उल्लासमय थारु माघी

Maghi Rally

लक्की चौधरी। ‘सखिये हो! माघीक् पिबी गुरी जाँर …’ अधिकांशको मुखारबृन्दमा झुण्डिएको यो थारु गीतको एक हरफले माघीको रमाइलो अर्थ्याउँछ। एकाअपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारुको महापर्व र नयाँवर्ष हो। नयाँ नीति नियम बनाउने, कार्यान्वयनको प्रतिवद्धता गर्ने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीले वर्षभरिको कामको समिक्षा गर्दछ। एकवर्षे अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए। वार्षिक योजना सफल भए कि भएनन्? सफल र असफल कतिमात्रामा भए? यावत कुराको लेखाजोखा गहन तरिकाले पर्वमा गर्ने हुनाले यो नर्यावर्षमा दरियो। जिम्मेवारी पाउनेले जिम्मेवारी निभाउन सक्यो कि सकेन? गम्भीर समिक्षा हुन्छ।

थारुको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी विकासेपर्व हो। यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास गर्छ। पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई मायागर्ने भावनाको उत्सर्जन गर्दछ। वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिने काम हुन्छ। विवाहगरी पराईघरमा गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिनेकाम हुन्छ। चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्छन् र बुवा–आमासँग सुख–दुःखका कुराहरु साटासाट गर्ने अवसर पाउँछन्। वर्षभरि गरिएको मेहनत र प्रगतिबारे एकापसमा जानकारी लिने र समस्याका कुरा अरुसँग साटेर मन हलुङ्गो पार्ने अवसर माघीले जुराउँछ।

थारु माघीले वर्षभरिको कामको समिक्षा गरेजस्तै संविधानसभाले आफ्नो एकवर्षे समिक्षा गर्नेबेला पुनः शुरुभएको छ। विगत सातवर्षदेखि नेता तथा सभासदहरु देशलाई नयाँ संविधान दिने कसम खाएर संविधानसभामार्फत् प्रयासरत छन्। संविधानसभाको गठन गरी त्यसैमार्फत् देशलाई मूल कानून दिनेभनेर लागिपरे। तर अहिलेसम्म उपलब्धी हातलागे शुन्य छ। थारुहरु माघीमा गम्भीर समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्छन्। असक्षमलाई मिल्काएर सक्षमलाई उभ्याउँछन्। २०६४ चैत २८ गते निर्वाचन भई पहिलो संविधानसभा गठन भएको थियो। तर पहिलो संविधानसभाले संविधान दिन नसकेर ०६९ जेठ १४ मा सभाको दुःखद् अवसान भयो। पुनः २०७० मंसिर ४ गते अर्को संविधानसभाको निर्वाचन भयो। दुर्भाग्य! विगतकै असक्षम अधिकांश प्रतिनिधि नै सक्षमको नयाँ पगडी लगाएर संविधानसभामा देखिए। यसले जनतामा एक किसिमको आशासँगै ठूलो निराशा दियो। असक्षमको पगडी बाँधेकाहरुले नै सक्षम बनेर नयाँ संविधान दिन्छन् कि भन्ने आशामा जनता बाँचिरहेका छन्। तर उनीहरुको निराशाको घाउ पुरिने संकेत अझै देखिएको छैन।

maghi

बरघर-सभामुख

थारु समुदायले गाउँको नेतृत्व गर्ने बरघर (मूल नेतृत्व) माघीमै छनौट गर्छ। संविधानसभाले आफ्नो बरघरकोरुपमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्लाई २०७० फागुन ६ गते नै सर्वसम्मतिले चुन्यो। बरघर गाउँको मूल नेतृत्वकर्ता हुन्छ। गाउँको नीति नियम, प्रथा परम्परा सबै उसकै मातहतमा बन्छन् र कार्यान्वयनमा जान्छन्। तर यी सबैकाम बरघरको नेतृत्वमा गाउँलेहरु सामुहिक सहमतिमै निर्क्यौल गर्छन्। बरघरको प्रस्तावमाथि गम्भीर छलफल भएर सबै निर्णयहरु सर्वसम्मत हुन्छन्। कसैलाई चित्तनबुझेको कुरा भन्न छुटहुन्छ तर तर्कसहित सहमत पारिन्छ। गाउँको नीतिनियम बेलायतको संविधानजस्तै अलिखित् नै हुन्छन्। बरघरको प्रतिवद्धता नीति नियमभन्दा कडा हुन्छ। बरघरलाई सहयोग गर्ने अन्य जिम्मेवारीका सहायक नेतृत्वकर्ता पनि हुन्छन्। उनीहरु बरघरकै सहयोगमा तल्लिन हुन्छन्। सामुहिक छलफलबाट जे निर्णय हुन्छ, कार्यान्वयन पनि त्यहीअनुरुपले हुन्छ। यही बरघरको नेतृत्व र गाउँको सामुहिक प्रयासको सफलता हो।

संविधानसभाका अध्यक्षको भूमिका पनि दुरुस्त बरघरकैजस्तो छ। बरघर सबै हिसावले सर्वसम्पन्न भएजस्तै संविधानसभाका अध्यक्ष पनि सभामा सर्वेसर्वा छन्। संविधानसभाको व्याख्या गर्ने, बाधा अड्काउ फुकाउ गर्ने, नयाँ धारा थप, खारेजी र निलम्बन गर्नेसम्मको प्रस्ताव लैजानसक्ने हैसियत उहाँलाई छ। तर उहाँले पनि दलीय परामर्श लिनुपर्ने हुन्छ। जस्तैः बरघरले गाउँका सदस्यहरुको परामर्शमा अघि बढ्छ, ठीक त्यसैगरी सभामुखले दलीय परामर्श लिनु अनिवार्य व्यवस्था छ। अन्तिममा निर्णायक भूमिका खेल्ने जिम्मेवारी सभामुखलाई नै छ। बरघरले नीति नियम, नयाँ कामको प्रस्ताव गरेजस्तै सभामुखलाई पनि संविधान निर्माणका विषयमा नयाँ प्रस्ताव गर्नसक्ने हैसियत प्राप्त छ। मात्र उहाँले बरघरको भूमिका निर्वाह गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने मात्रै हो। गत संविधानसभामा बरघरको भूमिका निर्वाह गर्न नसक्दा सभा नै अवसान भयो भन्ने व्यापक टिप्पणी भयो। तर त्यसको अवसानमा सभामुखको मात्रै दोस थिएन। सभाका सदस्य तथा दलका नेताहरु त्यतिकै दोसी थिए। सामुहिक छलफलको अभावमै त्यसको अवसान भएको थियो।

अहिले फेरि मुलुक त्यही विन्दुमा आइपुगेको छ। माघ ८ मै संविधान दिने कि सभालाई पुनः विघटन गर्ने कठिन परिस्थितिको सृजना भएको छ। उसो त नेताहरु चलाख छन्। आफ्नो जागीर सुनिश्चित् गर्न चारवर्षे कार्यकाल संविधानसभाको बनाएका छन्। यस्तोबेलामा सभामुखले आफूलाई सक्षम बरघरको नेतृत्वमा उभ्याउन सक्नुपर्छ। त्यसो गर्न नसके अर्को पल्टलाई बरघर छनौट हुने अवसरबाट सदाकालागि बन्चित भइने चुनौति उहाँमाथि छ। देशलाई यो संकटबाट बचाउन सक्नुभयो भने सभामुख सफल नेतृत्वकर्तामा दरिनुहुन्छ। असफल भएमा राजनीतिमै उहाँको प्रश्नचिन्ह लाग्ने खतरा छ। त्यसकालागि सभामुखले आवश्यक परे बरघरकै सहायता लिनु परेपनि पछि हट्नु हुन्न।

maghi_kailali

नेतृत्व छनौट

माघीपर्व यस अर्थले पनि महत्वपूर्ण छ कि माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा वर्षभरिको गलत कामको दोस पखालिन्छ भन्ने गहिरो जनविश्वास छ। त्यो दिन सशुल्क स्नान गरिन्छ। जलदेवतालाई पैसा चढाएरमात्र नुहाइन्छ। कामको सिलसिलामा घरबाहिर गएकाहरु माघीमा अनुकुलता मिलाएर घर फर्कन्छन्। मिलनको अवसर जुराउने यस पर्वले गाउँमा नयाँ नेतृत्वको छनौट गर्दछ। थारु गाउँमा भलमन्सा (बरघर) चुन्ने प्रचलन हुन्छ। त्यही बरघर (गाउँको अगुवा) ले गाउँको नेतृत्व गर्दै गाउँको सुखदु, विकास निर्माणमा नेतृत्व गर्छ। त्यसको मातहतमा अन्य जिम्मेवारी लिने सहायक अगुवा पनि हुने गर्छन्। गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने निर्क्यौल हुन्छ। गाउँको नेतृत्वकर्ता (बरघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको कामगर्ने (चौकीदार) को नयाँ व्यवस्था गरिन्छ। उनीहरुको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ। वर्षभरिको घरको नाफानोक्सानको समिक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एकवर्षका लागि नियुक्त गर्ने, नभए अर्को व्यवस्था हुन्छ। घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको बरघरले। गाउँको नीतिनियम बनाउने र त्यसको कार्यान्वयन गराउने जिम्मेवारी गाउँभरिका सदस्यहरु सामुहिक छलफल गरेर बरघरलगायतका पदाधिकारीलाई सुम्पने गर्दछन्। बर्षभरिको कामको जिम्मा लिएको बरघरले काम चित्तबुझ्दो नगरे छलफलबाट उसलाई बीचैमा लोकतान्त्रिक प्रक्रियाले हटाउन सकिन्छ। गाउँको साझा नीतिनियम बमोजिम पदाधिकारीले काम गर्नुपर्ने हुन्छ। त्यसो हुननसके गाउँको व्यवस्थापन र अनुशासन खलबलिनसक्छ। यसप्रति सबै चनाखो हुन्छन्। माघीदेखि थारुहरुको नयाँ खाताको सुरुवात हुन्छ। तिर्नुपर्ने ऋणहरु चुक्तागर्ने र नयाँ कामको प्रारम्भ गर्छन्। कुलोपानीको उचित व्यवस्थापनको प्रबन्ध मिलाइन्छ। थारुहरु बरघर छनौटगर्दा गाउँको सक्षम व्यक्तिको चयन गर्दछन्। पुरुष या महिला जो नेतृत्वका लागि सक्षम हुन्छ त्यही नै बरघरको जिम्मेवारी सम्हाल्ने मौकापाउँछ। थारु गाउँमा महिलाहरु बरघर हुने प्रचलन उहिलेदेखिको हो। तर संख्यात्मकरुपमा महिला बरघर भएको निकै कम उदाहरण भेटिन्छ।

maghi-3

जीतामार्ने चलन

माघेसंक्रान्ति मकरसंक्रान्तिसँगै पर्नेहुनाले त्यसदिन अशुभकाम गरिदैन। थारुहरु पुसको अन्तिम दिन नै मासुका लागि सुंगुर–बंगुर काट्ने गर्छन्। जसलाई थारु भाषामा ‘जीतामार्ने’ भनिन्छ। मासुको लागि जीता भरसक गाउँबाटै खोज्ने गरिन्छ। त्यो सम्भव नभए अन्य गाउँठाउँमा गएर पनि सुंगुर–बंगुर खरिदगर्ने चलन छ। गाउँको भलमन्साको घरमा सामुहिक जम्मा भई मासुकाटेर भाग लगाई वितरण गरिन्छ। मासु खानपाइने हुनाले सो दिन गाउँघरका केटाकेटीहरु निकै फुरुङ्ग हुनेगर्छन्। माघेसंक्रान्तिका दिन गेडागुडीका विशुद्ध चोखो चिजबस्तुहरु घरमा बनाईन्छ। चेलीबेटीलाई माइतमा बोलाई मीठोमसिनो खान दिइन्छ।

चेलीबेटीलाई उपहार

यस पर्वमा थारुहरु आफ्ना चेलीबेटीलाई गच्छअनुसार उपहार टक्र्याउँछन्। चेलीबेटीका लागि उपहारको भाग नछुट्याएसम्म आफू खानासमेत खाँदैनन्। कुखुरा बासेपछि शुद्ध जलाशयमा स्नानगरी घरआएर चेलीबेटीका नाममा नुन, चामल, दाललगायतका खाद्यान्नहरु छुट्याएर बाँकी कामको शुरुवात हुन्छ। त्यसका अतिरिक्त नगद, लत्ता कपडा तथा अन्य सामग्री पनि चेलीबेटीलाई उपहारको रुपमा दिइन्छ। विवाहगरी अर्काको घरमा गएका चेलीलाई मात्र सो सामान उपहारस्वरुप दिने गरिन्छ। जसलाई थारुमा ‘निसराउ’ भनिन्छ। माघीको निसराउ नपाए चेलीबेटीहरु आफू माइतबाट उपेक्षितभएको महशुस गर्छन्। त्यसैकारण त्यसको अनिवार्यता रहन्छ। यस्तो उपहारले आफ्ना चेलीबेटीसँगको सम्बन्ध सुधारमा ठूलो महत्वराख्ने थारुहरुको बुझाइ छ। तर अहिले सो उपहारलाई समानतासँग तुलनागर्न थालिएको छ। महिला–पुरुष बरावरीको नाराले सधैंभरि चेलीबेटीलाई माइतीवालाले उपहार दिनुपर्ने पक्षमा प्रश्नचिन्ह लगाउन थालिएको छ। आर्थिक अवस्था दयनीय रहेकाहरुले पनि चेलीबेटीलाई उपहार दिनुपर्ने बाध्यात्मक परिपाटीलाई बदल्नुपर्ने आवाज उठ्नेगरेको छ। सक्षम चेलीबेटीले आफ्नो माइतका परिवारलाई पनि सक्दो सहयोग गर्ने परिपाटीको विकास गर्न आवश्यक रहेको कतिपय थारु अगुवाहरुको तर्क सुनिन्छ।

maghi-2

थारु र दारु

विशेषगरी माघीमा थारुहरु ढिक्री, मुरही, खिचरी, तिलको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरुल, माछा, गंगटा, मासु, जाँड र त्यसको झोल एवं दारुलगायतका परिकार खानेगर्दछन्। माघेसंक्रान्तिको अघिल्लो दिन रातभरी जाग्राम बसी धुमरुगीत तथा डफुहरु बजाई मनोरञ्जन गर्छन्। थारु गाउँघरमा एउटा उखान छ ‘जाँर ना दारु काहेक् थारु’ (दारु नभएको पनि के थारु)। त्यसैले माघीपर्वमा प्रायः सबै घरमा जाँड र दारुको व्यवस्था गरिएको हुन्छ। घरमै उत्पादन गरिएका अन्नका ती जाँडहरु सत्कारस्वरुप पाहुना तथा घरगाउँका सदस्यलाई खान दिइन्छ। अघिपछि काममा व्यस्तहुने थारुहरु चाडपर्वमा खुलेरै रमाइलो गर्छन्। आफूपनि खाने र अरुलाई पनि खुवाउने गर्छन्। घरका सदस्यहरुसँगै गाउँका अन्य सदस्यहरुलाई पनि बोलाई सत्कार गर्छन्। कामगर्न र खानमा नहिच्किचाउने थारुहरु परिआएकोबेला जस्तोसुकै सहयोग गर्न तयार हुन्छन्। थारुहरु घरमै अन्नको दारु (रक्सी) उत्पादन गर्छन्। जसलाई सगुनकोरुपमा पहुनाको स्वागतार्थ प्रयोग गरिन्छ।

maghi-1

साताभरी राम-रमाइलो

पुसको अन्तिम दिनबाट शुरुहुने माघीपर्व करिब साताभरी मनाइन्छ। पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिन खिचडीभात पकाइखाने ‘खिच्रहुवा’ पर्व मनाइन्छ। त्यसपश्चात् साताभरी नाचगान गरी रमाइलो गरिन्छ। गाउँमा केटाकेटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग–अलग समूह बनाई नाचिन्छ। सामुहिक नाचलेगर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ। माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरालगायतको नाच नाचिन्छ। नाचसँगै जाँडकोझोल र रक्सी पिउने चलन छ। जसलाई थारुमा ‘छाँकी पिलाएको’ भनिन्छ। नाचेबापत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानीगर्ने प्रचलन अहिले बढेको छ। यसोगर्दा एकातिर सामाजिक सदभाव पनि कायम हुन्छ, अर्कोतिर संस्कृतिको जगेर्ना पनि हुन्छ। मनोरञ्जन बाहेकका बाँकी समय हरहिसाव तथा नेतृत्व छनौटगर्ने काममा थारुहरु समय खर्चन्छन्। नाच नाच्दा मादले र नाच्नेको अनिवार्य व्यवस्था गरिन्छ। थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरु धुमधामसँग मनाउँछन्।

अभिसापजस्तै विगत

विगतमा माघी थारुकालागि अभिसाप नै सावित हुन्थ्यो। जमिन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरु हुन्थ्यो। एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै खरिदगरी दास जिवन जिउन बाध्य पारिन्थ्यो। वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य सम्भव भयो। सरकारले २०७० साउन ३ गते कमलहरी प्रथा अन्त्यको घोषणा त गर्‍यो तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन। अरुको घरमा सानैदेखि निकै थोरै ज्यालामा कामगर्ने चेलीबेटीलाई कम्लहरी भनिन्छ। यिनीहरुलाई दासदासीकोरुपमा काम लगाइने गरिन्छ। कैयौंको यौन शोषण पनि गरेको देखिन्छ।

सद्‍भावमा विस्तार

सामाजिक सद्‍भाव कायमगर्नु माघीको अर्को सकारात्मक पक्ष हो। समाजमा भएगरेका विकृति, विसंगति तथा आपसी वैमनस्यतालाई त्याग्नेकाम यस चाडले गर्दछ। पुराना रिसरागलाई हटाई नयाँ सम्बन्धको शुरुवात हुन्छ। पुर्खौदेखि चलनचल्तीमा रहेको पर्वलाई कायमै राख्नुले संस्कृतिको संरक्षण, प्रवर्द्धन हुने र भाइबन्धु, बन्धुबान्धवसँग भेटघाटको उपयुक्त वातावरणको सृजना हुन्छ। आपसी सहयोगको भावना बढाउँछ। नयाँ कुराको शुरुवात गर्ने र विगतका कमीकमजोरीको समिक्षागर्ने अवसर यस चाडले जुटाउँछ। जसलेगर्दा मानिसका आफ्ना आन्तरिक कमीकमजोरीलाई सुधारेर भावी दिनको योजना तर्जुमा गर्नमा मद्दत पुग्दछ। कामको सिलसिलामा घर, देश बाहिर गएकाहरुलाई एकैथलोमा जमघट हुने अवसर जुराउँछ। नाचगान तथा मनोरञ्जनले एकातिर वर्षभरिको थकानलाई केही दिनका लागि भएपनि मेट्नेकाम गर्छ भने अर्कोतिर संस्कृतिको जगेर्ना हुन्छ।

maghi mahotsaw in ktm-1

रुपान्तरण आवश्यक

थारु समुदायमा जाँड र दारु नभए पाहुनाको सत्कार हुन्न भन्ने मनसायले गहिरो जडागाडेको छ। जुन अहिलेको सन्दर्भमा उपयुक्त छैन। इष्टमित्र तथा पाहुनालाई सत्कारगर्ने, स्वागत गर्ने अन्य विकल्प छँदाछँदै पनि परम्परागत रुपमै चल्नु युगसुहाउँदो होइन। थारुको देवताले पनि जाँड र दारु लिन्छन् भन्ने जनविश्वासलाई हटाई त्यसलाई अहिलेको यु्गसुहाउँदो प्रविधिमा रुपान्तरण गर्न आवश्यक छ। कैयौंले त्यस्तो शुरुवात गरेको भएपनि तुलनात्मकरुपमा परम्परागत शैलीको विगविगी छ। संयुक्त परिवारमा बस्ने थारुहरु भाइ–भाइ छुट्टिनु पर्‍यो भने माघीलाई नै गन्तव्य बनाउँछन्। जसले माघीपर्वको महत्वमाथि नै प्रश्नचिन्ह लगाइदिन्छ। एकातिर नयाँवर्षको रुपमा चाडलाई मनाउने अर्कोतिर ‘भाइफुटे गँवार लुटे’ नेपाली उखानलाई चरितार्थ गर्नु निसन्देह सान्दर्भिक होइन। यसमा सुधार गर्नैपर्छ। माघी पर्वबाटै आफ्ना छोरीचेलीलाई स्कूल पढाउन छाडि अर्काको घरमा भाँडामाझ्ने काममा लगाउने परम्परा छ, जसलाई सुधार्नु पर्छ। दासदासी जीवनको अन्त्यकालागि थारुले आफ्नै घरबाट सुरुवात गर्नसके परिवर्तन सम्भव छ।

अनुकरणीय पद्धति

नयाँ संविधान निर्माण गर्न हिँडेका राजनीतिक दलहरु यतिबेला तिव्र आन्तरिक मतभेदमा छन्। सातवर्ष व्यर्थमै व्यतित् भइसकेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल संस्थागत हुन बाँकी छ। संघीयता अझै उधारै छ। थारुहरुको नयाँवर्ष माघीले राजनीतिक दलका नेताहरुलाई नयाँ संविधानमा देखिएको विवादित विषयमा सहमतिको थप प्रेरणा देओस्। माघीपर्वको सार्वजनिक विदादिने काम सरकारले वि.सं २०५९ सालबाट शुरु गरेपछि थारुहरु काठमाडौंमासमेत सोही वर्षदेखि नै माघी महोत्सव मनाउँदै आएका छन्। ०६४ सालदेखि सरकारले माघीलाई राष्ट्रिय पर्वको हैसियत प्रदान गर्‍यो। तर थारुलाई छुट्टै विदाको हैसियत प्रदान गरेन। माघेसंक्रान्ति सबैको साझा पर्वहो भनेर माघ १ गते साझारुपमै सार्वजनिक विदाको व्यवस्था गरिएको छ।

(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा थारु पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ।) 

Leave a Reply

Your email address will not be published.