व्यवसायी तथा सर्वसाधारणको चर्को दबाबपछि थरुहट आन्दोलनकारी केही दिनअघि बजार र व्यवसाय सञ्चालन गर्न दिन सहमत भए। त्यसैअनुसार लमहीस्थित देउखुरी उद्योग वाणिज्य संघ अध्यक्ष शोभाकर घिमिरेले बुधबारदेखि आफ्नो एग्रोभेट पसल खोले। तर, पनि व्यापार भने शून्यप्रायः छ।
घिमिरे भन्छन्, ‘थरुहटको आन्तरिक नाकाबन्दीले व्यापार चौपटै छ।’ अहिले थरुहटले यहाँका बजारलाई लक्षित गर्दै आन्तरिक अवरोध गरिरहेको छ। सर्वसाधारण बजारमा किनमेलका लागि आउन सकेका छैनन् भने पसलमा सामान अभाव चुलिँदै गएको छ। ‘धेरै सामान सटेज भइसकेको अवस्था छ,’ घिमिरेले भने, ‘खरिद गरेर ल्याउने सडक पूरै जाम छ, कसरी ल्याउनु?’
२७ साउनदेखि जारी थरुहट आन्दोलनका कारण देउखुरीको व्यापार–व्यवसाय ठप्प छ। पछिल्लो समय बजार खुकुलो पार्ने भन्दै राजमार्गकेन्द्रित आन्दोलनमा रहेका थारूले देउखुरीका व्यापारिक केन्द्र पुग्ने नाका भने अवरोध गरिरहेका छन्। ‘लोकल गाडी चल्नै पाएका छैनन्,’ घिमिरे भन्छन्, ‘गाडी नचल्दा गाउँबाट सेवाग्राही बजार आउने कुरै भएन।’
लमही बजार देउखुरीको प्रमुख व्यापारिक केन्द्र हो। सामान्य अवस्थामा प्रतिदिन सवा करोड हाराहारी कारोबार गर्दै आएको यो बजारको व्यापार अहिले मुस्किलले तीस प्रतिशतमा झरेको अध्यक्ष घिमिरेले बताए। देउखुरीको एक नगरपालिका र ९ गाविसका नागरिक यसै बजारमा आश्रित छन्। तर, थरुहट अवरोधले ग्रामीण सेवाग्राही बजारसम्म पुग्न सकेका छैनन्।
थरुहट कार्यकर्ताले लमही–अमिलिया सडकको सतबरिया खण्ड अवरुद्ध पारेर पश्चिमी क्षेत्रका नागरिकलाई अवरोध सिर्जना गरेका छन् भने पूर्वी क्षेत्रका नागरिकलाई रोक्न लमही–भालुवाङ सडक खण्ड ठाउँठाउँमा थुनेका छन्।
यसै गरी ठूलो जनसंख्या रहेको राप्तीपारिका नागरिकलाई रोक्न थरुहट कार्यकर्ता लमही–गढवा सडकस्थित राप्ती पुलमा बसेका छन्। ‘बजार आउने नागरिकलाई जताततै रोकिएको छ,’ घिमिरे भन्छन्, ‘गाडी नचलेकै कारण नजिकैका सेवाग्राहीसमेत बजारमा आउन सकेका छैनन्।’ आन्दोलनका कारण छोटो दुरीमा चल्ने लोकल गाडी पूरै ठप्प छन्। लामो दुरीका साधन भने प्रहरीले स्कर्टिङ गरी गन्तव्य पठाउँदै आएको छ।
लमही मात्रै हैन, देउखुरीका अन्य साना व्यापारिक केन्द्रको हालत पनि उस्तै छ। बजार पूर्ण रूपमा खुले पनि किनमेल गर्नेहरू छैनन्। न त पर्याप्त सामान छ। भालुवाङ बजारको व्यापार अहिले आधाभन्दा बढीले घटेको राप्ती उद्योग वाणिज्य संघले जनाएको छ। संघ अध्यक्ष ताराबहादुर डिसीले भने, ‘दैनिक ५० लाखभन्दा माथि व्यापार हुने यो बजारमा अहिले मुस्किलले २५–३० लाखको कारोबार छ।’ थरुहट कार्यकर्ताले बजारमा किनमेलका लागि नागरिक आउने बाटा सबै ठप्प पारिदिएका छन्। ‘बजारमा ग्राहक नै छैनन्,’ उनले भने, ‘व्यापारीको काम पसल खोल्नु मात्रै भएको छ, व्यापार साह्रै कम छ।’ चालक सवारीसाधन चलाउन डराइरहेकाले सेवाग्राही आउन नसकेको उनी बताउँछन्।
राप्तीपारिको सानो व्यापारिक केन्द्र गढवा बजारमा थरुहट सामान आयात हुनै सकेको छैन। यो बजारमा सामान भित्रने एक मात्रै नाका लमही सडक खण्डमा थरुहटको अवरोध छ। गढवा–लमहीबीच सम्पर्कविच्छेद गराउने उद्देश्यले थरुहट कार्यकर्ताले यो खण्डको एक मात्रै निकास राप्ती पुलमा सडक थुनेका छन्।
गढवा उद्योग वाणिज्य संघ अध्यक्ष युवराज पोख्रेल थरुहटको ‘आन्तरिक नाकाबन्दी’ ले राप्तीपारिका व्यवसायी तथा सर्वसाधारण अधिक मारमा परेको बताउँछन्। ‘थरुहटको अवरोधले सामान भिœयाउन पाएका छैनौं,’ पोख्रेल भन्छन्, ‘न त यहाँका सर्वसाधारणलाई लमही गएर किनमेल गर्न सक्ने वातावरण नै छ।’ सवारीसाधन नचलेपछि अधिकांश सर्वसाधारणले अहिले दैनिक उपभोग्य सामग्री साइकलबाटै ओसार्ने गरेको उनले बताए।
थरूहट आन्दोलनकारीले आफूहरूको सडककेन्द्रित आन्दोलनको उद्देश्य ‘आन्तरिक नाकाबन्दी’ नै रहेको बताएका छन्। सामान आयातनिर्यातमा रोक लगाउनकै लागि सडककेन्द्रित आन्दोलन गर्नुपरेको थरुहट आन्दोलनका देउखुरी संयोजक हिरालाल चौधरीले बताए। ‘यसलाई आन्तरिक नाकाबन्दी भन्ने कि राष्ट्रिय नाकाबन्दी भन्ने,’ उनले भने, ‘कतै पनि सामान आयातनिर्यात हुन नपाओस् भनेर यो आन्दोलन थालेका हौँ।’
नागरिक दैनिकबाट साभार