थारु र मधेसीसँग वार्ता गर्न तीन दलले समिति बनायो

sushil-kp-prachanda

नयाँ संविधानको विरोध गर्दै आन्दोलन गरिरहेका मधेसी, थारुलगायत समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय समिति गठन गरेका छन् । समितिमा नेपाली कांग्रेसका वन मन्त्री महेश आचार्य, नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल तथा एकीकृत नेकपा (माओवादी)का एक प्रतिनिधि रहेका छन् । एमाओवादीका प्रतिनिधिको नाम अझैँ आएको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सहभागी बैठकले वार्ता समिति गठन गरेको हो ।

बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई संविधानप्रति असन्तुष्ट मधेसी, थारु र अन्य समुदायसँग वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिए । खनालले भने, ‘तराई मधेसका माग के हो ? समस्या के हो ? बुझ्नै सकिएन । संविधानमा सबै कुरा समेटिएका छन् । केही असन्तुष्टि रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।’

सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएको जवाफ दिए । नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले तराई मधेसमा उठेका आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान निकाल्न तीन सदस्यीय समिति गठन तीन दलको बैठकले गरेको जानकारी दिए । उनले भने वार्ताबाट समस्याको समाधान निस्कने विश्वास पनि व्यक्त  गरे ।

बैठकमा नेकाका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको बैठकमा सहभागिता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published.