थारु युवतीहरुले स्वतन्त्रताको पर्व चिरै भजहर वैशाख ६ गते मनाइने

Tharu Girl at Kailali

आवश्यक तयारी पुरा नभएपछि धनगढीमा मनाउने भनिएको चिरै भजहर कार्यक्रमको समय सारिएको छ । आयोजक सखी सञ्जालले विहिबार धनगढीमा पत्रकार सम्मेलन गरी चैत २९ गते हुने भनिएको कार्यक्रम बैशाख ६ गते हुने जनाएको छ । सञ्जालकी अध्यक्ष इन्दु चौधरीले आवश्यक तयारी पुरा नभएकोले समय सारेको स्पष्ट पार्दै चिरै कार्यक्रम जिल्ला विकास समिति कैलालीको प्रांगणमा हुने जानकारी दिइन् ।

उनले थारू समुदायमा चिरै कार्यक्रमलाई नारी स्वतन्त्रताको प्रतीक र रोगव्याधि प्रतिरोधात्मक पर्वको रुपमा मनाउने प्रचलन रहेको बताइन् । अध्यक्ष चौधरीको अनुसार पुरुषहरुको केवल सहयोगी भूमिका रहने चिरै कार्यक्रम गाउँभन्दा पर जंगलको किनार अथवा बगैचामा मनाउने प्रचलन रहदै आएको छ । कार्यक्रम अवधीमा आफ्नै तरिकाले मनोरञ्जन गर्ने खानेकुरा खाने र खुवाइने चलन रहेको पर्व साँझ पख थारू समुदायका गुरुवा (वैद्य)ले पूजापाठ गरी सकेपछि विधिवत रुपमा समापन हने पनि अध्यक्ष चौधरीको भनाई छ ।

चिरै भजहर पर्व विशेष गरेर अविवाहित युवतीहरुले मनाउने चलन छ। यो पर्वलाई थारु युवतीहरुले स्वतन्त्रताको पर्वका रुपमा लिने चलन रहेको बताइन्छ। चिरै भजहरमा युवतीहरुले घरको कामकाज नगरी दिनभरी पर्वमा रमाउने चलन रहेको अध्यक्ष चौधरीले बताइन्।

त्यस्तै, सञ्जालकी सल्लाहकार दुज्जी चौधरीले चिरै भजहर कार्यक्रममा विगतको वर्ष जस्तै यो वर्षमा पनि केहि निश्चित समयको लागि महिलाहरुले परम्परागत पोषाकमा रहि आपसमा हातको साँग्लो बनाई बाटो अवरुद्ध गर्ने र आगन्तुकहरुबाट सक्दो सहयोग रकम संकलन गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । त्यस्तै उनले सांस्कृतिक कार्यक्रम गर्ने, परिकार बनाई खाने र खुवाउँने कार्यक्रम रहेको पनि बताइन् ।

यो पर्वमा थारु जातिको पौराणिक खेलहरु जस्तै छुर, कबड्डी, कुईली दिदी जस्ता खेल खेल्ने, नाचगान गरी रमाउने गरिन्छ। पर्वमा युवतीहरुले सामूहिक रुपमा बाटो छेकेर बटुवाहरुबाट स्वेच्छिक चन्दा लिने चलन पनि रहेको छ। चिरै भजहरमा मिठा–मिठा परिकार समेत खाने चलन रहेको पत्रकार सम्मेलनमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published.