पुरुष तयार नभएपछि टीकापुरमा मुक्त कमैया हेमा बनिन् बडघर

Hemadevi Chaudhary

एक मुक्त कमैया महिला गाउँको बडघर (अगुवा) बनेकी छन् । टीकापुरको हिंसात्मक घटनापछि थारू समुदाय बडघर बन्न तयार नभइरहेका बेला पहिलोपटक मुक्त कमैया महिलाले गाउँको अगुवाइको मौका पाएकी हुन् । 

भदौ पहिलो साता टीकापुरको हिंसात्मक घटनापछि सुरक्षा निकायले दुस्ख दिन थालेकाले युवा बडघर बन्न पन्छिएका थिए । तर, टीकापुर ८ विजयनगर मुक्त कमैया बस्तीकी हेमादेवी चौधरी गाउँवासीको सहमतिमा बडघर बनेकी छन् । पुरुष बडघर बन्न तयार नभइरहेको अवस्थामा सबैले विश्वास गरेपछि आफू बनेको उनले बताइन् । ‘गाउँ चलाउन कोही न कोही त बडघर बन्नैपर्छ,’ उनले भनिन्, ‘म त्यो जिम्मेवारी पूरा गर्न सक्छु भन्ने लाग्यो । गाउँलेले पनि विश्वास गरे ।’

मुक्त कमैया आन्दोलनमा सक्रिय भएर नेतृत्व गरेको अनुभव आफूसित भएकाले बडघर पद सम्हाल्न सक्ने उनको विश्वास छ । ‘पुरुषले मात्र बडघर बन्नुपर्छ भन्ने छैन, महिलाले पनि त्यो पद सम्हाल्न सक्छन् भन्ने लाग्छ,’ उनले भनिन्, ‘मलाई गाउँलेले विश्वास गरेका छन्, मैले काम गर्न सक्छु ।’ गाउँको निर्णयअनुसार उनले ३ वर्षसम्म बडघर पद सम्हाल्नुपर्ने छ । प्रत्येक माघमा गाउँलेहरू भेला भई वार्षिक समीक्षा हुने छ ।
टीकापुर घटनापछि प्रहरी प्रशासनले गाउँका बडघरलाई अनावश्यक दुस्ख दिएपछि थारू गाउँमा बडघर बन्न कोही पनि नमान्ने अवस्था थियो । बडघर समाज सेवा भएकाले आर्थिक रूपमा केही पनि फाइदा हुँदैन । तर गाउँको सामूहिक जग्गाबाट भएको आम्दानीले मोबाइल रिचार्ज गर्न केही रकम दिने निर्णय भएको हेमाले बताइन् । ‘धेरै ठाउँमा फोन सम्पर्क गर्नुपर्छ, घरबाट कति खर्च गर्न सकिन्छ भनेर गाउँलेले मोबाइल खर्च दिने भनेका हुन्,’ उनले भनिन् ।

प्रत्येक माघीमा थारू गाउँमा बडघर चुन्नुपर्ने भए पनि यो वर्ष भने टीकापुर घटनाका कारण बडघर बन्न चाहनेहरूमा यो पदमा छनोट हुने उत्साह थिएन । प्रहरी प्रशासनले आन्दोलनमा आउन उर्दी गरेको आरोपमा बडघरहरूलाई धरपकड गरेपछि उनीहरू त्रसित बनेका थिए । गाउँमा बडघरको सम्मान गर्ने परम्परा हराउँदै जानु, राजनीतिक दलका नेताले बडघरलाई अधीनमा राख्न खोज्नु, राज्य पक्षबाट बडघर प्रथाको कुनै सम्बोधन नहुनुलगायत विभिन्न कारणले केही वर्षयता थारू गाउँमा नेतृत्व गर्ने बडघर बन्न रूचाउनेको संख्या कम हुँदै गएको छ ।

बडघररमहटावा महासंघ कैलालीका अध्यक्ष विलारू थारूले टीकापुर घटनाका कारण बडघर बन्न डराएको बताए । ‘बडघर नभई थारू गाउँ नचल्ने भएकाले कोही न कोही बन्नैपर्छ । परिवर्तित परिस्थितिमा थारू गाउँमा जेनतेन बडघर छान्ने काम भएको छ,’ उनले भने, ‘गाउँको पूजा, बाटोघाटो बनाउनेलगायत धेरै काम बडघरकै पलहमा हुन्छन् । बडघरको सम्मान र यथोचित व्यवस्थापन सरकारले गर्नुपर्छ ।’
गणेश चौधरी/कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published.