७ नम्बर प्रदेशमा मुख्यमन्त्री र सभामुखमध्ये एकमा थारु अनिवार्य : माधव नेपाल

Madhav Kumar Nepal

एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कैलाली र कञ्चनपुरलाई पहाडबाट अलग्याउन नसकिने बताएका छन्। सात नम्बर प्रदेशमा मुख्यमन्त्री, सभामुखलगायत पदमा अनिवार्य थारू हुनेगरी विशेष अधिकारको व्यवस्था गर्न सकिने उनको भनाइ छ।

९० प्रतिशत जनताको पहाड र तराईमा दोहोरो सम्बन्ध भएकाले यो प्रदेशको सीमांकन हेरफेर गर्न नसकिने उनले बताए। बिहीबार धनगढीमा एमालेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेता नेपालले मुख्यमन्त्री र सभामुखमध्ये एकमा थारू अनिवार्य हुने प्रावधान गरिनुपर्ने बताएका हुन्।

यसैगरी मुख्यमन्त्री र उप मुख्यमन्त्रीमध्ये एक, सभामुख र उपसभामुखमध्ये एकजना थारू हुनेगरी विशेषाधिकार दिन सकिने उनले बताए। ‘सात नम्बर प्रदेशमै विशेषाधिकार दिँदा थारू समुदायलाई बढी फाइदा हुन्छ,’ उनले भने। पाँच नम्बर प्रदेशमा पनि उनीहरूले अधिकार पाउने र सात नम्बर प्रदेशमा पनि पाउने हुँदा दुई प्रदेशमा अधिकार पाइँदा बढी फाइदा हुने उनको भनाइ छ।

कैलाली र कञ्चनपुरका ९० प्रतिशतको पहाडसँग सम्बन्ध जोडिएको छ। १० प्रतिशत जतिको मात्र कर्णालीपारि सम्बन्ध जोडिएको उनले बताए।

कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन जातीय मुद्दा उचालिएको र त्यसको सिकार एमाओवादी भएको उनले बताए। ‘कम्युनिस्टले जातीय होइन, वर्गीय मुद्दा उठाउनुपर्छ,’ उनले भने, ‘जातीय मुद्दा आत्मघाती हुन्छ।’

Leave a Reply

Your email address will not be published.