गच्छदारको गाउँमा आन्दोलन

Bijay Gachhadarसीमांकनसहित समानुपातिक समावेशी, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्न नेकपा एमाले र एकीकृत माओवादी मञ्जुर भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी भयो। फोरम अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीमा शपथसमेत लिइसके तर उनको गाउँ सुनसरीको दुहबीमा भने आन्दोलन रोकिएको छैन।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री चुनावमा भाग लिएसँगै मधेसकेन्द्रित दलको आन्दोलनको औचित्य सकिएको ठानिए पनि गच्छदारसँग असन्तुष्ट भएकै कारण मोर्चा कार्यकर्ताले आन्दोलन जारी राखेका छन्। गच्छदारले शपथ लिएकोमा दुहबीका थारू नेता भने खुसी छन्। उनीहरूले अब आन्दोलनको औचित्य नभएको बताएका छन्। ‘चाडपर्वको पूर्वसन्ध्यामा आन्दोलन गर्दा पनि शान्तिपूर्ण गर्नुपर्छ,’ थरुहट संघर्ष समिति सुनसरी–मोरङका संयोजक मिलीराम चौधरीले भने।

थारू नेताको बुझाइमा गच्छदारसँगको असन्तुष्टि पोख्न दुहबीमा आन्दोलन चर्काउन थालिएको हो। सुनसरीको दुहबी–भलुवाका थारू नेता जुनसुकै दलमा आबद्ध भए पनि अधिकतर गच्छदारकै ‘निर्देशन’ मा चल्ने गर्छन्। संविधानसभाबाट संविधान जारी हुँदा कांग्रेस, एमाले, एकीकृत माओवादीका थारू नेताले खुसियाली मनाएनन् र आन्दोलनमा लागे तर अहिले गच्छदारले उपप्रधानमन्त्रीको शपथ लिएसँगै थारू नेता आन्दोलन सकिएको बताउँदैछन्।

मोर्चाका कार्यकर्ताले भने आन्दोलनकै नाममा प्रहरीलाई निसाना बनाएर उच्छृंखल ढंगले आक्रमण गरेको प्रहरीले जनाएको छ। यही आरोपमा प्रहरीले संघीय समाजवादी फोरमका एक नेतालाई दुहबीबाट सोमबार पक्राउ गर्‍यो। प्रहरीले दुहबीका रञ्जित गोस्वामीलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय लाने क्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयअगाडि धर्ना दिए। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थकै आदेशमा प्रहरीले आइन्दा प्रहरीलाई निसाना नबनाउने कबोल गरी उनलाई छाडेको छ।

दुहबी इलाका प्रहरीका इन्स्पेक्टर शिवकुमार पोखरेलले प्रहरीलाई निसाना बनाएर सिसाको बोतल प्रहार गर्ने र धाकधम्की दिएर चन्दा आतंक मच्चाउनेलगायत क्रियाकलाप गरेपछि गोस्वामीलाई पक्राउ गरिएको बताए। गोस्वामीको समूहले दुई दिनअघि पशुपति बिस्कुट उद्योगमा चन्दा नदिँदा तोडफोड गरेको प्रहरीले जनाएको छ।

गोस्वामी नेतृत्वको टोलीले शनिबार र शुक्रबार राति सवारी साधन एस्कर्टिङ गर्ने क्रममा विभिन्न कुनाकाप्चामा बसेर प्रहरीलाई निसाना बनाएर आक्रमण गर्ने गरेको थियो। प्रदर्शनकारीले प्रहरीलाई निसाना बनाएपछि शनिबार राति प्रहरीले गोली नै चलाएको थियो। शुक्रबार पनि दुई प्रहरी घाइते भएका थिए। गोस्वामी संविधानसभाको दोस्रो निर्वाचनमा सुनसरी क्षेत्र ३ बाट मधेसी जनअधिकार फोरम नेपालको तर्फबाट उम्मेदवार थिए।

Leave a Reply

Your email address will not be published.