एक प्रतिनिधिको प्रश्‍न- थासक लेखीको पेवा हो?

tha ka sa, Nawalparasi 02नवलपरासीमा आयोजित थारु कल्याणकारिणी सभा (थाकस)को दुई दिने राष्ट्रिय भेलमा राजकुमार लेखीको विरोध भएको छ। नवलपरासीका प्रतिनिधि आरके महतोले थारु कल्याणकारिणी सभाको लेखीको पेवा हो भन्दै विरोध गरेका थिए। भेलाको बन्द सत्रमा बोल्ने क्रममा महतोले विगत दस वर्षदेखि लेखीले एक्लौटीरुपमा सभा चलाएको आरोप लगाए। ‘विगत दस वर्षदेखि लेखी एक्लैले थारु कल्याणकारिणी सभाले चलाइरहेको छ। के यो संस्था लेखीको पेवा हो?’ बन्दसत्रमा महतोले भने। उनी फोरम लोकतान्त्रिकका जिल्ला नेता एवं थाकस नवलपरासी अध्यक्षका भाइ हुन्।

राजकुमार लेखी र लक्ष्मण थारुको चर्चा

भेलामा थारुवान/थरुहट संयुक्त संघर्ष समितिमा सहभागी केही पार्टीका थारु सांसद्हरुले आन्दोलनलाई तुहाएको भन्दै चर्को विरोधसमेत भयो। बाँकेका प्रतिनिधि गणेश थारुले समितिका संयोजकहरु डरपोक र कायर भएको आरोप लगाए। ‘समितिका चार संयोजक धनिराम चौधरी, रामजनम चौधरी, सन्तकुमार थारु र रमेश थारु डरपोक र कायर सावित भएका छन्,’ बन्दसत्रमा थारुले भने, ‘यी चार संयोजकलाई नै संयोजकबाट हटाउनुपर्छ।’

भेलामा नयाँ कमान्डरको रुपमा राजकुमार लेखी र लक्ष्मण थारुलाई बनाउनुपर्ने चर्चासमेत भएको छ। भेलामा सहभागी कैलालीका प्रतिनिधि होरिलाल चौधरीले चितवनदेखि झापासम्म लेखी र नवलपरासीदेखि कञ्चनपुरसम्म लक्ष्मण थारुलाई मुख्य कमान्डरको रुपमा खटाउनुपर्ने बताए। होरिलालकै कुरालाई समर्थन गर्दै नागरिक समाजका अगुवासमेत रहेका सुरेन्द्र चौधरीले आन्दोलनका लागि यी दुबैजना पर्फेक्ट रहेको बताए। ‘सभासद्हरुले आन्दोलनलाई कहाँ पुर्‍यायो हामीले देखिरहेका छौं। त्यसैले नयाँ कमान्डरको रुपमा राजकुमार लेखी र लक्ष्मण थारुलाई जिम्मेवारी दिनुपर्छ,’ उनले भने।

सल्लाहकार र केन्द्रीय सदस्यको निलम्बन माग

भेलाले थासका केही सल्लाहकार र केन्द्रीय सदस्यहरु आन्दोलनमा नहोमिएको र उल्टै आन्दोलन तुहाउने खेलमा लागेको भन्दै उनीहरुलाई निलमब्न गर्न माग गरिएको छ। प्रतिनिधिहरुले त्यस्ता सल्लाहकार र केन्द्रीय सदस्यहरुलाई बैठक बोलाएर निलम्बन गरिनुपर्ने माग गरेका थिए।

रामजनमले हप्काए धनिरामलाई

थारु सभासद्का संयोजक तथा फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले थाकस अध्यक्ष धनिराम चौधरीलाई हप्काएको खबर पनि बैठकमा चर्चाको विषय बनेको थियो। राजकुमार लेखीलाई राष्ट्रिय भेला किन गर्न दिएको भन्दै धनिरामलाई हप्काएको सहभागी एक प्रतिनिधिले बताए। उनले नवलपरासी अध्यक्षलाई पनि राष्ट्रिय भेला गर्न नदिन दबाब दिएको ती प्रतिनिधिले बताए। यद्यपि भेलामा अध्यक्ष धनिराम चौधरी स्वयं पनि उपस्थित थिएनन्।

भेलाले प्रतिनिधि उत्साहित

जसोतसो चलिरहेको आन्दोलनलाई नयाँ गति दिन आयोजना गरिएको राष्ट्रिय भेलाले प्रतिनिधिहरु उत्साहित भएका छन्। उनीहरुले यस्ता भेलाहरु पहिल्यै हुनुपर्ने बताउँदै ढिलै भए पनि थाकसले आयोजना गरेकोमा उत्साहित भए। सहभागीले आन्दोलनमा होमिन यसले थप ऊर्जा प्रदान गरेको बताए।

Leave a Reply

Your email address will not be published.