ज्यानले थाम्नै नसक्ने भारी बोक्नु परेपछि नवलपरासी चोरमाराका रामप्रसाद महतोलाई किन विदेश आएछु भनेर पछुतो लाग्यो। २०५९ सालमा आफैंले चलाउँदै आएको बोर्डिङ स्कुल साथीलाई जिम्मा लगाएर दुबई गएका महतोले सम्झौताअनुसार तलब पाएनन्। त्यति हण्डरले सिकाएको पाठले अहिले उनीसहितका प्रवासी नेपालीको ३ करोडको लगानीमा नवलपरासीको कावासोतीमा सपिङ सेन्टर खुलेको छ। विदेश पुगेपछि तलब नपाए पनि महतो हतास भएर घर फर्किएनन्। बरु नेपालीलाई बचत गर्ने बानी बसाल्नतिर लागे।
पैसा कमाउन अनि जमाउन विदेश गएका नेपालीले प्रतिफल नआउने काममा पैसा खर्च गरिरहेको देखेरपछि उनले थारु समुदायका व्यक्तिलाई समेटेर थारु प्रवासी समूह गठन गरे। त्यसलाई विस्तार गर्ने क्रममा सन् २०१२ मा प्रवासी नेपालीलाई संगठित गराएर ‘आफैं नोकर, आफैं मालिक’ भन्ने नारासहित संस्थाको नामाकरण गरेर नेपाली प्रवासी ग्रुप युएई गठन भयो। त्यतिबेलासम्म महतो सुपरमार्केटमा सेल्सम्यानदेखि सुपरभाइजर भइसकेका थिए।
त्यही अनुभवले उनलाई देशमै केही गर्नुपर्छ भन्ने पनि लाग्यो। उनले आफूसंगै ४ जना साथीलाई पनि नेपाल फर्काएर सुपरमार्केट खोलेका छन्। आन्तरिक सजावट, सीसी क्यामरा, अत्याधुनिक कम्प्युटराइज पिओएस जडित सपिङ सेन्टरको मासिक ७५ हजार भाडा पनि तिरिरहेका छन्। सपिङ सेन्टरको नाम जुरेको छ- प्रवासी सपिङ सेन्टर।
४१ जना प्रवासी र ९ जना स्थानीयको झण्डै ३ करोडको लागतमा सञ्चालनमा आएको प्रवासी सपिङ सेन्टर कावासोतीमा रहेको छ। जहाँ २४ जनाले रोजगारीसमेत पाएका छन्।
दुबईमा रहँदा मासिक ५० दिराम बचाएको पैसाले कोल्ड स्टोर खोल्ने सपना बुनेपनि पछि सपिङ सेन्टरको अवधारणा बनेको प्रवासी सपिङ सेन्टरका प्रबन्ध निर्देशक रामप्रसाद महतोले बताए। नेपाली प्रवासी ग्रुपको अहिले ओमन, कतार, साउदी, ईराक गरी ६ वटा देशमा शाखा विस्तार गरिएको समेत उनले बताए। यो समूहले पनि यसरी नै बचत गरिरहको छ।
एकता नै बल हो भन्ने बुझेका उनीहरुले आफ्ना सदस्यहरुलाई आइपरेका ठूलै आर्थिक संकटहरु पनि टार्दै लगे। आपसी विश्वास र सहकार्यले प्रवासी ग्रुपको आर्थिक तथा सांगठनिक स्थिति दरिलो बन्दै गयो। आफ्ना संस्थापक सदस्यबीच सुखदुःखको साथी बनेको संस्थालाई सल्लाहकार नेत्र थनेतको प्रयासले यूएईको नेपाली समुदायमा चिनाउने काम गर्यो।
महतो भन्छन्, ‘व्यवसाय गर्न विदेश नै धाउनुपर्छ भन्ने छैन। मनमा आँट र इच्छाशक्ति भयो भने सफल भइँदो रहेछ।’ सपिङ्ग सेन्टरमा बालबच्चादेखि युवायुवती, वृद्धा सबैलाई हुने कपडा, जुत्ता चप्पलदेखि खाद्यान्न सामाग्री राखिएको छ।
कोल्ड स्टोर र सपिङ सेन्टर विस्तार गर्ने
प्रवासी सपिङ सेन्टरका प्रवन्ध निर्देशक महतोले समाजिक कामसँगै कोल्ड स्टोर खोल्ने योजना रहेको बताए। स्थानीय उत्पादनलाई स्थानीय बजारमै उपयोग गर्ने कोल्ड स्टोर जरुरी रहेको बताउँदै कावासोतीमै कोल्ड स्टोर बनाउने बताए। ‘कोल्ड स्टोर निर्माणपछि यहाँका फलफूल, तरकारीलगायतका खाद्यन्न सामग्रीहरु स्थानीय बजारमै वितरण गर्न सक्छौं,’ महतोले भने।
उनले प्रवासी सपिङ सेन्टरको विस्तार गर्ने योजना पनि सुनाए। जसअनुसार नवलपरासीको विभिन्न स्थानमा यसको शाखा खोलिने उनले बताए। चोरमारा, दलदलेलगायत चितवनको भरतपुरसम्म पनि शाखा विस्तार गर्न सकिने उनले बताए। यससँगै समाजिक काममा पनि उतिकै सक्रिय रहेको महतोले बताए।
wow it is really inspiereing .
Good job.now i m at banglore for my studies but i had been there its really impressive . Utar utar pragati ko kamana garxu..jai prabasi group
महान कार्य ।
Well done. keep it up.