा समेत अन्योल बढेको छ। 

उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा आफूनिकटकै झन्डै एक दर्जन नेताले आकांक्षा देखाएपछि देउवा अप्ठेरोमा परेका हुन्। पार्टी पदाधिकारीमा मनोनयनका लागि निकट नेताबीच सहमति जुटाउने उनको कसरत अझै समझदारीमा पुग्न सकेको छैन। उपसभापति पदमा मात्रै देउवानिकटका विमलेन्द्र निधि, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठले दाबी गरिरहेका छन्।

देउवा नेता निधिलाई उपसभापति प्रस्ताव गर्ने पक्षमा रहेको दाबी गर्दै निकट एक नेताले उनी समय लम्ब्याएर भए पनि आन्तरिक समीकरण मिलाउन लागिपरेको बताए। ‘यसमा खुमबहादुर खड्कालाई उपसभापति नदिँदा उक्त पक्षले कस्तो प्रतिक्रिया जनाउँछ, त्यसले आन्तरिक समीकरणमा कस्तो असर पार्छ भन्ने मात्र समस्या हो,’ उनले भने, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने, छलफल जारी छ।’

केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पनि खड्कालाई उपसभापति दिने समझदारी भइसकेको दाबी गर्छन्। ‘जे समझदारी बनेको छ त्यसमा सभापतिजीले दायाँबायाँ गर्नुहोलाजस्तो लाग्दैन,’ खड्कानिकट उनले भने, ‘पूर्णजी (पूर्णबहादुर खड्का) को महामन्त्रीमा चाहना भए पनि विमलजी (विमलेन्द्र निधि)लाई पनि म्यानेज गरेर जानुपर्ने हुन्छ।’

देउवानिकट केही नेताले भने भ्रष्टाचारमा जेलसजाय भोगिसकेका खड्कालाई उपसभापति मनोनयन गर्दा आफ्नो समूहको मात्र नभएर पार्टीकै छविमा धब्बा लाग्ने भन्दै विकल्प खोज्न सुझाउँदै आएका छन्। खड्काको निकटता कोइराला परिवारसँग रहेको जनाउँदै सभापतिनिकट नेताले उनलाई उपसभापति मनोनीत गर्दा पछि धोका हुन सक्नेतर्फ पनि सचेत गराउँदै आएको एक नेताले बताए।

खड्कालाई सभापति प्रस्तावक राख्दा नै विरोध खेप्नुपरेकाले मधेसी समुदायको पनि प्रतिनिधित्व हुने गरी निधि नै सभापतिको रोजाइमा पर्ने दाबी अर्का एक नेताले गरे। ‘कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठको पनि उपसभापतिमा चाहना नभएको होइन,’ उनले भने, ‘सभापतिले कृष्णप्रसाद सिटौला र श्रेष्ठ (गोपालमान) मध्ये एकलाई संसदीय दल उपनेता बनाएर मिलाउनुहुन्छ।’

महाधिवेशनअघि आफूलाई वरिष्ठ नेता बनाउने समझदारी भएको भन्दै नेता गुरुङ पनि असन्तुष्ट छन्। ‘समझदारीप्रति नेतृत्व जिम्मेवार बन्नुपर्ने हो, त्यो देखिएको छैन,’ उनले भने, ‘केही सल्लाह भएको छैन, म पनि भन्न गएको छैन।’ पाँच केन्द्रीय सदस्यसहित गुरुङलाई वरिष्ठ नेता बनाउने महाधिवेशनअघि समझदारी बनेको उक्त पक्षको दाबी छ।

महामन्त्री पदमा देउवा पक्षकै पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउदसहित नेता आकांक्षी देखिएका छन्। आन्तरिक समीकरण मिलाउनुका साथै पूर्वसहमहामन्त्रीसमेत रहेकाले महामन्त्रीमा खड्काको सम्भावना बढी रहेको स्रोतको दाबी छ। तर, सभापति देउवाको चाहना कार्कीलाई महामन्त्री बनाउने रहेको पनि स्रोतले जनायो।

देउवानिकट केन्द्रीय सदस्य मीन विकले चर्चामा आएका नाममध्यैबाट पदाधिकारी मनोनयन हुने बताउँदै भने, ‘तपाईंहरूले अनुमान गरेकै नाम सहमतिमा आउँछन्।’ उनले वरिष्ठ नेता रामचन्द्र पौडेल देशबाहिर गएका कारण पदाधिकारीसहितका निकाय गठन प्रक्रिया अघि बढ्न नसकेको दाबी गरे। पौडेले अहिले स्वदेश आइसकेकाले सभापतिले आन्तरिक छलफल गरेर छिट्टै पदाधिकारीसहित सबै निकायलाई पूर्णता दिने दाबी गर्दै उनले भने, ‘सभापतिले सहमतिबाटै अब १०/१२ दिनमा केन्द्रीय समिति बोलाएर बैठकमा पदाधिकारीको नाम प्रस्तुत गर्नुहुन्छ।’

सहमहामन्त्री भने पौडेल पक्षबाट बनाउने तयारीमा छन् सभापति देउवा। जसमा आनन्दप्रसाद ढुंगाना, महेश आचार्य, दिलेन्द्रप्रसाद बडूसहितका नेताको नाम चर्चामा छ। आचार्यलाई सहमहामन्त्रीमा प्रस्ताव गर्ने पौडेल पक्षको तयारी भए पनि निर्वाचित महामन्त्री शशांक कोइरालानिकट नेताहरू भने ढुंगाना वा बडूलाई अघि सार्ने योजनामा रहेको स्रोतको दाबी छ।

सभापति देउवा पदाधिकारीका आकांक्षीहरू खाँण, महतसहितका नेतालाई संगठन, प्रचार विभाग र प्रवक्ताको जिम्मेवारी दिने तयारीमा छन्। बाँकी १४ केन्द्रीय सदस्यमा जिपछिरीङ लामा, महालक्ष्मी उपाध्याय, पदमनारायण चौधरी, अशोक कोइरालासहितलाई ल्याउने आन्तरिक तयारी छ।

– नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.