थारु आचार्य अर्थात् मोहन चौधरी

mohan chaudhary

संस्कृतलाई जातिविशेषको भाषा ठान्नेहरूका लागि मोहन चौधरी (३३) गतिलो जवाफ हुन्। ‘प्राविधिक विषय पढ्ने र जागिर खाने’ २०५४ सालमा एसएलसी पास गरेका कञ्चनपुर, बेलौरी नगरपालिका–१३ शिवनगरका मोहन चौधरीको सपना थियो। सपना पछ्याउँदै महेन्द्रनगर पुगेका उनी प्राविधिक शिक्षा तयारीका क्रममा ‘भाषा कक्षा’ भइरहेको शारदा विद्यापीठमा भर्ना हुनपुगे। त्यो वेला महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गतको विद्यापीठमा निःशुल्क ६ महीने भाषा प्रशिक्षण भइरहेको थियो, जसमा उत्तीर्ण भए मासिक रु.५०० छात्रवृत्तिसँगै निःशुल्क उत्तरमध्यमामा पढ्न पाइन्थ्यो।
“शुरुमा त पढाइ खर्चको लोभमा प्रशिक्षण लिन थालें, केही महीनापछि संस्कृतमै रमाउन थालें” उनी भन्छन्।
थारुको छोरो, संस्कृतप्रतिको रुचि बुबा डम्बर चौधरीलाई कत्ति चित्त बुझेको थिएन। “यो बाहुनको विद्या हो, थारुले पढेर काम लाग्दैन”, उनी भनिरहन्थे। दुईवर्षे उत्तरमध्यमा पढ्दा मोहनलाई पनि संस्कृत असाध्यै अप्ठेरो लाग्यो।
“शुरुमा गुरु पनि गिज्याउँथे, साथीहरू पनि थारु बाहुन बन्न खोज्यो भन्दै जिस्क्याउँथे”, उनी सम्झिन्छन्, “गाउँले पनि ‘बाहुन, बाहुन’ भन्दै हैरान पार्थे।”
तर, शास्त्रीदेखि भने उनलाई संस्कृत सजिलो हुँदै गयो। शारदा विद्यापीठबाटै २०६४ मा शास्त्री उत्तीर्ण गरेपछि आचार्य पढ्न मोहन दाङको बेलझुण्डीस्थित महेन्द्र संस्कृत विश्वविद्यालय हान्निए। दुई वर्षको आचार्य पढाइ नगरुञ्जेलसम्म मोहनलाई पनि थाहा थिएन, आचार्य गर्ने उनी एक्ला थारु रहेछन्।
आचार्यलगत्तै आफू पढेकै शारदा विद्यापीठमा अध्यापन गराउन थालेका उनी गत वर्षदेखि स्थायी उपप्राध्यापकमा बढुवा भएका छन्। ‘बाहुन विद्या’ मा थारुले गरेको विशेषज्ञताले परिवार यतिवेला प्रशन्न छन्। पहिले मूर्ख भन्ने गाउँले अहिले चलाख थारु भन्न थालेका छन्। शिक्षक र विद्यार्थी दुवैका प्रिय गुरु बनेका छन्।
स्वयं मोहनका लागि भने संस्कृत जागिर मात्र होइन, आत्मविश्वासको स्रोत पनि हो। उनी संस्कृत भाषालाई ज्ञानको खानी ठान्छन्। “विद्या र काम कसैको पेवा नहुने रहेछ”, उनी भन्छन्, “मन पछ्याउँदै जाने हो भने असम्भव केही रहेनछ।”
बच्चु विक

Leave a Reply

Your email address will not be published.