बालुवाटार पुगेका थारु नेतालाई प्रधानमन्त्रीले के भने?

Rajkumar Lekhiप्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाटै सहमति खोज्न थारु नेताहरुलाई आग्रह गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री कोइरालाले फेरि पत्र पठाउने र नियमित सम्पर्कमा रहने बताउँदै टेबलबाटै समाधान खोज्न आग्रह गरे। ‘वार्ताको वातावरण बनाउन तयार छौं, तपाईँहरु वार्तामा बस्नुस्। टेबल सम्बादबाटै सहमति खोजौं,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थारु नेता राजकुमार लेखीले भने।

छलफलमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट राजकुमार लेखी, अमनलाल मोदी र मीनराज चौधरी सहभागी थिए। उनीहरुले वार्ताका लागि यसअघि राखेका सर्तहरु सरकारले पूरा गर्नुपर्ने माग दोहोर्‍याएका थिए।

‘जबसम्म आन्दोलनकारीको छाती र टाउको ताकेर गोली हान्ने काम रोकिँदैन तबसम्म वार्तामा बस्दैनौं। वार्ताको वातावरण बनाउनका निम्ति तराईमा जारी प्रहरी दमन रोक्नुपर्छ। दंगाग्रस्त क्षेत्र फुकुवा गर्नुपर्छ। सेनालाई फिर्ता बोलाउनुपर्छ। अनिमात्र वार्ताको टेबलमा बस्न सकिन्छ,’ छलफलमा राजकुमार लेखीले भने।

उनले बन्दुक तेर्साएर वार्ता बस्न नसकिने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। ‘विगत एक महिनामा ३० बढीको ज्यान गइसक्यो। सयौं घाइते छन्। उनीहरुको उपचार राज्यले व्यहोर्नुपर्‍यो। धरपकड रोक्नुपर्‍यो। हिरासतमा लिइएकाहरुलाई मुक्त गर्नुपर्‍यो। बन्दुक तेर्साएर वार्ता हुन्छ?,’ प्रधानमन्त्रीलाई उनले प्रश्‍न गरेका थिए।

मोर्चाले शनिबार वार्ताको वातावरण बनाउन तीन सदस्यीय टोली गठन गरेको थियो। यता आन्दोलनलाई पनि थारुहरुले सशक्त बनाउँदै लाने तयारी गरेका छन्। उनीहरुले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनलाई झनै सशक्त बनाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published.