संसदमा गिरिश चन्द्र लालले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग

सभामुख कृष्णबहादुर महराले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् भने मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राजपाको प्रमुख सचेतक लक्ष्मणलाल कर्ण मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गराउन माग गरे।

‘मधेश थरुहटमा ६ महिनासम्म आन्दोलन भयो। करिब ७५ जना मारिए। सयौं घाइते भए। शान्तिपूर्ण आन्दोलन गर्दा मानव अधिकारको अत्याधिक उल्लंघन भयो,’ कर्णले भने, ‘मानव अधिकारको कनभेनसनहरुमा हामी पनि हस्ताक्षर गरेका थियौं र न्यायिक छानविनका लागि माग गर्‍यौ। त्यही आधारमा सरकारले गिरिश चन्द्र लाल नेतृत्वको छानविन समितिले छानविन गर्‍यो।’

२०७३ असोज २ मा गठन भएको आयोगले २०७४ मंसिर २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । लालले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन।

‘प्रधानमन्त्रीले प्राप्त गरेपछि राज्यले प्राप्त गरेको हुन्छ। अहिलेसम्म किन प्रतिवेदन सार्वजनिक भएन?’ कर्णले भने,‘त्यो आयोगले ३२६४ वटा उजुरीको छानविन गरेको छ। त्यो कुरा जनताले थाहा पाउनु पर्‍यो कि दराजमा थन्क्याउने? अहिलेसम्म सार्वजनिक भएको छैन। सरकार किन गम्भीर भएन?’

‘यो देशमा को–को दोषी छ भन्ने कुरा त जनताले जान्नु पर्‍यो। यसप्रति हाम्रो गम्भीर आपत्ति छ। सरकारले संसदमा प्रस्तुत गरेन, सार्वजनिक गरेन भने हामी गम्भीर कदम उठाउन बाध्य हुने छौं।’

सभामुख महराले यस विषयमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published.