थारु महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान पक्राऊ

कपिलवस्तुको शिवराज नगरपालिका-१० की एक महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज वस्ती पक्राउ परेका छन् । आइतवार राति करिब ८ बजे थारु सामुदायकी एक बोल्न नसक्ने महिलालाई जबरजस्ती गरेको आरोप वस्तीमाथि लागेको छ ।

बैतडीको बिसनपुर-६ घर भई हाल कन्चनपुर झलारी नगरपालिका-३ मा बस्दै आएका वस्तीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अबरुद्ध पारेका थिए । बिहान साढे ११ बजेदेखि आधा घण्टासम्म स्थानीयले सडक अबरुद्ध गरेपछि सशस्त्र प्रहरी बल विन्ध्यावासीनी गणले जवान वस्तीलाई वडा प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाएको हो ।

ती महिला आइतवार दिउँसो चन्द्रौटास्थित विन्ध्यवासीनी गणको पश्चिमतिर भैंसी चराउन गएका बेला सशस्त्रका जवानहरुले समातेर हातखुट्टा बाँधेर झाडीमा फालेको र अँध्यारो भएपछि बलात्कार गरेको स्थानीयको भनाइ छ ।

‘भैंसी चराउन गएकी बोल्न नसक्ने अवोध महिलालाई हात खुट्टा बाँधेर झाडीमा फाले र साँझ परेपछि सशस्त्र प्रहरीका जवानहरुले पालैपालो बलात्कार गरे,’ स्थानीय रामप्रसाद बेलबासेले भने ।

घटनास्थलमा सशस्त्र प्रहरी गेम ड्रेस एक जोर, चप्पल, फुटेका चुरा र साबुन फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा सशस्त्र प्रहरीले नै बलात्कार गरेको भन्दै स्थानीयले सडक बन्द गराएका थिए ।

पीडित महिलालाई आइतवार राति नै स्वास्थ्य परीक्षण गराउन शिवराज अस्पताल बहादुरगन्जमा पठाइएको थियो  । सोमबार विहान पनि उनको अवस्था सामान्य नभएको भन्दै चन्द्रौटास्थित सन्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका गणपती हृदय नारायण मण्डलले आरोपीलाई प्रहरी समक्ष बुझाइएको भन्दै समाजमा नराम्रो कार्य गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.