ओलीलाई कालोझण्डा देखाउने विद्यार्थीहरु रिहा

kalo-jhanda-1

भारतको नयाँदिल्लीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने सबै विद्यार्थीहरु आइतबार रिहा भएका छन् । भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा मधेस केन्द्रित दलका विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । उनीहरुलाई पक्राउ गरी तिहाड जेल चलान गरिएको थियो ।

पक्राउ पर्नेहरुमा नेकपा माओवादीका संयोजक मातृका यादवका छोरा सूर्यकिरणसमेत छन् । यादवले आफ्नो छोरोसहित सबै २२ जना विद्यार्थीहरु आइतबार दिउँसो रिहा भएको जानकारी दिए ।

यादवले भने, ‘छोरोसँग मेरो कुरा त भएको छैन तर, कालो झण्डा देखाएको भनेर पक्राउ परेकाहरु छुटे भनेर मेरो मान्छेले खबर गरेको छ ।’

पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै नेकपा माओवादीलगायत मधेस केन्द्रित दलहरुले सप्तरीको राजविराज, धनुषाको जनकपुरमा लगायतका स्थानमा विरोध प्रदर्शन गरेका थिए ।

आइतबार पनि वीरगञ्जस्थित भारतीय कन्सुलर शाखा कार्यालय अगाडि प्रदर्शन गर्ने कार्यक्रम रहेको माओवादी नेता यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.