फुट्यो वैद्य माओवादी, प्रचण्ड-बादल एकता ६ गते

नेकपा क्रान्तिकारी माओवादी फेरि विभाजन भएको छ। पार्टी महासचिव रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले शनिबार छुट्टै बैठक गरेका छन्। अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेर एकता प्रक्रियाबाट भागेको भन्दै बहुमत केन्द्रीय सदस्यले थापाको अध्यक्षमा बैठक गरेका हुन्। बैठकले एकीकृत नेकपा माओवादीसँग एकताको औपचारिक निर्णय गर्दै १२ बुँदे आधारपत्र पारित गरेको केन्द्रीय सदस्य रामदीप आचार्यले बताए। १ सय ९९ सदस्यीय केन्द्रीय समितिमा १ सय ३० जना थापाको पक्षमा रहेको उनले दाबी गरे।

बैठकले कसैलाई कारबाही नगरेको तर थापाको अध्यक्षतामा केन्द्रीय समिति बैठक बसेको नेता देव गुरुङले बताए। ‘बैठकले कसैलाई कारबाही गरेको छैन,’ गुरुङले भने, ‘गतिशील पार्टीले यस्तै बैठक बसेर ठोस निर्णय लिन्छ।’
बैठकमा पार्टी एकीकरणपछि कार्यविभाजन कसरी गर्ने भन्नेबारे पनि छलफल भएको थियो। एकतापछि बहुपदीयमा जाने वा एक पदीयमा जाने भन्नेबारे छलफल भइरहेको आचार्यले बताए। पद बाँडफाँटबारे दुवै पक्षको सहमतिमा निर्णय हुने उनको भनाइ छ।
शनिबार साँझै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले विज्ञप्ति जारी गर्दै क्रान्तिकारी सिद्धान्त र कार्यदिशालाई परित्याग गरेर पार्टी एकताको हल्ला गर्नु नकारात्मक भएको बताएका छन्। उनले यसको पछाडि नकारात्मक पक्ष नै प्रभावी रहेको आरोप लगाए। उनले विशेष अपिल भन्दै जारी गरेको विज्ञप्तिमा फ्रेडरिक एंगेल्सको भनाइ उद्धृत गर्दै एकताको कडा शब्दमा विरोध गरेका छन्। ‘एकता’ को नाराले हामी भ्रममा पर्नुहुँदैन। जुन मानिसहरूका मुखबाट यो शब्द सबैभन्दा बढी सुन्न पाइन्छ, तिनले नै सबैभन्दा बढी फुटका बीज रोपिरहेका छन्,’ २० जुन १८७३ मा फ्रेडरिक एंगेल्सले अगस्त बेबेलको नाममा पठाएको पत्रबाट यो भनाइ सापटी लिँदै एकतामा जान नहुने वैद्यले तर्क गरेका छन्। उनले एकताको नाममा आफ्नो पार्टी फुटाउने अनेकौं कसरत भइरहेको दाबी गरे।

त्यस्तै एकीकृत नेकपा माओवादीबाट छुट्टिएर गठन भएका विभिन्न माओवादी पार्टीबीच जेठ ६ गते एकीकरण हुने भएको छ। झन्डै आधा दर्जन पार्टीले संयुक्त केन्द्रीय समिति बैठक बसी पार्टी एकता घोषणा गर्ने भएका हुन्। पार्टी एकताको विधि र प्रक्रिया तय गर्न पाँच सदस्यीय संयोजन समिति गठन गरिएको छ। समितिमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथै रामबहादुर थापा, मणि थापा, जयपुरी घर्तीमगरका साथै वसन्त घर्तीमगर सदस्य छन्। उक्त समितिले नै पार्टी एकताको सम्पूर्ण कार्यविधि तय गर्नेछ। त्यसका लागि सबै माओवादी पार्टीका नेताले आन्तरिक छलफल तीव्र पारेका छन्।

पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादीले आन्तरिक बैठकलाई तीव्रता दिँदै पार्टीबाट छुट्टिएर गठन भएका माओवादीबीच एकीकरणका लागि राजनीतिक, वैचारिक र सांगठनिक विषयमा छलफल जारी राखेको छ। शनिबार मात्रै एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरको अलग–अलग केन्द्रीय समिति बैठकले एकीकरणका लागि तयार रहेको सन्देश प्रवाह गरेका थिए। एमाओवादी केन्द्रीय समिति बैठकले अन्य माओवादी शक्तिसँग पार्टी एकीकरणको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ भने क्रान्तिकारी पक्षले त्यसका लागि थापालाई जिम्मा दिएको छ। मुख्यतः चार माओवादी पार्टीबीच एकीकरण हँुदा क्रान्तिकारी अध्यक्ष मोहन वैद्य भने सामेल हुने छैनन्।

Leave a Reply

Your email address will not be published.