देशैभर तमु ल्होछारको रौनक

काठमाडौं- गरुड वर्गको बिदाइ र सर्प वर्गको स्वागतका रुपमा गुरुङको तमु ल्होछार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। तमु ल्होछार मूल समारोह समितिले आइतबार राजधानीको टुँडिखेलमा आयोजित विशेष समारोहको उपराष्ट्रपति परमानन्द झाले उद्‍घाटन गर्दै तमु ल्होसार गुरुङको मात्र नभइ राष्ट्रकै पर्व भएको बताए। उनले राज्यको चरित्र समावेशी तथा संयमी भएको भए आज मुलुकमा समस्या हुने थिएन भन्दै भविष्यमा मुलुकमा कुनै भेद्‍भाव नहुने विश्वास व्यक्त गरे। 
एमाओवादीका उपाध्यक्ष एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले ल्होछार सबै नेपालीको गौरवको विषय भएको उल्लेख गर्दै नयाँ नेपालको निर्माण र जनजातिको अधिकार सुनिश्चित गर्न राष्ट्रिय सहमतिको सरकार गठन भई संविधान सभाको चुनावमा जानाको विकल्प नभएको औंल्याए।
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विभिन्न जातजाति, भाषा र वेशभूषा भएको सुन्दर मुलुक नेपालमा सबै जातजातिको राज्यमा समान पहुँचका लागि लोकतान्न्त्रिक गणतन्त्रात्मक विधिको शासन र कानुनी राज्य स्थापना हुनुपर्ने औंल्याए।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका गुरुङले वेशभूषा, सांस्कृतिक पहिचानसहितको बाजागाजाका साथ नाचगान गर्दै झाँकी तथा र्‍याली आयोजना गरिएको थियो। सो अवसरमा प्राज्ञ तोया गुरुङ, इन्द्रबहादुर गुरुङ र डा जगमान गुरुङलाई अभिनन्दन गरिएको थियो। रासस

राससका तस्बिर हेर्नुस्

बुटवलबाट कमला चौधरीले पठाएको तस्बिर हेर्नुस्

Leave a Reply

Your email address will not be published.