टीकापुर खटिएका सेना सोमबारदेखि फर्किने

 nepal_army2शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना भोलिदेखि व्यारेक फर्किने भएका छन् । कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा भोलिदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

टीकापुरमा गएको भदौ ७ गते आठ प्रहरी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुका साथै दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेना खटाएको थियो ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी विज्ञप्तिमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाबाट सहयोग लिइएकामा व्यारेक फिर्ता गर्ने उल्लेख छ । ती क्षेत्रमा घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र भने यही असोज ६ गते राति १२ बजेदेखि हटाइएको थियो ।

टीकापुरमा जारी निषेधाज्ञा भोलि असोज ११ गते बिहान ५ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि हटाइएको भएपनि निषेधित क्षेत्र यथावत् रहेको र सदरमुकाम धनगढीमा निषेधित क्षेत्र यथावत् राखिएको पनि विज्ञप्तिमा जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published.