आन्दोलनकारीले यसरी घेर्दैछन् सिंहदरवार, दमन गरे गृहयुद्ध निम्तिने चेतावनी

मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ। 

सिंह दरबार घेराउ कार्यक्रमका लागि तराई मधेसका जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता ओसारिएको छ। आन्दोलनकारीहरू अनुसार विभिन्न नाकामा धर्नामा बस्ने जिम्मेवारीहरू छुट्याइएको छ । जसमा सर्वसाधारणको प्रयोगमा आउँने दक्षिणी गेट घेराउ गर्ने नेतृत्व सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लिएका छन्। त्यस्तै संघीय  समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर तर्फबाट सिंहदरबार घेर्ने कार्यक्रम तय गरिएको छ।

दक्षिणी गेटमा  महन्थ ठाकुर नेतृत्वको तमलोपा, महेन्› यादवनेतृत्वको तमसपा नेपाल, शरतसिंह भण्डारीनेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादवनेतृत्वको फोरम गणतान्त्रिकका कार्यकर्ताहरू रहनेछन्। नयां बानेश्वर ३ नम्बर गेटबाट बिजुली बजार हुँदै हनुमानथानसम्म जुलुस र त्यसपछि प्रहरीको घेरा तोडेर दक्षिणी गेटसम्म पुग्ने योजना महतोको रहेको स्रोतले बताएको छ। सरकारले हनुमानथान क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा लिँदै आएको छ।

संघीय गठबन्धनका प्रचार विभागका संयोजक आङ्गकाजी शेर्पाले दिएको जानकारी अनुसार माइतीघर मण्डलाबाट सिंहदरबार घेराउनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्› यादवले गर्ने छन्।  यादवको नेतृत्वमा गठबन्धनमा आवद्ध जनजाति सम्बद्ध दल र संवगनहरू सहभागि हुने शेर्पाले बताए।

यसअघि  पुतली सडक, हनुमानस्थान, माइतीघर मण्डला र भ›कालीबाट चारै तर्फबाट  सिंहदरबार घेराउ गर्ने बताइएपनि शुक्रबार  दुई स्थानबाट घेराउ गर्ने कार्यक्रम तय गरिएको हो।  सोचेजति कार्यकर्ता नआउने आँकलन गर्दे दुईस्थानमात्र रोजिएको स्रोतको भनाइ छ। सरकारले घेराउलाई लिएर कडा सुरक्षा योजना बनाएको गृह श्रोत जनाएको छ।

सिंहदरबार घेराउको कार्यक्रममा दमन गर्न खोजिए गृहयुद्ध निम्तिने चेतावनी यसअघि नै गठबन्धनले दिइसकेको छ। मोर्चाका संयोजक उपेन्द्र यादवले भने, ‘राज्यले आतंक सिर्जना गर्न खोजेको छ। यदि दमन गरेमा गृहयुद्ध निम्तिन सक्छ।’

 ‘आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेको भन्ने पनि सुनेको छु । हाम्रो सेना भनेको जनता हो, त्यसको जवाफ जनताले दिन्छन्,’ यादवले भने।

Leave a Reply

Your email address will not be published.