बेलायती राजकुमार ह्यारी बर्दिया जाने

prince-harry-02-800बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका छन्। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन्।

राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले स्वागत अभिवादन गरेका थिए। नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कावा राजदुत तेजबहादुर क्षेत्री र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग (डिएफआइडी) का प्रमुखलगायतले पनि स्वागत गरेका थिए।

राजकुमार ह्यारीले विमानस्थलबाट बाहिर निस्कने क्रममा हात हल्लाएर त्यहाँ उपस्थित सर्वसाधारणलाई अभिवादन गरेका थिए। राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायरलगायत छन्।

नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी पहिलोपटक नेपाल आउनुभएको हो । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेका थिए। युवराज चार्ल्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ । बेलयातसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामा नेपाल पहिलो मुलुक हो ।

 

वर्दियामा वन्यजन्तु र जलयात्राको कार्यक्रम

सोमबार र मङ्गलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा बिताउनेछन्। वन्यजन्तु प्रत्यक्ष रुपमा हेर्न उत्सुक ३२ वर्षीय राजकुमारले बर्दिया राष्ट्रिय वन्यजन्तु निकुञ्ज रहेका वन्यजन्तु खासगरी गैँडा, हात्ती र बाघका बारेमा जानकारी लिनेछन्।

साथै उनले जलयात्राको मज्जासमेत लिनेछन्। विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुर्याउँदै आएको छ। त्यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्छन्।

पदयात्रा, होमस्टे र दृश्यावलोकन

पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन्। उनले भूपू गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी समेत गर्नेछन्। सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ।

 

सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपालबाट बेलायत भ्रमण आदानप्रदानले दुईदेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ । बेलायतले नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुर्याउँदै आएको छ ।

साहस र वीरताका लागि प्रख्यात नेपाली युवाहरु सन् १८१५ देखि बेलायतको गोर्खा ब्रिटिस फौजमा समावेश गरिँदै आएको छ । पहिलो र दोस्रो विश्व युद्धमा ४० हजार गोर्खा सैनिकले ज्यान गुमाएका थिए । गोर्खा सैनिकमा कार्यरत १३ नेपाली विश्व प्रख्यात भिक्टोरीया क्रस पदकबाट विभूषित भइसकेका छन्।

राजकुमार ह्यारीले सन् २००७÷८ मा अफगानास्तिानमा खटिएको गोर्खा सैनिकसँग सहभागी भएर सेवासमेत गर्नुभएको थियो । सो सेवाका क्रममा गोर्खा सैनिकको कामबाट प्रभावित हुनुभएका ह्यारीले ‘गोर्खा सैनिकका बीचमा रहँदाको जस्तो सुरक्षा अन्त कतै नहुने महसुस गरेको’ टिप्पणी गरेका थिए।

Leave a Reply

Your email address will not be published.