सामूहिक बलात्कारपछि किशोरीको हत्या

Rape-Pencil-Sketch

रुकुममा सामूहिक बलात्कारपछि एक किशोरीको हत्या भएको छ । जङ्गलमा दाउरा लिन गएको बेला खोलागाउँ गाविस–५ सर्केनाकी १६ वर्षीया सुस्मिता शाहको सामूहिक बलात्कारपछि मङ्गलबार हत्या भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी सुस्मिता राति अबेरसम्म पनि घरमा नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो । सोमवार साँझ ४ बजे दाउरा लिन गएकी उनलाई मङ्गलबार मात्र रुखमा झुन्डिरहेको अवस्थामा परिवारका सदस्यले भेटृाएका थिए ।

जिल्ला अस्पताल जाजरकोटमा शव परीक्षणका लागि ल्याइएकी मृतक शाहको सामूहिक बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल जाजरकोटका डा दीपक पुनले बताए । डा पुनले मृतक शाहलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको अवस्था देखिएको बताए ।

मृतकलाई केही दिनअघि नचिनेको नम्बरबाट केही केटाले फोन गरेर धम्की दिने गरेको र उनीहरुले नै उनको हत्या गरेको हुनुपर्ने खोलागाउँकै स्थानीय निर्मल शाह बताउँछन् । हिमालय उच्च मावि खोलागाउँमा ११ कक्षामा अध्ययनरत शाहको हत्यापछि गाउँ नै शोकमा डुबेको उनले सुनाए ।

प्रहरीले घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए । हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाय गर्नुपर्ने पीडित परिवार र स्थानीयले माग गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published.