सह अस्तित्वको खोजी

थारु, मधेसी, दलित र जनजातीहरुले कसै भन्दा माथीको अधिकार पनि मागेका छैनन्। उनीहरु त यस देशको नागरिक भएकाले अरु नागरिकसरह सह अस्तित्वको खोजी गरिरहेका छन्।

Ramdas Chaudharyराम दास चौधरी

सामान्यतया नेपाली भाषामा बोलचाल गर्दा आफु भन्दा ठुलालाई आदर र सम्मान गरेर वोलीने चलन छ र बोल्दा तपाई, हजुर वा अन्य आदर र सम्मानजनक शब्दको प्रयोग गरिन्छ। आफू बराबरसंग पनि त्यही सम्मानित शब्दले सम्वोधन गरिन्छ।

आफ्नो छोरा छेारीबाहेक अतिनै नजिकको साथी हो भने वा सानै देखिको साथी हो भने तिमी वा तँ समेत भनेर सम्वोधन गरिन्छ। त्यसै गरी आफु भन्दा सानालाई तिमी वा तँ भनि सम्वोधन गरिनुलाई नेपाली भाषामा बोलचालकै रुपमा लिइन्छ र बोलिन्छ पनि। तर थारु, मधेसी वा दलितलाई ठुला जात भनाउदा हरुले र खास गरी पहाडीहरुले उमेरले पाको होस वा बुद्धि र बिवेक ले परिपक्क होस उनिहरु लाई समेत तं र तिमी भनि नै सम्वोधन गर्छन्।

उमेरले पाकाहरुले त्यसरी वोलाउदा तँ केहीहद सम्म मान्य हुन सक्छ तर बाहुन, क्षेत्री वा पहाडीयाहरुको सानो बच्चाले एक जना थारु वा मधेसी वा दलित वृद्धालाई सम्वोधन गर्ने बोलचाल गर्दा खेरी उसले बोलाउने भाषा तँ नै भनेर बोल्छन। सामान्य तया जसले अरुलाई सम्मान गरेर बोल्छ उसले पनि सम्मान जनक शब्दलेनै पुकारिन्छ तर यहाँ त्यसो भएको छैन। थारु, मधेसी, दलितले सम्मान गरेर बोलेको बदलामा उसले अपमान जनक उपमा पाउने गर्छ। धेरै ठाउँमा मैले थारु, दलित र मधेसी समुदायले सम्मान गरेर बोले वाफत उसले तिरस्कार पूर्ण शब्द र बोलिले रोपिएको र हेपिएको पाएको छु। यसो भनिरहँदा यो पंक्तिकार पनि सोही अपमानको सिकार नभएको भने होइन। आखिर थारु, मधेसी र दलितहरुलाई एक समान्य पहाडी, बाहुन र क्षेत्रीले कसरी हिम्मत गर्छ कि उनीहरुलाई तँ र तिम भनेर हेपेर बोलाउन? ऊ बाहुन वा क्षेत्री वा पहाडी भएकै कारणले थारु, मधेसी वा दलितलाई तँ भन्न कसरी सके होला? उसलाई अलिकति पनि लाज लाग्दैन त? आफू भन्दा ठूलालाई तँ र तिमी भनेर सम्वोधन गर्दा? हुनत यस्तो ब्यबहारमा क्रमीक सूधार हुंदैगएको छ तर आम रुपमा हुन सकेको भने छैन।

एक जना बाहुन क्षेत्री वा पहाडी समुदायको सामान्य युवा वा वालक भन्दा थारु, मेधेसी वा दलित वृद्ध अवश्य पनि क्षमता वान हुन्छन्, अनुभवले, बलले, बुद्धिले वा सीपले। यदि सीप, अनुभव , वुद्धि वा क्षमतालाई सम्मान गर्ने हो भने पनि एकजना पहाडी मुलको युवा वा बालकभन्दा, एक वयस्क थारु, दलित वा मधेसी अवश्य पनि बढी नै हुन्छ। उसले आफ्नो जीवनमा जीवनउपयोगी शिप सबै सिकेको हुन्छ। एक जना थारुकै कुरा गर्ने हो भने उसले, खेतीपाती गर्न, उत्पादन गर्ने उत्पादनको साधन बनाउने, हलो जुवा बनाउनेदेखि उसको जीवनमा आवश्यक धेरै जस्तो सामाग्री बनाउने सिप सिकेको हुन्छ भने दलितहरुमा पनि उसले आफ्नो जात र थर अनुसारको सिप सिकेको हुन्छ।

त्यसैगरी मधेसी समुदायको एक वयस्कले पनि आफ्नो जीवनउपयोगी शिप सिकेको हुन्छ। बाहुनले पूजा पाठ गर्न र कर्मकाण्ड गर्न सिकेको हुन सक्छ। त्यसोभन्दा बरु त बाहुन वा क्षेत्रीसँग उत्पादन गर्ने र बनाउने जीवनोपयोगी सिप हुँदैनभन्दा अतीशयोक्ति नहोला। कर्मकाण्ड गर्न जानेको होला। आखिर उसले कर्मकाण्ड गर्न जानेकै कारणले थारु वा मधेसी वा दलितले उसलाई सम्मान गरेर बोलाउने त अवश्य होइन होला। खास भन्ने हो भने त एक जना थारुलाई आफ्नो जीवनमा चाहिने सबै कुरा व्यवस्था गर्नसक्ने सिप र क्षमता हुन्छ। अहिले आएर पढाई वा अन्य नयाँ प्रविधिले उसलाई अज्ञानी वा निरक्षर बनाएको होला। तर उसलाई अवश्यक पर्ने सम्पूर्ण जीवनोपयोगी सिप उससँग छ। यति हुँदाहुँदै पनि ऊ किन पहाडी युवा वा बालक वा वयस्कसँग हेपिन्छ त? किन उसलाई हेपेर बोलिन्छ त? हो काम गर्ने मान्छेको शरीर फोहोर हुन्छ। पसिना गनाउन सक्छ, लुगा गनाउन सक्छ। तर अझै जो युवा वा समुदाय जसले काम गर्दैन वा शारीरिक कामबाहेक मानसिक काम गर्छ उसको जस्तो सफा लुगा नहुन सक्छ। के ऊ काम गरेकै कारणले हेपिन्छ त? वा काम गर्नेहरु अपशब्दको सिकार हुनुपर्छ त? के काम गर्ने को, पसिना बगाउनेको इज्जत हुँदैन? किन होला सबै काम गर्नेहरु, सिप भएकाहरु, पसिना बगाउनेहरु, उत्पादन गर्ने र देश दुनियालाई खाद्यान्नको व्यवस्थापन गर्नेहरु हाम्रो देशमा अपशब्दले सिंगारीन्छन्? के उनीहरुको राज्य सत्तामा पहुँच नभएर हो? वा उनीहरुको नीति निर्माणमा पहुँच नभएर हो? वा उनीहरुको आफ्नो राज्य नभएकाले हो? उनीहरुलाई सम्मान गरी सम्बोधन गर्दा ठूला जात भनाउँदाहरुको सम्मानमा आँच आउँछ? यी प्रश्नको उत्तर खोज्दै जाँदा धेरैले धेरै अर्थ लगाउँछन्। मैले जिज्ञासा राखेकोमध्ये धेरैले नेपाल सदियौंदेखि सामन्ती संस्कार हाबी रहेको र नेपालमा शोषक तथा सामन्तीहरुले सदीयौंदेखि शासन सत्ता सन्चालन गरेकाले सामन्ती संस्कार रहिआएको भन्छन्। राज्य सत्तामा केन्द्रीयदेखि स्थानीय सरकारमा समेत शोषक र सामन्तहरुको वर्चस्व र हालीमूहाली भएकाले सोही संस्कारको निरन्तरता अहिलेसम्म थारु, मधेसी र दलितहरु हेपिएको वा चेपिएको अर्थ लगाएका छन्।

एकथरी जानकारहरुको विचारमा शोसक जाति र शासित जातिबीचको दूरी वा खाडलको रुपमा अर्थ्याएका छन्। किनभने नेपाल सदियौ देखि पहाडी खस बाहुन तथा क्षेत्रीहरुद्धारा शाषित छ जहाँ थारु तथा मधेसी वा दलितहरु त सदीयौ देखि शोषित नै छन् सासित नै छन्। थारु, मधेसी तथा दलितहरुले नेपालमा कहिले पनि शासन गरेका छैनन्। त्यसैले पनि बोली भाषामा समेत शासक र शोषितबीच बोलिने भाषामा पनि प्रतिविम्वित भएको जानकारहरुको अभिब्यक्ति छ।

अर्काथरी जानकारहरुको अनुसार थारु मधेसी वा दलितहरुको आफ्नो राज्य नभएकोले यस्तो हून आएको भन्छन। उनिहरुको रास्ट्र छ राज्य छैन त्यसैले राज्य हुनेले राज्य नहुनेहरुलाई हेप्न सकेका हून र सदीयौ देखि थारु तथा मधेसीहरु हेपीदै आएका हुन भन्ने अर्थ्याउछन्। त्यसैले उनिहरुले थप तथ्य प्रस्तुत गरे की धेरै प्रमाण हरु छन की कुनै पनि किचलो पर्दा, थारु वा मधेसी वा दलितहरुले मुद्धा हार्छन् र पहाडी मुलको मान्छेले मुद्दा जित्छन किन की राज्य उनिहरुको हो। पुलिस र प्रशासन उनिहरुको छ र उनिहरुकै दाजू भाई वा नातेदार नै राज्यको सम्पुर्ण अंगमा छन्। त्यसैले पनि मुद्धा पहाडी मुलकाले नै जित्छन र न्याय उनीहरुको पक्षमा हुन्छ। धेरै उदाहरण छन्, झगडा हुँदा कुटाई, पिटाइ पनि खाने, छती पनि वेहोर्ने र उल्तै सजाय पनि ब्यहोर्नु त तराईका थारुहरुको नियतीनै भएको छ। दण्ड र जरिवाना र जेल सजाय पनि थारु तथा मधिसेहरुले नै पाएका छन। त्यसैले थारु, मधेसी र दलीहरु अन्याय सहेर बस्छन बरु अद्धा वा अदालत जाँदैनन। त्यसैले खस आर्य वा पहाडी मुलकाहरु ठुला भए र बाँकी थारु, मघेसी तथा दलीत र जनजातीहरु साना भए। कार्यालयको काम कै सिल शिलामा पहाडी मूलकाहरु कार्यालयमा जाँडाको व्यवहार र थारु वा मधेसी लाई गरिने व्यवहारले पनि शासक र शासीतको विचमा फरक प्रस्ट संग देखिन्छ। त्यसैले मधेसी, थारु र आदिवासी जनजातिले आरक्षण र संरक्षण भन्दा राज्यको माग गरेका होलान्। स्वायत्त राज्यमा आफ्नो पहुँच बढाउन सकिन्छ भन्ने आशा हुनु स्वभाविकै मान्न सकिन्छ।

अर्का थरी जानकारहरुले भन्छन् सदीयौ देखि शासन गर्दै आएकाले उनीहरुलाई हेप्न र दमन गर्न सकेका हुन्। शोषन र दमन सहनु सदीयौ देखिको नियती भएकाले पनि होला थारु, मधेसी र दलीतहरुले यो शब्द हेपाई वा दमन पचाएर बसेका र त्यसको प्रतिवाद नगरेका होलान्। आफुलाई सानो सम्भि्कने र जहिले पनि आफ्नो गल्ती नभए पनि स्वीकार्ने वा तलपर्ने त यी दमितहरुको बानी नै परेको हुन्छ। अन्याय, अत्याचार को कानुनि उपचार खोज्ने र त्यसको प्रतीकार गर्ने त परै जाओस्।

जसले जती सुकै जे भने पनि संसारमा कही पनि सम्मानको बदलामा अपमान गरीदैन र मानको बदलामा मान नै पाउछन र गरीन्छ। तर यहां त्यसो हुन सकेको छैन। संविधान त बनि सक्यो के यो संविधानले यी स्वाभिमानि थारु , मधेसी वा दलितहरुलाई उनीहरुको स्वाभिमान र सिर ठाडो गरेर बाँच्ने ग्यारेन्टी गर्न सक्छ? र उनिहरुको आत्म सम्मानको ग्यारेन्टी गर्न सक्छ? भन्न गार्‍हो छ किन की यो पनि स्मरण रहोस नेपालको कुनै पनि सम्विधानमा कुनै पनि जात र धर्म वर्ण र लींगको आधारमा कसै लाई भेदभाव गर्न नपाईने नै उल्लेखीत थियो र छ तर कहां त्यसो भयो?

जव सम्म एक नेपाली ले आफ्नै देशमा सम्मान पुर्वक बाँच्न पाउदैन तव सम्म त्यो देशमा शान्ती हुँदैन। जव सम्म एक नेपालीले अर्को नेपालीको सम्मान गर्दैन र सम्मान गर्न सक्दैन तव सम्म देशमा द्धण्द चलिरहन्छ, द्धण्दको प्रकृती मात्र फरक हुन सक्छ। यसो भनि रहंदा धेरै थारु अगुवाहरुले भनेको र वेला वेलामा प्रस्तूत गरेकोे वाक्य उजागर गर्न उपयुक्त देखीन्छ। उनिहरुले धेरै पटक भनेका छन्, थारुहरु मिलेर बसेका होइनौ सहेर बसेका छौं। किन यो वाक्य प्रयोग गरे होलन त थारुहरुले? यसो भन्नूको पछाडी धेरै गहीरो अर्थ रहेको छ। यसको अर्थ खोज्दै जांदा यस्ता धेरै घटनाहरु छन् जो थारुहरु माथी शोषण दमन गरीएको छ। जहां राज्य सत्ताको आडमा उनीहरु माथी घोडा चढी उनीहरुलाइनै कज्याइदै आएको कुरा सर्व बिदितै छ। थारुहरुलाई त अन्याय सहनू, गल्ती नभए पनि कानुन बमोजिम दण्डीत हुनु, जरिवाना तिर्नु र सजायको भागी हुनु त यस देशमा भाग्यमा लेखीए कै छ वा विधाताले लेखेरै पठाएको छ जस्तो मान्ने परम्परा वनीसकेको ले थारुहरुलाई सबै अन्याय अत्याचार र शोषण दमन को कुनै महसुस नै हुदैन। वरु त उनीहरुलाई सम्मान गरेमा, मुद्दा जितेमा, सजाय खस आर्यले वा पहाडीले पाएमा उनीहरुलाई आश्चर्य लाग्न सक्छ।

थारु, मधेसी, दलित र जनजातीहरुले कसै भन्दा माथीको अधिकार पनि मागेका छैनन्। उनीहरु त यस देश को नागरिक भएकाले अरु नागरिकसरह सह अस्तित्वको खोजी गरिरहेका छन्। सह अस्तित्व भनेको एउटै धरातलमा उभिएर सबैको वरावरीको हक तथा अधिकार हो, न की कसै माथी बुंइ चढेर उसलाई कज्याउने होस् र उस लाई अधिकार वाट बन्चित गरोस। त्यसैले यी विभिन्न कारण, प्रमाण र तथ्य हरुले गर्दा थारु, मधेसी, दलित र मुस्लीमहरुले यस देशमा आफ्नो सहअस्तित्वको खोजको लडाई लड्दै छन्, त्यो भन्दा बधी केही पनि होइन। गणतान्त्रिक नेपालको परिकल्पना पनि त्यही नै होला। जहाँ कानुनी राज्य होस, कानुन सबैका लागि वरावर होस् र सबैले ससम्मान बाँच्न पाउन तथा आफ्नो विकास तथा निर्माण गर्न पाउन। नया संविधानले त्यसको ग्यारेन्टी गरोस्।

Leave a Reply

Your email address will not be published.