दाङ देउखुरीमा लागेको आगोले थारु गाउँ सखाप

aaglagi

देउखुरीको गंगापरस्पुर गाविस वडा नम्बर ८ बाँकी र वडा नम्बर ६ खज्रौटा गाउँमा आगलागी हुदा ५७ जना ब्यक्तिको घर–गोठ जलेका छन् । आगोले दुर्इ गाउँका बस्ती सखाप हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । अपरान्ह करिब सवा चार बजेबाट सुरु भएको आगोले बाँकी गाउँको चौधरी बस्ती र खज्रौटा गाउँको यादव बस्ती पूर्णरुपमा जलेर नष्ट भएको छ । हावा हुरीका कारण आगो धेरै फैलिएको र नियन्त्रणमा लिन कठिनाइ परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

आगो लागेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव निरीक्षक देवराज ओलीको नेतृत्वमा २० जना प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । आगो अनिन्त्रितरुपले फैलिँदै गएपछि लमही र सदरमुकाम घोराहीबाट थप सुरक्षाकर्मी र दुईवटा दमकलसहितको टोली पठाइएको थियो । आगो फैैलन नदिन दुई वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थलमा तैनाथ छन् ।

आगो बस्तिमा फैलिएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, स्थानीय विकास अधिकारी रमेश गौतम, दाङका निमित्त प्रहरी प्रमुख प्रकाशराज शर्मालगायतको टोली घटनास्थलमा पुगेको छ ।
बाँकी गाउँको एक व्यक्तिको घरमा विद्युत सट भएर आगो सल्किएको अनुमान गरिएको छ । बाँकी गाउँ सखाप भएपछि आगो नजिकैको खज्रौटा गाउँमा फैलिएको थियो । आगो निभाउन भनेर वरपरका गाउँका बासिन्दा पनि घटनास्थलमा पुगेका थिए तर, आगो निभाउने प्रभावकारी प्रविधि र सामाग्री केहि नभएकाले हेरेर मात्रै बस्नुपर्ने बाध्यता थियो । गंगापरस्पुरको पर्सा गाउँबाट बाँकी पुगेका लब अधिकारी भन्छन्, ‘आगो लागेको थाहा पाएपछि म त्यहाँ पुगें तर आगो यति भिषण थियो कि मैले केहि गर्न सक्ने अबस्था थिएन ।’

स्थानीय अगुवाहरुले दिएको जानकारीअनुसार ५७ जनाको घरगोठ जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीबाट कृष्ण चौधरी, गुरुचरण चौधरी, शिउचरण चौधरी, सुर्वणमान चौधरी, रामदास चौधरी, ज्ञान बहादुर चौधरी, गुरुदिन यादव, भगवानदास यादव, रामसम्पत यादव, सालिकराम यादव, रामलखन यादव, श्यामदास यादव लगायतका घर–गोठ जलेका छन् ।
पीडितहरु खुला आकाशमुनि रात काट्न बाध्य भएका छन् । धनसम्पत्ति नष्ट भएपछि पीडित परिवारमा रुवाबासी चलेको छ ।

अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published.